Comments Add Comment

ओली सरकारको विकल्प दिन ढिलो भैसक्यो : उपेन्द्र यादव

१३ चैत, बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारको विकल्प दिन ढिलो भइसकेको बताएका छन् ।

सर्वोच्चको फैसलालले विघटित प्रतिनिधि सभा पुनस्थापित गरे पनि ओलीले फेरि विघटन गर्न सक्ने खतरा रहेकाले ओलीलाई तत्काल पदबाट हटाउनुपर्ने बताए ।

शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष यादवले वैकल्पिक सरकार दिन प्रमुख प्रतिपक्षी दलले अग्रसरता लिनुपर्ने बताए । ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघीयता र गणतन्त्र पक्षधरको सरकार बन्नुपर्छ,’ यादवले भने, ‘अहिले सबैले कांग्रेसतिर हेरिरहेका छन्, त्यसमा पनि पार्टी सभापति देउवातिर ।’

संविधान र संसदमाथि प्रहार गरेपछि प्रधानमन्त्री ओलीले अहिले फेरि पुनःस्थापित संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप पनि लगाए । उनले सरकारले संसदलाई विजनेश नदिएर संसदलाई फेरि भंग गर्न लागि परेको बताए ।

‘राष्ट्रपतिले बोलाएको सर्वदलीय वैठकमा पनि प्रधानमन्त्रीले स्पष्टरुपमा संसदलाई निकम्मा देखाएर फेरि भंग गर्ने भरमग्दूर प्रयास गर्नुभएकै हो,’ यादवले भने,’राष्ट्रिय सभा बैठक नबोलाउनु पनि त्यसकै लागि हुनसक्छ ।’

सरकारसँग पार्टी नेताहरुले गरेको वार्ता रेशम चौधरीसहित राजबन्दीको रिहाई र पार्टी नेता कार्यकर्ताको मुद्दा फिर्ताका लागिमात्र भएको भन्दै यादवले जसपा ओली नेतृत्वको सरकारमा सहभागी नहुने स्पष्ट पारे । ‘राजबन्दीको रिहाई र मुद्दा फिर्ता एउटा पाटो हो, सरकारमा सहकार्य अर्को पाटो हो,’ यादवले भने, ‘ओली सरकार प्रतिगमनकारी, संघीयता, गणतन्त्र र समावेशिता विरोधी हो, त्यसैले जसपा यो सरकारमा कुनै हालतमा जान्न ।’

अहिलेको राजनीतिक अस्थिरता,अन्योलताको मुख्य कारण वर्तमान सरकार र प्रधानमन्त्री ओलीको निरंकुश,संविधान र स्वेच्छाचारी प्रवृत्ति भएको यादवले आरोप लगाए ।

पत्रकारको जिज्ञासामा अध्यक्ष यादवले पार्टी नफुट्ने दावी गरे । ‘सरकारसँग भइरहेको वार्तालाई लिएर केही भ्रम उत्पन्न भएको छ, तर पार्टी फुट्दैन,’ यादवले भने, ‘फुट्नेहरुको अस्तित्व रहन्न, विगतमा लगानी गरेर फुटाल्नेहरुले पनि के पाए भन्ने थाहा पाइसके ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment