Comments Add Comment

मेयर वुमन्स च्याम्पियनसिपमा ललितपुर मेयर्स-११ विजयी

२२ चैत, काठमाडौं । ललितपुर मेयर्स-११ ले ललितपुर मेयर वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेटमा पहिलो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा ललितपुरले लुम्बिनी प्रदेशलाई २७ रनले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । १ सय ४५ रनको लक्ष्य पच्छ्याएको लुम्बिनीले पूरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीकी सरस्वती मगरले अविजित रहँदै सर्वाधिक ४६ रन बनाए पनि जितका लागि पर्याप्त भएन । यस्तै कप्तान नेरी थापा र नितु भण्डारीले समान २० रन जोडे । ललिपुरकी सरस्वती कुमारी र आरती बिडारीले १-१ विकेट लिए ।

त्यसअघि सुमन खतिवडाले अविजित रहँदै सर्वाधिक ७७ रन बनाएपछि ललितपुरले बलियो चुनौती पेश गरेको थियो । छैटौं नम्बरमा ब्याटिङ गरेकी खतिवडाले ५२ बल खेल्दै ९ चौका र २ छक्का प्रहार गरिन् । यस्तै अश्मिना कर्माचार्यले अविजित २० रन जोडिन् ।

३६ रन हुँदा ५ विकेट गुमाएको ललितपुरका लागि सुमन र अश्मिनाले १०८ रनको साझेदारी गरेका थिए । यस्तै अनुराधा चौधरी १० रनमा आउट भइन् भने चार खेलाडी शून्य रनमा आउट भए ।

यता, लुम्बिनीका लागि सुस्मिता भुसाल, स्वस्तिका बजगाईं, कृतिका मरासिनी र सरस्वती पुनले १-१ विकेट लिए ।  जितपछि ललितपुरले २ खेलबाट २ अंक जोडेको छ । ललितपुर पहिलो खेलमा शनिबार सुदूरपश्चिम प्रदेशसँग पराजित भएको थियो ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment