१३ चैत, डोटी । भारतमा कोरोना भाइरस (कोभिड-१९) फेरि फैलिन लागेपछि नेपालमा पनि जोखिम बढेको भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय डोटीले सार्वजनिक सूचना जारी गरेको छ ।
भारतमा संक्रमण र मृत्युदर बढेसँगै नेपालमा पनि संक्रमणको जोखिम बढेको भन्दै सुरक्षा मापदण्ड अपनाउन आग्रहसहित सूचना जारी गरेको हो ।
होलीलगायत यस क्षेत्रको महत्वपूर्ण चाड बिशु पर्व मनाउन र कोभिडको बढ्दो संक्रमणका कारण भारतबाट मानिसहरु नेपाल र्फकने क्रम बढेकाले उच्च सतर्कता अपनाउनुपर्ने र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैले तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड कडाई साथ पालना गर्न सूचित गरिएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले गरेका निर्णयहरु समेत सार्वजनिक गर्दै प्रशासनले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न लागिएको बताएको छ ।
भारतबाट घर फर्किने व्यक्तिहरुले आफ्नो परिवारजन तथा समुदायको सुरक्षार्थ आफैँ सजक भई तोकिएको न्यूनतम अवधिसम्म क्वारेन्टाइन/सेल्फ आइसोलेसनमा बस्ने, स्वास्थ्यसम्बन्धी कुनै समस्या वा संक्रमणको लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी स्वास्थ्य परामर्श तथा सहायता लिने, होली, नयाँ वर्ष, बिशुलगायतका पर्वहरु मनाउँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सिमित संख्यामा परिवारका सदस्यहरु बीचमात्रै मनाउने, साथै पर्वहरुमा मानिहरु जम्मा भई गरिने शुभकामना आदानप्रदान, घरघरमा खेलिने होली जस्ता साँस्कृतिक कार्यक्रम, नाचगान जस्ता गतिविधि नगर्न नगराउन भनिएको छ ।
बैठक, गोष्ठी, सेमिनारजस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न, पूर्वनिर्धारित अत्यावश्यक कार्यक्रमहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी सञ्चालन गर्न, होटल, रेष्टुरेण्ट, डान्सबारलगायतका मानिसको भिडभाड हुने व्यवसायहरु राति अबेरसम्म सञ्चालन नगर्न, सम्पूर्ण कार्यालय/निकाय, संघसंस्था, शैक्षिक संस्थाहरुले दैनिक सेवा प्रवाह एवम् कार्य सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्ने, भिडभाड नहुने गरी सेवा प्रवाह गर्ने/गराउनसमेत प्रशासनले सूचित गरेको छ ।
प्रतिक्रिया 4