Comments Add Comment

‘कांग्रेस ओली सरकारको विकल्प खोज्न तयार, जसपा अलमलमा छ’

२३ चैत, काठमाडौं । आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहमति जुटाउन खासै अग्रसरता देखाएका छैनन् । ५ पुसमा संसद विघटन भएपछि मध्यावधि चुनावको पक्षमा देखिएका उनीमाथि अहिले पनि त्यो आरोप लाग्ने गरेको छ ।

तर उनीनिकट मानिएका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महत भने त्यो मान्न तयार छैनन् । यो सरकारको विकल्प खोज्नुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको भन्दै उनले भने, ‘अहिले ओलीले जसरी राज्य संयन्त्रलाई कब्जा गर्ने कोशिश गरेका छन् त्यसबाट भोलि चुनावलाई प्रभावित गर्ने कोशिश हुनसक्छ । कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने भोलि चुनाव स्वतन्त्र र निष्पक्ष हुनसक्छ भन्ने हाम्रो मान्यता हो । यसका लागि खासगरी जसपा आउनुपर्छ ।’

ओली सरकारको विकल्प चाहेको हो भने अरू मुद्दा छाडेर पनि जसपा आउनै पर्ने उनको तर्क छ । यद्यपि अदालतमा विचाराधीन रेशम चौधरीको विषय बाहेक अरू मुद्दालाई नयाँ सरकार बनेपछि सम्बोधन गर्न तयार रहेको उनले बताए । प्रस्तुत छ, सहमहामन्त्री महतसँग गरिएको कुराकानीको सम्पादित अंश :

लामो अलमलपछि कांग्रेसले गत शुक्रबार केन्द्रीय कार्यसमिति बैठक राखेर राजीनामा माग र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । अब चाहिं कांग्रेस केपी ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्छ भन्ने निष्कर्षमा पुगेको हो ?

संसद पुनर्स्थापना हुनेवित्तिकै हामीले नैतिक रूपमा प्रधानमन्त्रीले पदमा बसिरहनु उपयुक्त हुँदैन भनेको हो । कम्युनिष्ट पार्टीले केपी शर्मा ओलीको नेतृत्वमा तीन वर्षभन्दा पनि बढी जसरी शासन चलायो, यो निराशाजनक रहृयो, भ्रष्टाचार, बेथिति चरम भयो । राज्यका संरचनाहरूलाई एकपछि अर्को गरेर कब्जा गर्ने तथा पार्टी र व्यक्तिकरण गर्ने काम निरन्तर भइरहेको छ । यो अवस्थामा ओली सरकारको विकल्प चाहिन्छ भन्नेमा कुनै दुईमत थिएन ।

तर सरकार बन्ने/नबन्ने संसदको अंकगणितले निर्धारण गर्छ । हामीसँग (सरकार बनाउन चाहिने) संख्या थिएन । नेपाली कांग्रेस, माओवादी केन्द्र र (जनता समाजवादी पार्टी) जसपा एकठाउँमा नआई हुने थिएन । हामीले यो परिस्थिति बन्छ कि बन्दैन भन्ने हेरौं, सम्भव छ भने अगाडि बढौं । सम्भव छैन भने अगाडि बढेर केही अर्थ छैन । झन् एक वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने अवस्था बन्न सक्छ भनेर औपचारिकता नदिएको मात्र हो ।

यद्यपि पार्टीका नेताहरूले औपचारिक दियो भने अझ सजिलो हुन्छ कि भनेको हुनाले निर्णय भएको हो । पार्टीमा यो सरकारको विकल्प खोज्नुपर्छ भन्नेमा हिजो पनि अलमल थिएन, आज पनि छैन । तर तीन दल एकठाउँमा नआई विकल्प तयार हुँदैन । अहिले पनि जसपाको एउटा घटक त्यसमा इच्छुक देखिएको छैन । त्यसैले कांग्रेसकोे नेतृत्वमा सरकार बन्छ/बन्दैन, द्विविधा नै छ ।

पार्टीकै केही नेताले साह्रै कर गरेपछि भनिदिऊँ न त भनेर निर्णय गरेको हो ?

