
२३ चैत, काठमाडौं । बंगलादेशमा आइतबार ५० यात्रु बोकेको फेरी दुर्घटना भएको छ । राजधानी ढाकादेखि २० किलोमिटर दक्षिणमा रहेको नारायणगञ्जस्थित शितालक्ष्य नदीमा मालवाहक पानीजहाजसँग ठोक्किएपछि यात्रु बोकेको फेरी डुबेको थियो । प्रहरीका अनुसार उक्त दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ ।
आइतबार नारायणगञ्ज जिल्लाबाट छुटेको केही समयमा नै उक्त फेरी दुर्घटनामा परेको नारायणगञ्जका जिल्ला प्रशासक मुस्टेन बिल्लाहले बताए । केही मानिसहरु भने पौडिएर नदीबाट बाहिर निस्किन सफल भएका थिए ।
आइतबार राति ठूलो आँधी आउँदा दुर्घटनामा परेकाहरुको उद्धार कार्य पनि प्रभावित भएको थियो । सोमबारदेखि कोरोना संक्रमण नियन्त्रणको लागि बंगलादेशको सरकारले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । त्यसैले आइतबार धेरै मानिसहरु सहर छाडेर आफ्नो घर फर्किँदै थिए ।
आइतबार बंगलादेशमा कोरोना भाइरसका सात हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए । बंगलादेशमा पर्याप्त सुरक्षाको मापदण्ड नअपनाइने गरिएकाले फेरी दुर्घटनामा परी सयौंको मृत्यु हुने गरेको छ ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4