+
+
Shares

चोरी गरेको आरोपमा हत्या, मामा भाञ्जा पक्राउ

श्रवण देव श्रवण देव
२०७७ चैत १८ गते १८:५०

१८ चैत, जनकपुरधाम । चैत ११ गते टाउको काटिएको अवस्थामा मृत फेला परेका सुशील यादवको हत्या चोरी गरेको आरोपमा भएको खुलेको छ ।

यादवले सामान चोरेको आरोप लगाएर छिमेकीले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले बताए ।

मलगंवा नगरपालिका– १० का २५ वर्षका यादवको शव टाउको काटिएको अवस्थामा चैत ११ गते फेला परेको थियो । हत्या आरोपमा प्रहरीले त्यसै दिन यादवका छिमेकी ४५ बर्षका विमलकान्त पाठक र उनका भाजा भारत विहारका ४१ बर्षीय अशोक झालाई पक्राउ गरेको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु नै हत्यामा संलग्न भएको देखिएपछि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सुशीलको हत्या हुनु केही दिनअघि विमलकान्तको पानी तान्ने मोटर र जुत्ता चोरी भएको थियो । विमलकान्तले यी सामान सुशीलले नै चोरेको आरोप लगाउँदै आएका थिए ।

यो विषयमा उनीहरुबीच पटक पटक विवाद भएको थियो । यही कारण विमलकान्तले सुशीललाई मार्ने योजना बनाएको देखिएको सर्लाहीका प्रहरी प्रवक्ता कुँवरले बताए ।

योजनाअनुसार अशोकले सुशीललाई मामाले बोलाएको भनी विमलको घर लगेका थिए । प्रहरीका अनुसार उनीहरुले विमलको घरमा लागू औषध सेवन गरेका थिए ।

खाना खाएर परिवारका सदस्य सुतेपछि तीनै जनाले लागू औषध सेवन गरेको र त्यस क्रममा सुशीललाई अत्यधिक प्रयोग गर्न लगाएर लठ्ठ पारेको पाइएको प्रहरीको भनाइ छ ।

लठ्ठ अवस्थामा सुशीललाई नजिकैको गाईगोठमा लगी डोरीले बाँधेर धारिलो हतियार प्रहारबाट हत्या गरेको पाइएको प्रहरीले बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

हत्या आरोप लागेका विमलकान्त लागू औषध मुदमा यसअघि पक्राउ परेको र धरौटीमा छुटेको व्यक्ति भएको प्रहरी प्रवक्ता कुँवरले बताए ।

लेखक
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?