सबभन्दा पहिला तीन दल, यो सरकारको विकल्प आवश्यक छ, यो सरकारलाई हटाऔं भनेर सहमत हुनुपर्‍यो । त्यसपछि एकठाउँमा बसेर जुन जायज, न्यायोचित विषय छन्, त्यसलाई अगाडि बढाउन तयार छौं

हामीसँग कुराकानी भइरहेको छ, तयार भएका छैनन् । घोषणा गर्दैमा हुने होइन भन्ने लागेकै हो । तैपनि पार्टीका केही नेताको तर्क औपचारिकता दिंदा सहज हुनसक्छ भन्ने आयो र त्यसलाई पार्टी सभापतिले स्वीकार गर्नुभयो अनि हामी यो निर्णयमा पुग्यौं । आउने दिनमा दलहरूसँग कुराकानी हुन्छ । सकारात्मक परिणाम आयो भने ओली सरकारको विकल्प तयार हुन्छ ।

तर नेपाली कांग्रेसले आउने निर्वाचनलाई केन्द्रविन्दुमा राखेको छ । यो संसद पूरै अवधि चले पनि डेढ वर्ष बाँकी छैन । डेढ वर्षसम्म चल्ने/नचल्ने ठेगान छैन । त्यसैले आउने चुनावको तयारी गर्ने र एक्लै सरकार बनाउने हाम्रो मूल मकसद हो । अहिलेको अवस्थामा ओलीले जसरी राज्यको साधन-स्रोतको दुरुपयोग गरेका छन्, राज्य संयन्त्रलाई कब्जा गर्ने कोशिश गरेका छन् त्यसबाट भोलि चुनावलाई प्रभावित गर्ने कोशिश हुनसक्छ । अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्यो भने भोलि चुनाव स्वतन्त्र र निष्पक्ष हुनसक्छ भन्ने हाम्रो मान्यता हो । यसका लागि खासगरी जसपा आउनुपर्छ ।

उहाँहरू स्वस्फूर्त, सहज रूपमा आउनुहुन्छ भने एउटा विकल्प तयार हुन्छ र संख्या पुग्छ अनि अगाडि बढ्ने हो ।

उहाँहरूले त हाम्रा केही मुद्दा छन्, हाम्रा मुद्दा जसले सम्बोधन गर्छ, त्यसैलाई साथ दिन्छौं भनिरहेछन् नि !

संविधान संशोधनको प्रस्ताव नेपाली कांग्रेसकै सरकारले लगेको हो, तर कम्युनिष्ट पार्टीले समर्थन गरेन । जसले समर्थन गरेन, उहाँहरूले त्यही पार्टीसँग सत्ता साझेदारी गर्नुभयो । अहिले पनि सत्ता साझेदारीको कोशिश गरिरहनुभएको छ ।

उहाँहरूले उठाएको मुद्दामा गम्भीर त नेपाली कांग्रेस नै छ । तर जुनबेला राष्ट्रिय रूपमा यो सरकारको विकल्प खोज्नुपर्ने बेला भएको छ, त्यहीबेला सम्पूर्ण शर्त तेस्र्याउन आवश्यक छैन । भोलि समय आएपछि, संसदमा संख्या पुगेपछि कांग्रेसले सम्बोधन गर्नुपर्ने विषयहरू सम्बोधन गर्छ । तर कतिपय विषय हाम्रो वशमा छैन । जस्तो, उहाँहरूले रेशम चौधरीको मुद्दा उठाउनुभएको छ । अदालतको परिधिभित्र गइसकेको यो विषय सरकारले निर्णय गरेर हुँदैन ।

यही शर्त अगाडि सार्नु भनेको ओलीको विकल्प आवश्यक छैन भन्ने सन्देश जान्छ । त्यसैले उहाँहरूले यसमा पुनर्विचार गर्नुपर्छ । जनतासँग जोडिएको मुद्दामा हामी सँगै छौं । जे सम्भव छ, त्यसलाई आउने सरकारले सम्बोधन गर्ने कोशिश गर्छ ।

तर सरकारको नेतृत्व दाबी गर्ने कांग्रेसले यो-यो मुद्दा यसरी सम्बोधन गर्छौं भनेर आएन भन्छन् नि ?

त्यो गलत कुरा हो । निर्वाचन नजिक आएकाले यो मुद्दा हामीले मात्र उठाएका हौं भन्ने प्रस्तुत गर्न खोज्नुभएको छ । वास्तविकता के हो भने, मधेशसँग जोडिएका जति पनि जायज विषय छन्, त्यो कांग्रेसले नै अगाडि बढायो । निर्वाचनबाट कम्युनिष्ट पार्टी ठूलो भएपछि उहाँहरू नै सरकारमा जोडिन जानुभयो । यदि मुद्दा महत्वपूर्ण थियो भने जुन पार्टीले असहयोग गर्‍यो, त्यही पार्टीसँग जोडिन नहुने हो । त्यसैले उहाँहरूले यो भन्न सुहाउँदैन ।

भनेको तपाईंहरूलाई अहिले सरकारमा निःशर्त समर्थन चाहिएको हो ?

अहिले त सबभन्दा पहिला तीन दल, यो सरकारको विकल्प आवश्यक छ, यो सरकारलाई हटाऔं भनेर सहमत हुनुपर्‍यो । त्यसपछि हामी एकठाउँमा बसेर जुन जायज, न्यायोचित विषय छन्, त्यसलाई अगाडि बढाउन तयार नै छौं । त्यसैले अहिले नै धेरै मुद्दा उठान गर्न म आवश्यक देख्दिनँ ।

अर्थात् सरकारमा भएको दललाई झैं यो-यो गर भनेर जसपाले हलो अड्काउने काम गर्दैछ ?

शब्द जे प्रयोग गरे पनि भयो, तर हामीलाई के लागिरहेको छ भने जायज मुद्दालाई नेपाली कांग्रेसले हिजो पनि उठाएको हो । भोलिको दिनमा पनि उठाउन कुनै द्विविधा हुनेछैन । त्यसमा उहाँहरूले शर्त राख्न जरूरी नै छैन । जहाँसम्म रेशम चौधरीको विषय छ, अदालतमा विचाराधीन विषयमा यसो गर भन्नु भनेको कुनै बहानामा हामी तिमीहरूको साथमा आउँदैनौं भने जस्तो हुन्छ ।

तर, कांग्रेसले निःशर्त समर्थन खोज्ने, जसपाले मुद्दा उठाइरहने हो भने …

यसको अर्थ त केपी ओलीको विकल्पमा उहाँहरू इच्छुक हुनुहुन्न भन्ने आउँछ । तथापि कुराकानी गरौं भनेका छौं । त्यसक्रममा स्पष्ट हुन पनि सक्छ ।

कतै कांग्रेस र जसपा दुवैलाई मध्यावधि चुनावमा जान पाए आफू ठूलो हुन पाइन्थ्यो कि भन्ने लोभ लागेको त होइन ?

त्यो हुँदै होइन । हामीले ओली सरकारको विकल्प खोजेका छौं । ओलीजीले निर्वाचनमा साधनस्रोत, प्रशासन यन्त्रको भरपुर दुरुपयोग गर्नुहुन्छ । त्यसैले स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्ने सरकार आओस् भन्ने हामी पनि चाहन्छौं । तर त्यसको परिस्थिति सुनिश्चित भइराखेको छैन । त्यसो हुनाले विकल्प नचाहेको, ओलीले नै चुनाव गराओस् भन्ने चाहेको कुरामा सत्यता छैन ।

तर तपाईंहरूकै पार्टी भित्रबाट र बाहिरबाट पनि किन तपाईंहरूको सभापतिलाई शंका गर्छन् त ?

पार्टीको अहिले अधिवेशन आइरहेको छ । उहाँलाई दोषी देखाउन सकियो भने त्यसले फाइदा हुन्छ भन्ने आकांक्षी नेताहरूलाई लागेको होला । बाहिर  पनि आफूले अग्रसरता लिंदैनन्, दोष कांग्रेसलाई दिन चाहन्छन् । उनीहरूका लागि सहज आक्रमण गर्ने ठाउँ शायद कांग्रेस सभापति हुनुभएको होला । तर वास्तविकता त्यो होइन ।

तपाईलाई लाग्दैन, पार्टी नेतृत्वको बोली-व्यवहारले पनि मानिसलाई प्रश्न गर्न ठाउँ दिएको छ ?

नेपाली कांग्रेस जो सत्तामा जान चाहन्छ, निर्वाचनबाट बहुमत ल्याउन चाहन्छ, त्यो पार्टीले ओलीलाई किन सघाउँछ ? कुनै कारण छ ? कुनै औचित्य छ ? यो खाली अफवाह हो, यसमा कुनै सत्यता छैन ।

तर वेटिङ इन प्राइमिनिस्टरका रूपमा रहेका पार्टी सभापतिले विराटनगरमा हामी अविश्वासको प्रस्ताव लैजाँदैनौं भन्नुभयो । अहिले पार्टीले औपचारिक निर्णय गरेपछि पनि माओवादी केन्द्र र जसपाका नेताहरूसँग संवाद थाल्नुभएको छैन ।

त्यतिकै दौडिएर मात्र परिणाम आउने होइन । कुरा गर्नुपर्ने ठाउँमा कुरा भइरहेको छ । यो ठूलो मञ्चमा टीभी राखेर कुरा गर्ने विषय पनि होइन । हरेक दलका नेताहरूसँग कुराकानी भइरहेको छ, तर बाहिर चर्चा गरेर परिणाम आउँदैन ।

त्यसो हुनाले पार्टी सभापतिजी बाहिर नदेखिएको जस्तो जे तपाई भन्दै हुनुहुन्छ, नदेखिएकै हो । देखेर परिणाम आउने कुरै होइन । प्रयास भइरहेको छ, अझै समस्या छ । र, सम्पूर्ण हातखुट्टा बाँधेर प्रधानमन्त्री पदका लागि अर्थ छैन । किनकि हामी आउने पाँच वर्षका लागि निर्वाचित भएर आउन चाहन्छौं र त्यसलाई प्रतिकूल हुने सम्झौता पनि गर्न चाहन्नौं ।

एकातिर भोलि हुने निर्वाचन निष्पक्ष हुन्छ भन्नेमा शंका पनि गर्ने, विकल्प खोज्न संकल्प पनि नखोज्ने तर्क एकअर्कामा बाझिएन र ?

ओली सरकारको विकल्प खोज्नुपर्छ भन्ने महसूस हामीले मात्र होइन, माओवादी केन्द्र र जसपाले पनि गर्नुपर्ला नि ! उहाँहरू भनिरहनुभएको छ, हाम्रा मुद्दालाई बेवास्ता गर्‍यो, संविधान संशोधनको विपक्षमा मतदान गर्‍यो । वास्तविकता त्यही हो । कांग्रेसले त त्यसो गरेको छैन । तैपनि कांग्रेस पनि त्यही हो, अरू पनि त्यही हो भन्नु भनेको देखाउने मुद्दा भए पनि अरू विषय पनि छन् कि ? सत्ता साझेदारी मात्र नभएर अरु खाले कुराहरू छन् कि ?

त्यसो हो भने यो अलमल अझै रहन्छ ?

यो खासगरी जसपामा निर्भर रहन्छ । हुनत माओवादी केन्द्रले पनि सरकारको समर्थन फिर्ता लिएको छैन । उहाँहरूले प्राविधिक कारण देखाउनुभएको छ । त्यसो हो भने माओवादी केन्द्रको पार्टर्मा समस्या नहोला । तर जसपामा अन्योल नै छ ।

सम्पूर्ण हातखुट्टा बाँधेर प्रधानमन्त्री पदका लागि अर्थ छैन । किनकि हामी आउने पाँच वर्षका लागि निर्वाचित भएर आउन चाहन्छौं र त्यसलाई प्रतिकूल हुने सम्झौता पनि गर्न चाहन्नौं ।

अलमलमै रहनुभन्दा एउटा बाटोमा जानु उपयुक्त होला, तपाईंहरूको रुचि अविश्वास प्रस्ताव दर्ता हो कि माओवादीले समर्थन फिर्ता लिइदेओस् भन्ने ?

संख्या नपुगी अविश्वास प्रस्तावको प्रक्रियामा जानुको अर्थ छैन । हामीले प्रस्ताव ल्याउने र एक वर्ष फेल हुने भनेको एक वर्षसम्म प्रस्ताव नै ल्याउन नपाउने अवस्था बन्छ । यसले केपी ओलीलाई झन् मजबूत बनाउँछ । त्यसको सट्टा आज संख्या सुनिश्चित छैन र पर्खिंदा हुन्छ भने त्यो उपयुक्त हुन्छ ।

तर कांग्रेस, माओवादी केन्द्र र जसपाबीच जुट्न भएको अलमलले त हिजो संसद विघटन गर्दा संसदमा अर्को सरकार बन्न सक्दैन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दाबीलाई पुष्टि गर्दैन र ?

यो चुनौतीलाई जसपालगायत सबैले स्वीकार गर्नुपर्छ । देशलाई केपी ओलीको विकल्प चाहिएको छ र अरू कुरा पन्छाएर भए पनि विकल्प दिन सक्छौं भनेर आउनुपर्छ । नेपाली कांग्रेस विकल्प दिन तयार छ । हामी सोध्न चाहन्छौं, अरू दुई दल तयार छन् कि छैनन् ?

विकल्प खोज्दा चाहिं अरूको नेतृत्व पनि स्वीकार गर्न तयार हो ?

होइन, अहिले नेपाली कांग्रेसको नेतृत्वमा हो । मलाई लाग्छ, सक्षम विकल्प नेपाली कांग्रेसले मात्र दिनसक्छ । माओवादी केन्द्रले यो स्वीकार गरेकै छ । जसपाले पनि अस्वीकार गर्नुपर्ने कारण देख्दिनँ । किनकि मुद्दामा उहाँहरू गम्भीर हुनुहुन्छ भने त्यसको नेतृत्व त कांग्रेसले लिएको छ । होइन भने भित्री कुरा अर्कै छ भन्ने बुझ्नुपर्छ ।

अब कांग्रेसको नेतृत्वमा सरकार बन्छ कि संसदको ठूलो दलको हैसियतमा एमालेकै नेतृत्वमा अल्पमतको सरकार बनेर फेरि मध्यावधिमा जाँदैछ मुलुक ?

हामी त चाहन्छौं, तीन दल एकजुट होस्, यो सरकारको बहिर्गमन होस् र कांग्रेसको नेतृत्वमा बहुमत जुटाएर त्यसले मुलुकलाई निर्वाचनमा लैजाओस् । त्यो अवस्थामा नआएर संसदको अन्योल कायम रहृयो भने जे पनि हुनसक्छ । केपी शर्मा ओलीले नै संसद विघटन गरेर चुनाव घोषणा गर्न सक्छन् र त्यो अवस्थामा संसद पुनर्स्थापना भन्न पनि कठिन होला । त्यसैले जुनसुकै परिस्थिति आए पनि निर्वाचनका लागि हामीले तयारी गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका समाचार संयोजक हुन् ।

ट्रेन्डिङ

Advertisment