+
+
Shares

महामारी नियन्त्रणका लागि मास्कको प्रयोग, यस्तो छ रोचक इतिहास

अनलाइनखबर अनलाइनखबर
२०७७ चैत १८ गते १२:३२

कोरोना भाइरसको संक्रमणबाट बँच्नका लागि अनुहारमा मास्क लगाउनु अहिले विश्वका सबै मानिसको अनिवार्य दिनचर्या नै बनेको छ । पछिल्लो १५ महिनादेखि विश्वमा सर्वाधिक प्रयोग भैरहेको वस्तु बनिरहेको मास्कको इतिहासचाहिँ पुरानो छ ।

अहिलेभन्दा झण्डै १ सय १० वर्षअघि एक घातक महामारी नियन्त्रणका लागि एकजना वैज्ञानिकले मास्कको आविष्कार गरेका थिए ।

वू लिन तेह नामका वैज्ञानिकले महामारी नियन्त्रणका सन्दर्भमा फेस मास्कको आविष्कार गरेका हुन् । मलेसियाको पेनांगमा सन् १८७९ को मार्चमा जन्मिएका वू लीन तेहले बेलायतमा पढेका थिए । उनको कर्मभूमिचाहिँ चीन बन्यो र चीनमा उनले महामारी विशेषज्ञको रुपमा काम गरे ।

सन् १९१० को डिसेम्बर महिनामा उत्तरपूर्वी चीनमा एक घातक महामारी फैलियो । उक्त महामारीले सबैभन्दा पहिले पहाडी मुसा सिकार गर्ने सिकारी तथा व्यापारीहरुलाई संक्रमित गर्‍यो । उक्त महामारीको नाम बुबोनिक प्लेग थियो ।

महामारी फैलिएका बेला वू लीन तेहले महामारी फैलाउने ब्याक्टेरियाका बारेमा जान्नका लागि सबैभन्दा पहिले मृतकको पोष्टमार्टम गरेका थिए ।

अनुसन्धानबाट उनले के तथ्य पत्ता लगाए भने बुबोनिक प्लेग श्वासप्रश्वासमा हुने स साना पानीका थोपाहरुको माध्यमबाट सर्दछ । त्यसैले सासको माध्यमले एक मान्छेबाट अर्कोमा सर्ने प्लेगका जिवाणुहरु रोक्नका लागि उनले कपास र कपडाका केही पत्रहरु जोडेर फेस मास्क डिजाइन गरे । उनले मेडिकल स्टाफ लगायतका सबैलाई फेस मास्क लगाउन प्रेरित गरे ता कि महामारी फैलिनबाट रोक्नमा सहयोग पुगोस् ।

त्यो विश्वकै इतिहासमा पहिलो घटना थियो जहाँ कुनै महामारी फैलिनबाट रोक्नका लागि फेसमास्क लगाउने रणनीति अपनाइएको थियो । यद्यपि उक्त समयमा मास्क जस्ता चिजमा मानिसहरुको विश्वास हासिल गर्नु सजिलो थिएन । वू लीन तेहको कुरा पनि धेरैले पत्याएनन् । तर मास्क लगाउन नमान्ने एकजना फ्रान्सेली मूलको सहकर्मीको प्लेगबाटै मृत्यु भएपछि चाहिँ वू लीनका अन्य सहकर्मीहरुसँग मास्क नलगाउने कुराको कुनै तर्क बाँकी रहेन ।

त्यस समय बुबोनिक प्लेग महामारी नियन्त्रणका लागि चीनमा मानिसहरुलाई अनिवार्य मास्क लगाउनुपर्ने नियम लागू गरिएको मात्र थिएन बिरामीहरुलाई आइसोलेसनमा राख्ने, रेल सेवा बन्द गर्ने तथा संक्रमणबाट मृत्यु भएकाहरुको अन्त्येष्टि छुट्टै सावधानीपूर्वक गर्ने गरिएको थियो । जुन त्यतिबेलाको चीनमा निकै असामान्य कुरा थियो ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?