Comments Add Comment

थकाइ मेटाउने चौतारी : जगेर्ना गर्दै गण्डकी सरकार

चौतारी वास्तवमा बटुवाको थकाइ मेटाउने थलो हो । गाउँबेसी गर्दा भारी बिसाउने ठाउँ पनि चौतारी नै हुन् । तर मोटरबाटोको ठाउँमा भएको विस्तारसँगै चौतारीहरु बिर्सिइँदै गए । मान्छेहरु हिँडडुल गर्न छाडेसँगै चौतारीको महत्व पनि कम हुन थाल्यो । तर के अहिलेको समयमा चौतारी अस्तित्वविहीन बनिसकेका हुन् त ?

बर र पिपलसँगै रोपेर चारकुना बनाइएको चौतारी, वर र पिपलको बीचबाट हिँड्न नमिलेर दाहिने पारेर हिँड्ने व्यवस्था मिलाइएको बाटो, छेउमा नै कुवा वा धारो र आनन्दसँग बस्न मिल्ने ठाउँमा बागचाल खेल्ने कोठा । परम्परागत चौतारोको यही हो विशेषता । गर्मी महिनामा गुन्द्री विछ्याएर आराम गर्दा पाइने ‘स्वर्गीय आनन्द’को एउटै आश्रय स्थल हो चौतारीहरु । अब के फेरि पनि पहिलेको जस्तै ब्युँतिएलान् त पूर्खाले बनाएको थकान भुलाउने चौतारी ? अन्यत्र यसप्रति कुनै चासो राखेको नपाइए पनि गण्डकी प्रदेश सरकारले भने पूर्खाले बनाएको चौतारो ब्युँताउने अभियान चलाएको छ ।

गण्डकी प्रदेश सभाले वि.संं २०७५ साल माघ २७ गते स्वीकृत गरेको विधेयकले प्रदेशको मातहतभित्रका कुनै पनि चौतारोमा भौतिक क्षति पुर्‍याउनुलाई कानुनी रुपमा दण्डनीय कार्यको रुपमा परिभाषित गर्‍यो । यसको संरक्षण गर्नु सबैको कर्तव्य भन्दै कसैले यसमा क्षति पु¥याए प्रचलित कानुन बमोजिम दण्ड दिइने व्यवस्था गरेको छ ।

यो ऐनले बर, पिपल, समी र चौतारोको संरक्षणमा जोड दिएको छ । ऐनले पुराना चौतारोलाई पुनर्जीवन दिन र नयाँ चौतारो निर्माणमा समेत तीब्रता दिनको लागि एउटा कोषको समेत व्यवस्था गर्न भनेको छ । सो कोषमा नेपाल, सरकार, प्रदेश सरकार, स्थानीय तह, विभिन्न व्यक्ति तथा संस्थाले दिएको सहयोग रकमलाई समेत राख्न सकिने र त्यसरी प्राप्त भएको रकम वर पिपल र समी रोप्न, चौतारो निर्माण, चौतारो वरिपरी कुवा कुण्ड वा पोखरी निर्माण गर्न तथा जीर्ण चौतारोको मर्मतबाहेक अरु काममा खर्च गर्न नपाइने स्पष्ट उल्लेख ऐनमा नै गरेको छ ।

यसरी चौतारो निर्माण कार्य सुरु गरेसँगै गण्डकी प्रदेश मातहत चालु आर्थिक वर्षमा मात्रै झण्डै २० वटा चौतारो निर्माण भइसकेको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको वन व्यवस्थापन तथा जैविक विविधता महाशाखाका प्रमुख रामकाजी श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा मन्त्रालयले समेत पहिलेको तुलनामा बढी बजेट विनियोजन गरेपछि चौतारो निर्माण कार्यलाई तीब्रता दिन सकिएको उनी बताउँछन् ।

मन्त्रालयका अनुसार एउटा चौतारो निर्माणको लागि एक लाख रुपैयाँ विनियोजन गर्ने गरिएको छ । यस अनुसार चौथो चौमासिकसम्ममा २० वटाभन्दा बढी निर्माण भइसकेको श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो आर्थिक वर्षमा कास्की जिल्लामा मात्रै छ वटा चौतारा बनाउनको लागि कुल ५ लाख रुपैयाँ खर्च गरेको थियो ।

वर पिपल समीमध्ये ३ वटै पनि हुन सक्छ । कतै बर मात्रै पनि कतै पिपल मात्रै र कतै समी मात्रै पनि बनाइएको हुन्छ । कतै कपुर लगायतको पनि बनाउने गरिन्छ । श्रेष्ठका अनुसार यसरी बनाइएको चौतारोलाई पुरानै ठाउँमा प्रतिस्थापन गरिएको छ । २०७५ सालमा बनाइएको उक्त ऐनमा सकेसम्म पुरानै ठाउँमा चौतारो पुनर्निर्माण गर्ने र सोही ठाउँमा सम्भव नभए नजिकै अर्काे चौतारो बनाउने उल्लेख छ । साथमा धारा वा कुवाको समेत व्यवस्था गर्नुपर्ने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment