Comments Add Comment

यौन दुर्व्यवहार आरोपमा चिकित्सक पक्राउ

१४ चैत, सप्तरी । शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ ।

उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताए ।

उनका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यौनजन्य दुर्व्यवहार गरेको आरोपमा डा जैसवाललाई पक्राउ गरिएको हो । अस्पतालले समेत तत्कालै डा जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिए ।

डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अङ्ग छुनुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अश्लिल क्रियाकलाप गर्न लागेपछि प्रतिकार गरेको बताइन् ।

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औषधि लेखेर डा जैसवालले पीडितका पतिलाई औषधि पसल पठाएर केबिनभित्र अश्लिल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितको भनाइ छ । डा जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताए ।

पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment