Comments Add Comment

एनभीए क्लब लिग : महिलातर्फ न्यू डायमण्ड र नेपाल पुलिस फाइनलमा

२५ चैत काठमाडौं । न्यू डायमण्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा पुगेका छन् ।

बुधबार भएको लिग चरणको अन्तिम खेलमा विजयी भएपछि पुलिस र डायमण्डले उपाधि भिडन्त पक्का गरेका हुन् । लिगको अन्तिम खेलमा न्यू डायमण्ड विभागीय टोली एपीएफलाई ३–१ को सेटमा पराजित गरेको हो ।

६ टोली सहभागी लिगमा न्यू डायमण्ड १३ अंक जोड्दै शीर्ष स्थानमा रहँदा पुलिस ११ अंक जोड्दै लिगमा दोस्रो भएको हो । फाइनल खेल बिहीबार हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा न्यू डायमण्डले एपीएफविरुद्ध पहिलो सेट २५–२१ ले जित्दै अग्रता बनायो । दोस्रो सेट टाई ब्रेकमा जित्दै न्यू डायमण्डले २–० को अग्रता बनायो । तेस्रो सेटमा पुनरागमन गरेको एपीएफले २५–१४ ले सेट जित्यो । तर चौथो सेट फेरि न्यू डायमण्डले २५–२१ ले जित्दै खेल जित्यो ।

न्यू डायमण्डले पहिलो संस्करणको उपाधि पनि जितेको थियो । न्यू डायमण्डले २०७४ सालमा आफैंले आयोजना गरेको पहिलो संस्करणको न्यू डायमण्ड कपमा एपीएफलाई हराएपछि यो पहिलो जित हो ।

एपीएफ भने पहिलो पटक फाइनल पुग्न सकेन । एपीएफका प्रशिक्षक महेश चौधरीले खेलाडीले कमजोर प्रदर्शन गरेकाले हार बेहोर्नुपरेको बताए । ‘हाम्रा खेलाडीले राम्रो खेल्न सकेनन् । विपक्षीले राम्रो खेले,’ उनले भने । यसअघि पुलिससँग पनि एपीएफ पराजित भएको थियो । एपीएफ १० अंक जोड्दै तेस्रो स्थानमा रह्यो ।

बुधबार भएको पहिलो खेलमा पुलिसले विभागीय प्रतिस्पर्धी आर्मीलाई सोझो सेटमा पराजित गर्‍यो ।

प्रतिस्पर्धात्मक खेलमा पुलिसले दुई सेट टाई ब्रेकमा जित्यो । पहिलो सेट २६–२४ ले जितेको पुलिसले दोस्रो सेट २५–१७ ले सहजै जित्दै २–० को अग्रता बनायो । तेस्रो सेट पनि टाई ब्रेकमा पुगेको थियो । जसमा पुलिसले २८–२६ ले सेट आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment