+

राष्ट्रिय क्लब लिग भलिबल : महिलामा न्यूडायमन्ड र पुरुषमा हेल्प नेपाललाई उपाधि

२०७७ चैत  २६ गते १९:५४ २०७७ चैत २६ गते १९:५४
राष्ट्रिय क्लब लिग भलिबल : महिलामा न्यूडायमन्ड र पुरुषमा हेल्प नेपाललाई उपाधि

२६ चैत, काठमाडौं । नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित हात पार्दै न्यू डायमण्ड स्पोर्ट्स क्लबले पाँचौ राष्ट्रिय क्लब लिग भलिबलमा महिलातर्फको उपाधि जितेको छ। बिहीबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा न्यूडायमण्डले पुलिसलाई ३-२ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २५-२२ पुलिसले जित्यो भने दोस्रो सेट न्यूडायमण्डले २५-११ ले जित्यो । तेस्रो सेट पनि न्युडायमन्डले २५-१९ ले र चौथो सेट पुलिसले २५-२१ ले जित्यो । अन्तिम सेट १५-११ ले जित्दै न्युडायमण्डले दोस्रो पटक क्लब लिगको उपाधि जितेको हो ।

अन्तिम सेटमा ६-५ ले पछि परेको अवस्थामा न्यूडायमण्डकी अरुणा शाहीको सर्भिस आउट भएको थियो । तर पुलिसको फउल भएपछि न्यू डायमण्डले अंक जोड्दै ६-६ को बराबरी गर्‍यो । लगत्तै अरुणाले अंक ल्याइन् ।

त्यसपछि ९-९ को बराबरीबाट न्यूडायमण्डले लगातार ४ अंक ल्याएर १३-९ को अग्रता बनायो र १५-११ ले खेल जित्दै उपाधि जित्यो । न्यू डायमण्डका प्रशिक्षक कुमार राईले अन्तिम सेटमा भाग्यले साथ दिएको बताए। ‘त्यो अंक आउनु राम्रो रह्यो। कहिलेकाहीँ लकले पनि फेभर गर्छ। त्यसपछि मनोबल पनि बढ्यो’ राईले भने।

थोरै समय अभ्यास गरेर पनि उपाधि जित्दा गर्व लागेको उनले बताए । ‘अरु ४-५ घण्टा अभ्यास गर्छन् । हामी धुलोमा एक, डेढ घण्टा अभ्यास गरेर खेल्न आको । ढुलोमा पानी ढालेर अभ्यास गर्थ्यो’ उनले भने ।

पुलिसका प्रशिक्षक रुपेश विष्टले ब्लक राम्रो नहुँदा हार्नुपरेको बताए । ‘मुख्य ब्लक नै भएन । ब्लक भएको भए जित्थ्यौँ । उसको अट्याकमा हाम्रो ब्लक चलेन । हाम्रो सबै ब्लक भयो’ उनले भने ।

पुलिसकी मुख्य स्पाइकर उषा भण्डारीले खेलमा जम्मा १४ अंक मात्र जोडिन् । प्रशिक्षक विष्टले उनको घुँडा र एकंलको चोट रहेकाले पूर्ण फिट नरहेको बताए । विष्टले खेलमा रेफ्रीको निर्णयबाट असन्तुष्ट रहेको पनि बताए ।

नेपाल भलिबल संघले आयोजना गरेको क्लब लिगमा पुरुषतर्फ ७ र महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए । महिलातर्फ च्याम्पियन न्यूडायमण्डले नगद ३ लाख र उपविजेता पुलिसले १ लाख ५० हजार रुपैयाँ पायो ।

यस्तै पुरुषतर्फ एपीएफलाई सोझो सेटमा हराउँदै हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधिसहित ३ लाख जित्यो भने उपविजेता एपीएफले १ लाख ५० हजार रुपैयाँ पायो ।

प्रतिभा र विनित सर्वोत्कृष्ट

च्याम्पियन न्यूडायमण्डकी प्रतिभा माली र हेल्प नेपालका विनित कुमार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । प्रतिभा महिलातर्फ र विनित पुरुषतर्फ सर्वोत्कृष्ट चुनिएका हुन् । सर्वोत्कृष्ट बनेका दुवैले २५-२५ हजार रुपैयाँ प्राप्त गरे ।

यस्तै महिलातर्फ न्यूडायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, पुलिसकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट ब्लकर, पुलिसकै कमला पुन उत्कृष्ट सेटर, न्यूडायमण्डकी ललिता नाथ उत्कृष्ट सर्भर घोषित भए । यस्तै न्यूडायमण्डकै कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले १०-१० हजार रुपैयाँ प्राप्त गरे ।

पुरुषतर्फ बुलबुले राराका मुराढ जेहान उत्कृष्ट स्पाइकर, हेल्प नेपालका विकास कुमार उत्कृष्ट सेटर, पुलिसका दीपक राज जोशी उत्कृष्ट ब्लकर, एपीएफका विनोद चन्द उत्कृष्ट डिफेन्डर, बुलबुलेका घनश्याम चौधरी उत्कृष्ट सर्भर र हेल्प नेपालका रमेश केसी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरुले १०-१० हजार रुपैयाँ प्राप्त गरे ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय