३० चैत, विराटनगर । ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई पराजित गर्दै भारतको पन्जाब पुलिस क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको क्वाटरफाइनल खेलमा पञ्जाबले सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब काठमाडौंलाई २-० ले पराजित गर्यो ।
खेल सुरू भएको ३९ औं मिनेटमा पन्जाबले राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो । जगदीप सिंहले दिएको क्रस पासलाई राजवीरले वान टचमै गोल गरे । दोस्रो हाफको ८३ औं मिनेटमा महावीर सिंहले गोल दोब्बर बनाए ।
मच्छिन्द्रले गोल गर्ने थुप्रै अवसर खेर फाल्यो । खेलको २० औं मिनेटमा मच्छिन्द्रका उमेश राईले पेनाल्टी एरिया नजिकैबाट वान भर्सेस वानमा गरेको प्रहार भारतका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरे । खेलको ५४ औं मिनेटमा पनि मच्छिन्द्रका निशान्त लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार खेर गयो ।
खेलको म्यान अफ द म्याच जगदीप सिंह घोषित भए ।
सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ ।
प्रतिक्रिया 4