+
+

आमा र बच्चाको उचित हेरचाह नै ख्याउटेपन रोक्ने उपाय

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १७ गते ९:५४
तस्वीर: युनिसेफ

बच्चाहरूमा देखिने वेस्टिङ अर्थात् उमेर अनुसारको आवश्यक तौल नबढ्ने समस्या विश्वको ठूलो समस्याको रूपमा रहेको छ । वेस्टिङ, अर्थात् शरीरको उचाइ अनुसारको तौल नहुने समस्या पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूको मृत्युको प्रमुख कारण पनि बन्ने गरेको छ । अक्सर यो समस्या भोजनमा हुने कमीका कारण तथा अन्य केही बिरामीका कारण हुने गर्छ । यो समस्या भएका बच्चाहरूमा पौष्टिक तत्वहरूको अभावका कारण संक्रमण प्रतिरोधात्मक क्षमता कमजोर हुन जान्छ । जसका कारण धेरै बच्चाहरूले सानै उमेरमा पनि ज्यान गुमाउने गरेका छन् । यस्तो समस्या भएर पनि बाँच्न सफल भएका बच्चाहरूको शारीरिक विकास अत्यन्त कमजोर बन्ने गरेको युनिसेफको तथ्यांकले देखाएको छ ।

अपर्याप्त आहारको सेवन वा डायरिया र श्वासप्रश्वासको संक्रमणजस्ता रोगहरूका कारण बच्चाहरूमा पर्याप्त मात्रामा तौल वा वजनको विकास हुन सक्दैन । यस्ता बच्चाहरूको उच्च अनुपात र संख्याको कारण खोतल्दा गर्भावस्थाको अवधिमा महिलाको न्यून पोषण स्थिति, स्तनपानमा कमी, गरिब आहार अभ्यास, सरसफाइको अभाव, गुणस्तरीय स्वास्थ्य सेवामा न्यून पहुँच र खाद्य असुरक्षालाई बढी महत्वपूर्ण कारक मानिएको छ ।

दक्षिण एसियाभरिको सरकारी तथ्यांकहरूले संकेत गरे अनुसार गम्भीर रूपमा कुपोषणको शिकार भएका ५ प्रतिशतभन्दा कम बच्चाले मात्रै उचित हेरचाह र उपचार पाइरहेका छन् । यो दुखद् अवस्था सिर्जना हुनुको पछि पनि केही कारणहरू छन् । सर्वप्रथम, यस्तो धारणा रहेको छ कि वेस्टिङको समस्या भएका बच्चालाई आपतकालीन वा मानवीय सन्दर्भमा मात्र उपचार उपयुक्त हुन्छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अहिलेको संकटको समाधान र यसको रोकथामका लागि जति चाल्‍नुपर्ने कदम कुनैपनि मुलुकले चाल्न सकेका छैनन् । दोस्रो, परिवारले प्रायः यो महसुस गर्दैनन् कि यस्तो समस्या भएका बच्चाहरूलाई तत्काल मेडिकल सहायता चाहिन्छ । दक्षिण एसियाली मुलुकहरूले यसको उपचार लामो समयसम्म गर्दैनन् । जसले गर्दा समस्या समाधान गर्न कठिन हुन पुग्छ ।

युनिसेफकै तथ्यांक अनुसार अझै पनि नेपालमा पाँच वर्षमुनिका १०% बालबालिका अझै ख्याउटेपना (उचाइ अनुसारको वजन नहुने) समस्या भोग्न बाध्य छन् । युनिसेफकै तथ्यांकले नेपालले हालैका दुई दशकमा केही ठूला परिवर्तनहरू ल्याउन सफल भएको जनाएको छ । विगतको दुई दशकमा बालबालिकामा न्यून पोषणको दर उल्लेखनीय रूपमा घटेको छ । सन् १९९६ मा ५७%  रहेको पुड्कोपन (उमेर अनुसारको उचाइ नहुनु) को संख्या सन् २०१६ मा घटेर ३६% पुगेको छ। सोही समयावधिमा न्यून वजन (उमेर अनुसारको वजन नहुनु) ४२% बाट घटेर २७% पुगेको छ र ख्याउटेपन (उचाइ अनुसारको वजन नहुनु) १५% बाट घटेर १०% पुगेको युनिसेफको तथ्यांकले देखाएको छ।

विश्वमा आज पनि धेरै बच्चाहरू कम तौलको समस्याबाट ग्रस्त छन्। विश्वमा ५१ करोडमा ख्याउटेपनाको समस्या रहेको देखिएको पाइन्छ । छिमेकी मुलुकमा मात्रै यो संख्या २ ककरोड २५ लाख रहेको छ ।

युनिसेफले भारतमा सञ्चालन गरेको राष्ट्र योजना (कन्ट्री प्रोग्राम) २०१८-२२ मार्फत् ख्याउटेपनाको समस्या समाधानको लक्ष्य लिएको छ । जस अनुसार गर्भाधारणको दुई वर्षसम्मको उमेरको १००० दिनको बीचमा महिला र बच्चाको सुरक्षालाई ध्यान दिएको थियो । युनिसेफले बच्चामा ख्याउटेपनाको समस्या समाधानको लागि गर्भ बसेपछि सुत्केरी भएको २ वर्षसम्मको समयलाई संवेदनशील मानेर आमा र बच्चाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिएको थियो ।

बच्चालाई विशेषगरी ६ देखि १८ महिनासम्मको उमेरमा खानामा विशेष ध्यान दिनु पर्छ । सामाजिक र व्यावहारात्मक परिवर्तनका केही पहलहरू पनि गर्नु आवश्यक मानिन्छ । कुपोषित महिलाले जन्माएको बच्चामा पनि कुपोषण हुने सम्भावना रहेकोले पहिले आमामा हुने कुपोषण कम गर्नुपर्नेमा युनिसेफले जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?