Comments Add Comment

‘अर्किड हाम्रो लागि ठूलो सम्पत्ति हो, थप अनुसन्धान आवश्यक छ’

२५ चैत, काठमाडौं । सुनाखरी, सुनगाभा, चाँदीगाभा ! नेपालमा यी फूल नचिन्ने शायदै कोही होलान् । सामान्यतः सेतोलाई चाँदीगाभा र अन्य रंगकालाई सुनगाभा वा सुनाखरी भन्ने चलन छ । अंग्रेजीमा भने सबै रंगकालाई ‘अर्किड’ भनिन्छ ।

हिजोआज व्यावसायिक प्रयोजनका साथै घर वा बगैंचाको शोभा बढाउन हाइब्रिड अर्किड रोप्ने चलन बढेको छ । विश्व फूल बजारमा सुन्दर र टिकाउमा पर्ने प्रमुख १० कट फ्लावरमध्ये एकमा पर्छ, अर्किड ।

स्थानीय रूपमा विभिन्न नामले चिनिने बहुमूल्य वनस्पति अर्किड लोप हुँदै गइरहेको महसूस भएपछि प्रा.डा. विजया पन्त यसको संरक्षणमा लागेकी छन् । दुई दशकभन्दा बढी समयदेखि त्रिभुवन विश्वविद्यालयको वनस्पति विभागमा प्राध्यापनरत बायोटेक्नोलोजिष्ट उनी हिरोसिमा विश्वविद्यालय (जापान) को पीएचडी हुन् ।

प्राध्यापनसँगै अर्किड अनुसन्धान, संरक्षण र उत्पादनमा लागेकी प्रा.डा पन्त सरकारले पकेट क्षेत्र बनाई योजनापूर्वक काम गर्न सके यसबाट देशको अर्थतन्त्रमा समेत योगदान पुग्ने ठान्छिन् ।

नेपालमा करीब ५०० प्रजातिका अर्किड छन् । तर, संरक्षणको अभावमा लोप हुँदै गइरहेको प्रा.डा पन्त बताउँछिन् । यो कुरालाई ध्यानमा राखेर अन्नपूर्ण रिसर्च सेन्टरले टिस्यु कल्चर प्रविधिबाट अर्किडका बिरुवा उत्पादन गरिरहेको उनले बताइन् । यो रिसर्च सेन्टरको उनी अनुसन्धान निर्देशक हुन् ।

उनका अनुसार, अर्किड सुन्दर फूल मात्र नभई औषधीय गुणयुक्त वनस्पति पनि हो । अर्किडबाट परम्परागत औषधि बनाउनेमा चीन अगाडि छ । भारतको पनि डाबर कम्पनीले च्यवनप्रासमा अर्किड उपयोग गरेको प्रा.डा. पन्त बताउँछिन् । उनका अनुसार, अर्किडबाट विशेषतः शक्तिवर्द्घक औषधि उत्पादन गरिन्छ ।

नेपालमा अर्किडका अनेक स्थानीय नाम छन् । पाखाफूल, पाँचऔंलेलगायत पनि अर्किड प्रजातिका हुन् । यी प्रजाति औषधिको रूपमा बढी प्रयोग हुन्छन् । प्रा.डा. पन्त प्रत्येक प्रजातिको अर्किडमा औषधीय गुण हुने बताउँछिन् ।

अर्किडमा क्यान्सर रोग निको पार्ने औषधीय क्षमता हुने वा नहुने विषयमा आफ्नो समूहले अनुसन्धान गरिरहेको उनले बताइन् । ‘हामीले क्यान्सरको सेल मार्ने क्षमता अर्किडमा हुने पाएका छौं’ उनले भनिन्, ‘यसबारे थप अनुसन्धान भइरहेको छ ।’

१० प्रजातिका अर्किडको औषधीय गुणबारे अध्ययन भइरहेको र त्यसको अभिलेखीकरण प्रतिष्ठित वैज्ञानिक जर्नल ०००० हरूमा भएको उनले बताइन् ।

‘अर्किड हाम्रो लागि ठूलो सम्पत्ति हो’ उनी भन्छिन्, ‘यसको उपयोगिताबारे थप अध्ययन-अनुसन्धान आवश्यक छ ।’

कुन प्रजातिमा कुन औषधीय गुण छ भनेर अनुसन्धान हुनुपर्ने पनि उनको भनाइ छ ।

अर्किडको टिस्यु कल्चर

प्रा.डा. पन्तका अनुसार, औषधीय गुणकै कारण नेपाली अर्किड देश बाहिर चोरीनिकासी भइरहेको छ । नेपालको तराईदेखि ४५०० मिटर उँचाइसम्म अर्किड पाइन्छ । यसमा पनि चुरे क्षेत्रमा बढी पाइन्छ । अर्किडका विभिन्न प्रजाति जमीन, रूख, ढुंगा आदिमा पाइन्छन् । अर्किडका सबभन्दा धेरै प्रजाति रूखमा पाइन्छ ।

अरू वनस्पतिको जस्तो माटोमा बीउ खस्दैमा अर्किड उमँ्रदैन । यसको बीउ उम्रन ढुसीसँग भेट हुनुपर्छ । अर्किडका करीब दुई प्रतिशत मात्र बीउ उम्रेर बिरुवा बन्छ । सहजै बीउ नउम्रनु र जथाभावी चोरी निकासी नै अर्किड लोप हुँदै जानुको प्रमुख कारण रहेको प्रा.डा. पन्त बताउँछिन् ।

त्यही कारण टिस्यु कल्चरबाट बिरुवा उत्पादन गर्न अन्नपूर्ण रिसर्च सेन्टर खोलेको उनले बताइन् । ‘हामीले उत्पादन गरेका पाँच प्रजातिका नेपाली अर्किडका बिरुवा रोप्न तयार भएका छन्’ उनी भन्छिन्, ‘हाम्रो मुख्य उद्देश्य बिरुवा उत्पादन गरेर उनीहरूको वासस्थानमा फैलाउनु हो ।’

नेपालमा अर्किडको महत्वबारे जनचेतना कम रहेको उनी बताउँछिन् । त्यसले पनि बेवास्ता र चोरी-निकासी बढेर लोप हुँदै गएको उनको ठहर छ । ‘यो अवस्थामा हामीले व्यक्तिगत तथा दातृ निकायहरूको सानो लगानीमा टिस्यु कल्चर गर्न थालेका छौं’ प्रा.डा. पन्त भन्छिन्, ‘अरू पनि केही गरेका छन्, तर यतिले पुग्दैन । यसमा सरकारले नै लगानी गर्नुपर्छ ।’

अर्किड संरक्षणको काम योजनाबद्ध, व्यावसायिक र उद्योगसँग जोड्ने गरी हुनुपर्ने उनको भनाइ छ ।

वनस्पति अनुसन्धानलाई उद्योगसँग जोड्दा हुने आर्थिक फाइदाको उदाहरण कोरिया भएको उनी बताउँछिन् । उनका अनुसार, दक्षिण कोरियाले जिनसेङ भन्ने औषधीय गुण भएको वनस्पतिको अध्ययन-अनुसन्धानलाई औद्योगिकस्तरमा लगेर ठूलै आर्थिक फाइदा लिएको छ ।

‘हामीकहाँ अर्किड अनुसन्धानलाई लगानी चाहिएको छ’ प्रा.डा. भन्छिन्, ‘त्यस्तो लगानी भए अर्किड नेपालको जिनसेङ साबित हुनेछ ।’

उनलाई लाग्छ, सरकारले ल्याएको ‘एक गाउँ, एक उत्पादन कार्यक्रम’लाई अर्किडमा केन्द्रित गर्न सकिन्छ । त्यो कार्यक्रमले ललितपुरलाई अर्किड उत्पादनको लागि तोकिएको थियो । यस्तो कार्यक्रमले हाइबि्रड अर्किडलाई भने प्राथमिकता दिन नहुनेमा उनको जोड छ ।

‘म धेरै वटा नर्सरीहरूमा गएँ तर सबैतिर हाइबि्रड अर्किड मात्र देखें’ उनी भन्छिन्, ‘हामीले त आफ्नै सुनाखरी, सुनगाभा र चाँदीगाभाहरूको संरक्षण गर्ने हो, स्थानीय तहहरूले आफ्नो क्षेत्रका पार्क, रिसोर्टहरूमा सजाउने हो ।’

अहिले जताततै आगलागीबाट बहुमूल्य वनस्पतिहरू नाश भइरहेकोले पनि आ-आफ्नो क्षेत्रका अर्किडबारे स्थानीय सरकारहरू थप चिन्तित हुनुपर्ने प्रा.डा. पन्त बताउँछिन् ।

तस्वीर : विकास श्रेष्ठ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment