Comments Add Comment

विभागीय डर्बीमा एपीएफमाथि पुलिसको पुनरागमन जित

२१ चैत काठमाडौं । पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको विभागीय डर्बी खेलमा नेपाल पुलिस क्लबले एपीएफमाथि जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा शनिबार भएको खेलमा पुलिसले शुरुवाती दुई सेट गुमाएपनि त्यसपछि लगातार तीन सेट जित्दै ३–२ ले खेल जितेको हो ।

पहिलो सेट एपीएफले २५–२० ले जित्दै खेलमा अग्रता बनाएको थियो । दोस्रो सेटमा एपीएफले र पुलिसले समान २४ अंक जोडेपछि टाई ब्रेकमा एपीएफले पुलिसलाई ३०–२८ ले जित्दै खेलमा २–० को अग्रता बनायो ।

लगातार दुई सेट हारेपनि तेस्रो सेटमा पुलिसले सम्हालिएर खेल्यो र शुरुदेखि नै अग्रता बनायो । पुलिसले ७–३, १४–६ को अग्रता बनाउँदै लगेको थियो । तर एपीएफले २१–२१, २२–२२ को बराबरीको अवस्थामा पुर्‍यायो । २४–२३ को अग्रता बनाएको पुलिसका लागि कामना विष्टले स्पाइक प्रहार गर्दै २५–२३ को जित दिलाए र पुलिस खेलमा फर्कियो ।

चौथो सेटमा एपीएफले शुरुवातदेखि अग्रता बनाएको थियो । तर पुलिसले १४–१४ मा बराबरी गर्‍यो । त्यसपछि १८–१८ को बराबरीबाट पुलिसले लगातार ५ अंक जोड्दै २३–१८ को अग्रता बनाउँदै २५–१९ ले सेट जित्यो र खेल २–२ को अवस्थामा पुर्‍यायो ।

निर्णायक सेटमा पनि पुलिसले शुरुवातदेखि नै अग्रता बनाउँदै लग्यो र १५–११ ले सेट आफ्नो पक्षमा पार्दै एपीएफविरुद्ध शानदार जित हात पारेको हो ।

पाँच सेटमा पुगेको खेलमा पुलिसले जितपछि २ अंक मात्र जोड्दा एपीएफले हारपछि पनि १ अंक जोडेको छ ।

पुलिसको यो लगातार दोस्रो जित हो । पुलिसले यसअघि भरतपुर मेट्रो खेलकुद परिषदलाई पराजित गरेको थियो । २ खेलबाट पुलिसले ४ अंक जोडेको छ ।

यस्तै पहिलो खेलमा ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको एपीएफको यो पहिलो हार हो । एपीएफको २ खेलबाट ४ अंक छ ।

शनिबारै भएको अन्य खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यू डायमण्डले पनि जित हात पारेका छन् ।

आर्मीले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१२, २५–०, २५–५ को सोझो सेटमा पराजित गरेको हो । दोस्रो सेटमा आर्मीले लगातार २५ अंक जोड्दा ढोरपाटनले एक अंक पनि जोड्न सकेन ।

आर्मीको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा न्यू डायमण्डलाई ३–२ को सेटमा पराजित गरेको थियो । २ खेलबाट आर्मीले ५ अंक जोडेको छ ।

यस्तै  न्यू डायमण्डले भरतपुर मेट्रो खेलकुद परिषद क्लबलाई २५–१२, २५–७, २५–१७ को सेटमा पराजित गरेको छ ।

नेपाल भलिबल संघ (एनभीए)को आयोजनामा चैत २६ गतेसम्म सञ्चालन हुने च्याम्पियनसिपमा पुरुषतर्फ सात र महिलातर्फ ६ टिम सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment