Comments Add Comment

भारत गएका कर्णालीबासी धमाधम घर फर्किँदै

सीमा नाकामा कडाइ, गाउँमा छैन् सावधानी

फाइल तस्वीर । कैलालीको गौरीफन्टा नाका।

१७ चैत, सुर्खेत । रोजगारीका लागि भारत जाने आउने गरिरहने जाजरकोट नलगाडका नरेन्द्र केसी कोरोना महामारीको त्रासका कारण गत वर्ष जेठमा घर फर्किएका थिए । त्रास कम भएपछि फेरि भारत गएका उनी सोमबार घरमै आइपुगे ।

‘गतवर्ष कोरोनाले काम खोसियो, ऋण गरेर घर फर्किएको थिएँ । यो पटक पनि कोरोनाले काम नभएपछि फर्किएँ’, नरेन्द्रले भने, ‘घर बसौँ खाना पुग्दैन, कालापहाड जाउँ कोरोनाले काम पाइँदैन, यो पटक ठूलै समस्या झेल्नुपर्ला जस्तो छ ।’

कोरोनाको जोखिम बढ्दै गएपछि दैलेखका नविन कार्की पनि भारत गएको दुई साता नहुँदै घर फर्किए । ‘मसँगै सातजना साथीहरू घर फर्किएका छन्, आफ्नै गाउँ घरमा रोजगारी भइदिए यसरी कालापहाड गएर दुःख भोग्नु पर्ने थिएन’, उनले भने ।

भारतकै कमाइले परिवारको गुजारा चलाउँदै आएका उनीहरू गतवर्ष सीमामा नेपालीले पाएको जस्तो दुःख भोग्नु नपरोस् भनेर बेलैमा घर फर्किएको बताउँछन् । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढेको छ । कतिपय शहरमा लकडाउन नै भइसकेको छ । लकडाउन हुने डरले रोजगारीका लागि भारत गएका कर्णालीबासी  धमाधम स्वदेश फर्किन थालेका छन् ।

गत वर्ष कोरोना महामारीको समयमा ८० हजार कर्णालीबासी भारतबाट फर्किएका थिए । तर, तीमध्ये अधिकांश केही समय पछि पुनः भारत गएका थिए ।

पछिल्लो केही दिनयता सीमा नाकामा भारतबाट फर्किनेको भीड बढेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेत र बर्दियाको सीमा बबई नाकाबाट सयौंको संख्यामा भारत गएका कर्णालीबासी फर्किन थालेका छन् ।

चैत १३ गतेदेखि १६ गतेसम्म ३७४ जना कर्णाली भित्रिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए । उनका अनुसार भारतबाट आउनेको संख्या दिनहुँ बढ्दो छ ।

गत वर्ष कोरोना महामारीको समयमा ८० हजार कर्णालीबासी भारतबाट फर्किएका थिए । तर, तीमध्ये अधिकांश केही समय पछि पुनः भारत गएका थिए ।

सीमा नाकामा कडाइ

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार प्रदेशका सीमा नाकाहरूमा चैत १३ गतेदेखि हेल्थ डेस्क सञ्चालनमा ल्याइएका छन् । संक्रमणको दोस्रो लहर आउन सक्ने आँकलन गर्दै रोकथाम तथा नियन्त्रणका लागि कर्णाली प्रदेशमा तयारी थालिएको छ । बबई, कुइँने, कपुरकोट र सुर्खेत विमानस्थलमा स्वास्थ्य सहायता कक्ष राखी यात्रुहरूको निगरानी गर्न थालिएको निर्देशनालयका निर्देशक डा. रबिन खड्काले बताए ।

उनका अनुसार भारतबाट आएकाहरूको सम्पर्क विवरण राखिएको छ । ‘हाल नाकामा ज्वरो नाप्ने काम भइरहेको छ, लक्षण देखिएकालाई होम आइसोलेसनमा बस्न र आवश्यक परे परीक्षण गर्ने गरिएको छ’, डा. खड्काले भने ।

कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या ७ हजार ५८५ पुगेको छ । त्यसमध्ये ७ हजार ४०० संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण ३२ जनाभन्दा बढीको मृत्यु भएको छ । हाल प्रदेशमा ११ जना सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

गाउँमा छैन सावधानी

तीव्र संक्रमण फैलिएको भारतका विभिन्न सहरहरूबाट आएका कर्णालीबासीहरू सिधै गाउँ जाने गरेका छन् । सयौंको संख्यामा संक्रमणका आशंकितहरू गाउँ गए पनि सावधानी भने अपनाइएको पाइदैन । प्रदेश भित्रिने मुख्य नाकाहरूमा ज्वरो नाप्ने र विवरण राख्ने काम मात्रै हुने गरेको छ ।

जोखिमको आँकलन गर्दै गत शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले सीमा नाकामा भारतबाट आउनेहरूको विवरण राख्ने र प्रत्येक पालिकामा कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याउने लगायतका निर्णय गरेको थियो । तर, अधिकांश निर्णय कार्यान्वयन भएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment