Comments Add Comment

कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिने अन्तिम तयारी, बोर्डमा पुग्यो प्रस्ताव

फाइल तस्वीर

२९ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय (कमोडिटी एक्सचेञ्ज) बजार सञ्चालन गर्न लाइसेन्स दिने अन्तिम तयारी गरेको छ । बोर्डले नयाँ वर्षमा नै कमोडिटी एक्सचेञ्जको लाइसेन्स दिने गरी प्रक्रिया अघि बढाएको हो ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले लाइसेन्स दिनका लागि निजीगत तथा प्रक्रियागत विषयको टुंगो समेत लागिसकेको बताए । तर पनि यही दिन नै लाइसेन्स दिन्छौं भनेर अहिले भन्न नसकिने उनको भनाइ छ । लाइसेन्स दिने सम्बन्धी प्रस्ताव बोर्डको सञ्चालक समितिमा पुगिसकेको समेत उनले जानकारी दिए ।

‘कमोडिटी एक्सचेञ्ज तत्कालै दिनका लागि भनेर गरिएको अध्ययन रिपार्टे पनि आइसक्यो’ उनले भने, ‘अब सञ्चालक समितिले पास गर्ने वित्तिकै लाइसेन्स दिन सकिनेछ ।’ यस अघि कमोडिटी एक्सचेञ्जका लागि ५ कम्पनीहरुले आवेदन दिएका थिए । पाँच मध्ये दुई वटा वटा कम्पनीहरुलाई लाइसेन्स लिने बोर्डको तयारी थियो । तर पहिलेकै कम्पनीले लाइसेन्स पाउँछन् भन्ने नभएको अध्यक्ष ढुंगाना बताउँछन् ।

उनका अनुसार पहिलेको आवेदनहरु सबै रद्द हुनेछन् र नयाँ आवेदन माग गरेर लाइसेन्स दिने बोर्डको तयारी छ । ‘निवेदन प्राप्त भएको ३० दिनभित्र नै प्रोसेसिङ सुरु गर्नु पर्छ, पहिले आवेदन परेको लामो समय भइसकेका कारण ती रद्द हुन्छन्,’ उनले भने, ‘अब नयाँ प्रक्रियाबाट सुरु गरेर लाइसेन्स दिइन्छ ।’

मुलुकको अर्थतन्त्रको आकार, वस्तु कारोबारको सम्भाव्यता, औद्योगिक व्यवसायको विकास साथै लगानीकर्ताको हित संरक्षणलाई समेतध्यान दिएर एक्सचेञ्जको लाइसेन्स दिने बोर्डको तयारी छ । २०७४ सालमा सरकारले वस्तु विनिमय बजारसम्बन्धी छुट्टै ऐन ल्याएको थियो । त्यसपछि नेपाल मर्कन्टाइल, कमोडिटी फ्यूचर्स, राइजल कमोडिटी, मल्टिडेरिभेटिभ्स् एक्सचेञ्ज र नेपाल कमोडिटीले लाइसेन्सका लागि निवेदन दिएका थिए । तर ती सबै निवेदन रद्द भएको र नयाँ निवेदन माग गर्ने बोर्डको तयारी छ ।

कमोडिटी एक्सचेञ्ज विभिन्न वस्तुहरूको खरिदबिक्री गर्ने ठाउँ हो । कमोडिटी बजारमा वस्तुको स्वामित्व एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नेमात्र नभएर भौतिकरूपमा पनि वस्तुलाई एक ठाउँबाट अर्को ठाउँमा सारिन्छ । अहिले भौतिक वस्तुको उपस्थितिविना पनि त्यस्ता वस्तुको स्वामित्व मात्र खरिद बिक्री हुन थालेको छ ।

यो कारोबार संगठित कमोडिटीज एक्सचेञ्जबाट हुनेगर्छ । स्वामित्वको मात्र खरिद बिक्री हुँदा वस्तु भने जहाँ थियो त्यहीँ (अर्थात गोदाममै) रहीरहन सक्छ । वस्तुको स्वामित्व जनाउने कागजको मात्र खरिद बिक्री हुन्छ । यसरी हेर्दा कमोडिटी बजार जग्गाको खरिद बिक्री जस्तै हुन्छ । यस्ता वस्तुहरूमा पनि सेयरमा जस्तै लगानी गर्न सकिन्छ । यसकारण संगठित कमोडिटी एक्सचेञ्जलाई स्टक एक्सचेञ्ज जस्तै पूूँजीबजारको एक अंगको रूपमा लिने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment