Comments Add Comment

कंक्रिटको संरचना नहटाई कमलपोखरीमा पानी भर्न शुरु

२७ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले कंक्रिटको संरचना नहटाई कमलपोखरीमा पानी भर्न सुरु गरेको छ । पोखरी सुकाएर कंक्रिटको संरचना बनाएको भन्दै सम्पदा विज्ञ र अभियान्ताहरुले विरोध जनाइरहँदा महानगरपालिकाले पोखरीमा पानी भर्न सुरु गरेको हो ।

अभियान्ताले पटक–पटक आन्दोलन नै गर्दा पनि महानगरपालिकाले पोखरीमा ‘राजनीति’ भएको भन्दै काम रोक्न अस्वीकार गर्दै आएको छ । कंक्रिटको प्रयोग गर्ने काम विगतबाटै भएको भन्दै महानगरपालिकाले अहिले पोखरी सौन्दर्यकरण गर्न खोज्दा महानगरलाई विवादमा तान्ने प्रयास भएको आरोप मेयर विद्यासुन्दर शाक्यले लगाउँदै आएका छन् ।

उनले विगतमा पर्याप्त छलफल र तयारीसहित स्थानीयको समर्थन लिएर काम थालिएको भन्दै पोखरीमा कंक्रिट प्रयोगको सुरुवात सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेस नेता गगन थापाले गरेको दावी गर्दै आएका छन् ।

महानगरपालिकाले कमलपोखरीको बीचमा रहने कृत्रिम फाइबरको कमल रहने स्थानमा ‘वाटर फाउन्टेन’ पनि राखेर परीक्षण गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले निर्माणको काम अन्तिम चरणमा पुगेकाले पानी भर्न थालिएको बताए ।
‘वैशाख १ गतेभित्र सकाउन ठेकदारलाई म्याद दिएका छौं,’ उनले भने, ‘निर्माण सकाएपछि ६ करोड लिटर पानी भरेर पोखरी तयार गर्छौं ।’

उनका अनुसार अहिले एउटा ३ इन्च गोलाइको पाइपलाइनबाट पानी लिएर मेलम्चीको पानी हालिँदैछ । सुकेको पोखरीमा पानी हालेर त्यसलाई व्युँताउने प्रयास गरिएको उनले बताए ।
काठमाडौं महानगरपालिकाले करिब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल २०७६ असारबाट सुरु गरेको हो । त्यसका लागि ६ करोड ३६ लाखको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरीमा काम गरिरहेको छ ।

पोखरीको पूर्वतर्फको बीचसहित चारै कुनामा ‘भ्यू प्वाइन्ट’ बनाउन कंक्रिटको संरचना बनाएर त्यसमाथि काठको मण्डप बनाइँदैछ । अहिले भइरहेको संरचना निर्माणमा ढुंगा र सिमेन्ट प्रयोग गरिएको छ । पोखरीमाथि व्यायाम गर्ने, ब्याटमिन्टन र बास्केटबल कोर्ट बनाउने योजना छ । यो काम सकिएपछि पोखरी सुन्दर बन्ने निर्माण पक्षको दाबी छ ।

सम्पदाप्रेमीहरू भने पोखरीको मौलिकता मासिने चिन्तामा छन् । पुरातत्वविदहरुले पोखरी पुननिर्माण गर्दा परम्परागत मान्यता र शैली अवलम्बन नगरी बनाएको भन्दै विरोध जनाउँदै आएका छन् । कमलपोखरीको पर्यावरणीय महत्व भएकाले त्यसलाई बचाउने गरी पोखरी बनाउनुपर्ने सम्पदा अभियान्ता आलोकसिद्धि तुलाधर बताउँछन् ।

विज्ञका अनुसार रानीपोखरीमा जस्तै गरी पिँध र भित्तामा कालोमाटो राखेर त्यसमाथि ईंटा बिछ्याउँदा पोखरीको प्राकृतिक चक्रमा धेरै असर पर्दैन । वरपरका क्षेत्रका इनार र ढुंगेधाराहरूमा पोखरीबाट हुने पुनः भरणको पक्षलाई विचार पुर्‍याएर पोखरी बनाउनु उपयुक्त हुने तुलाधर बताउँछन् ।

कमलपोखरी लिच्छविकालीन राजधानी मानेश्वर (विशालनगर) क्षेत्रका लागि ‘सुखपरेख’ हुनसक्ने पुरातत्वविद् सुर्दशनराज तिवारीको अनुमान छ । अवस्थिति हेर्दा खानेपानी आपूर्तिका लागि नभई नौका विहार गर्न बनाइएको हुनसक्ने उनी बताउँछन् ।

कमलपोखरीको उत्तरपूर्वी भागमा उत्खनन् र अनुसन्धान गरे लिच्छविकालीन प्रमाणहरू भेटिन सक्ने पुरातत्वविद् तिवारीको अड्कल छ । कमलपोखरीको ऐतिहासिकतामाथि अध्ययन बाँकी रहेको अवस्थामा संरक्षण हेतु काम गर्ने हो भने परम्परागत शैली र प्राकृतिक पक्ष पछ्याउँदा उचित उनले उनको भनाइ छ ।

यो पनि पढ्नुहोस ऐतिहासिक कमलपोखरीलाई ‘स्विमिङ पुल’ बनाउने खेल यो पनि पढ्नुहोस कमलपोखरीमा नागरिक आन्दोलन : सिमेन्टको संरचना भत्काइयो यो पनि पढ्नुहोस गगन थापाहरू कमलपोखरीलाई छठ पोखरी बनाउन चाहन्थे : मेयर शाक्य यो पनि पढ्नुहोस ‘सिमेन्ट र डण्डीको कमल चाहिँदैन’ यो पनि पढ्नुहोस कमलपोखरीको निर्माणकार्य रोक्न मेयरलाई गगन थापाको पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment