Comments Add Comment

तिर्खाएको काठमाडौंमा मेलम्चीले दिएको खुसी

१७ चैत, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आए पनि धेरै स्थानका धारामा पानी झरेको छैन । अनामनगर क्षेत्रका घरमा भने आइतबार दिउँसो २ बजेदेखि निरन्तर पानी आइरहेको छ ।

‘काकाकुल’ काठमाडौंमा जतिबेला खोल्दा पनि धाराबाट पानी झर्ला भन्ने विश्वास यहाँका बासिन्दालाई थिएन । त्यसैले निरन्तर पानी आउँदा अनामनगर क्षेत्रका बासिन्दा खुसी छन् । सँगै प्रश्न गर्छन्, सधैं यसरी पानी आउँछ त ?

दुई वर्षदेखि पानी नआएको धारामा आइतबार दिउँसोदेखि लगातार पानी आउँदा अनामनगरकी गृहिणी गीता त्रिताल दंग छिन् । ट्यांकी भरिसक्यो, भर्नुपर्ने भाडाकुँडा भरिइसके । ‘कहिल्यै धाराबाट पुग्ने गरी पानी आएन, अहिले त २४ घण्टा नै आइरहेको छ’, कलकल बगिरहेको धारा खोलेर देखाउँदै उनले भनिन्, ‘सधैं त पानी के आउला र, आइदिए त गज्जब हुन्थ्यो ।’

‘किसुनजीले परिकल्पना नगरेको भए आउँथ्यो कि आउँथेन । आउँछ–आउँछ भन्दाभन्दै बुढेसकाल लाग्यो, ढिलै भए पनि आफ्नै जीवनकालमा मेलम्चीको पानी पिउन पाइयो ।’

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि मेलम्चीको पानी वितरण गर्न थालेको हो । महांकाल, मीनभवन, खुमलटार, मैतिदेवी र अनामनगर क्षेत्रबाट अहिले मेलम्चीको पानी वितरण भइरहेको छ । अनामनगरमा क्षेत्रमा भने पाइलट प्रोजेक्टका रुपमा चौबीसै घण्टा पानी पठाइएको छ । पानीको अभावकै कारण शहरमा सास्ती भोगेकी उनी अब त्यो कम होला भन्ने आशामा छिन् । ‘पानी नआउने ठाउँ त बस्न नै गाह्रो हुन्छ,’ उनले भनिन्, ‘दुई वर्षसम्म धारामा पानी नखस्दा कम्ता सास्ती थिएन, अब त्यस्तो नहोला कि ?’

‘२०७१ सालमा घर बनाएदेखि कहिल्यै राम्रोसँग पानी आएन, महिनामा ४५ सय खर्च गरेर ट्यांकरबाट नमगाई सुखै थिएन’ उनले पुराना दुःखका दिन सम्झिँदै भने, ‘हिजोबाट त पानी आएको आयै छ, सधैं पानी आयो भने त पानी किन्ने झन्झट पनि सकिन्थ्यो ।’स्थानीय नारायणप्रसाद राईको सोमबार दिउँसो ट्यांकी भरिएपछि पानी बन्द गर्न भुइँतलामा झर्दा केयूकेएलका सहजकर्ताहरूसँग भेट भयो । राईले मुस्कुराएर धन्यवाद दिए र मेलम्चीको पानी आएपछि मरुभूमिमा वर्षात् भएजस्तै लागेको सुनाए ।

उनले सरकारलाई धन्यवाद मात्रै भनेनन्, मेलम्ची काठमाडौं ल्याउने सपना देखेका पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईलाई पनि सम्झिए । ‘किसुनजीले परिकल्पना नगरेको भए आउँथ्यो कि आउँथेन’, पूर्व बेलायती लाहुरेसमेत रहेका राईले भने, ‘आउँछ–आउँछ भन्दाभन्दै बुढेसकाल लाग्यो, ढिलै भए पनि आफ्नै जीवनकालमा मेलम्चीको पानी पिउन पाइयो ।’

केयूकेएलका अनुसार अनामनगर क्षेत्र नयाँ वितरण लाइनअन्तर्गत जडान भएका ५१० धारामा आइतबारदेखि र करिब २०० धारामा सोमबारदेखि २४ सै घण्टा पानी दिन थालिएको छ । नयाँ वितरण लाइनअन्तर्गत जडान भएका १६०० धारामा २४ घण्टा नै पानी दिएर परीक्षण गरिने आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रबन्धक रवीन्द्र पोखरेलले बताए ।

‘लगातार पानी पाउँदा उपभोक्ताले कसरी पानी उपयोग गर्छन् भन्ने पनि हेर्दैछौं’ उनले भने, ‘क्रमैसँग अन्य क्षेत्रमा पनि नयाँ पाइपलाइनबाट पानी पठाएर परीक्षण गर्छौं ।’

अनामनगरमा खाजा होटल चलाइरहेकी तारा अधिकारी नयाँ पाइपलाइनमा नै लगातार पानी आएको देखेर अचम्मित छिन् । उनको होटलमा पानी भरेर राख्ने छुट्टै ट्यांकी छैन, तैपनि भएभरका सबै भाँडा भरेर राखेकी छिन् । ‘मेलम्ची आएपछि पानी पाइन्छ भन्ने त थाहा थियो, यति लामो समयसम्म पानी आइरहला भन्ने लागेको थिएन’ उनले भनिन्, ‘शुरुमा भएर २४ सै घण्टा दिएका होलान्, भोलिपर्सि पनि यसैगरी आइदिए त राम्रो हुनेथियो ।’

अम्बिका कोइराला पनि पानी थाप्नकै लागि राति–राति उठ्नुपर्ने दुःख टरेकोमा खुसी छिन् । ‘राति एक घन्टा पानी आउँदा निन्द्रा माया मारेर उठ्नुपर्छ’ उनी भन्छिन्, ‘हिजोदेखि त पानी आएको देख्दा दुःख हटेको जस्तो भएको छ ।’उमेरले ६० कटेकी शान्ता श्रेष्ठलाई आफ्नो जीवनकालमा यस्तो दिन आउला भन्ने लागेकै थिएन । ‘१०–१५ दिनमा एकपटक बल्लतल्ल पानी आउँथ्यो’ उनले भनिन्, ‘अब दिनदिनै आउँछ भनेका छन्, त्यसो भयो भने हामीलाई सुख हुन्छ ।’ उनले पानी नहुँदा कोठामा बस्नेहरूले पनि धेरै दुःख पाएकाले सबैलाई समान तरिकाले बाँड्नुपर्ने बताइन् । ‘यहाँ मात्रै २४ घण्टा दिएर हुँदैन, यत्रो वर्ष लगाएर ल्याएको पानी सबैले पाउनुपर्छ,’ उनले भनिन् ।

मेलम्चीको पानी उपयोग गर्न पाएकोमा अनामनगरको कोठामा बस्दै आएकी मनिषा बस्नेतलाई पनि औधी खुसी लागेको छ । ‘मेलम्ची आउँछ भनेको सुनेको वर्षौ भइसक्यो, तिर्खा लाग्दा पानी पाएजस्तै भएको छ,’ उनले भनिन्, ‘आएपछि खुसी नलाग्ने कुरै भएन, जारको पानी किनेर खाने दिन अब सकियो ।’

अनामनगर क्षेत्रमा भाडामा बस्दै आएकी अम्बिका खतिवडाले २०७२ सालको भूकम्पपछि केयूकेएलको धारामा पानी थाप्न पाइनन् । ट्युबेल थिच्दाथिच्दै हैरान भएकी उनलाई मेलम्चीको पानी आएपछि अब सास्ती नहोला भन्ने आशा पलाएको छ । ‘खानेपानी त जारकै प्रयोग गर्नुपरिरहेको थियो’ उनले भनिन्, ‘नुहाउन, लुगा धुन हिउँदयाममा पानी नभएर हुने दुःख अब नहोला कि !’

तस्वीर/भिडियाे : आर्यन धिमाल/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment