Comments Add Comment

सुन्नु पनि एक कला हो

सामान्यतया हामी जहाँ पनि सुन्नेभन्दा बढी बोल्नुमा विश्वास गर्छौं । तसर्थ, हामी एक राम्रो श्रोता बन्न र समस्या समाधान गर्न सक्षम हुँदैनौं । तर के उपयुक्त बानी हो ? धेरै सुन्नु कि धेरै बोल्नु ?

आजको युग डिजिटल युग हो, हामी सबै हाम्रो डिजिटल दुनियाँमा यति रमाइएका छौं कि यही डिजिटल माध्यमबाट पनि अरूमा आफ्ना कुराहरू पोख्नकै लागि समय खर्च गर्ने गर्छौं । जतिबेलासम्म सम्बन्ध हाम्रो हातबाट चिप्लिँदैन त्यतिबेलासम्म हामीमा पारिवारिक सम्बन्धको बारेमा समेत चिन्ता हुँदैन । हामी केवल आफ्नो कुरा लाद्नमा मात्रै केन्द्रित हुन्छौं ।

जहिले पनि हामी केवल हाम्रो विचारहरू व्यक्त गर्न चाहन्छौं । फेसबुक वा ट्विटरमार्फत् अरूलाई आफ्नो विचार पोख्न मात्रै खोज्छौं । अरूको कुरा सुन्ने क्षमता हामीमा हुँदैन । जो मान्छे यसरी आफ्नो कुरा मात्रै सुनाउन खोज्छ र अरूको कुरा सुन्न सक्दैन । त्यो नै उसको सबैभन्दा ठूलो कमजोरी हो ।

उदाहरणको लागि हामीहरूमध्ये धेरै अफिसबाट घर फर्किएपछि डिजिटल माध्यममा समय बिताउन खोज्छौं । तर बच्चा साथमा भएका परिवारमा बच्चाले आफ्नो दिनभरिको गतिविधि बाबुआमालाई सुनाउन उत्सुक रहेको हुन्छ । तर हामी उनीहरूको कुरा सुन्ने धैर्य राख्दैनौं । जसका कारण बच्चाहरू रूखो र गलत मार्गतिर लाग्‍ने सम्भावना हुन्छ । अत: बच्चाको कुरा झनै धेरै सुन्ने र थोरै बोल्ने गरियो भने बच्चाहरू गलत बाटोमा हिँड्न पाउँदैनन् ।

कुनैपनि मानव जीवन परिपूर्ण छैन । सबैको जीवनमा उतार-चढावहरू आउँछन्। यदि हामी समस्याको साथ व्यवहार गर्दैछौं भने हामीलाई एक त्यस्तो साथी चाहिन्छ जो कुनै कुराकानी नगरिकन हाम्रो कुरा सुनेर मात्रै बसोस् र अन्तिममा त्यसको समाधान सुनाओस् । आजको भागदौडको जीवनमा धैर्यको धेरैमा अभाव छ । ५ जी गति को डाटा जस्तै हामी आफ्नो शब्द भन्न चाहन्छौं र त्यसपछि कान बन्द गरेर उस्तै परे त्यहाँबाट उठेर भाग्न चाहन्छौं । हाम्रो डिजिटल दुनियाँले यो प्रवृत्तिलाई झनै बढावा दिएको छ । राम्रो श्रोता हुनु पनि एक कला हो । सुन्नु यस्तो कला हो कि हामी आफैँभित्र अलिअलि गरेर आफैँलाई बदल्न सक्छौं ।

यदि हामीभित्र यो कौशल विकास गर्दैछौं भने यो हाम्रो सम्बन्धका लागि लाभदायक हुने गर्छ । यो व्यावहारिक मात्रै नभएर हाम्रो मानसिक, शारीरिक र भावनात्मक स्वास्थ्यको लागि पनि लाभदायक छ । राम्रो श्रोता हुनुको महत्व धेरै छ । धेरैजसो गलत सोचाइहरू उत्पन्न हुन्छ किनकि हामी बोल्छौं तर सुन्ने गर्दैनौं। कतिपय अवस्थामा त हामी आफ्नै कुरा भन्ने गर्छौं तर अरू कसले के भनिरहेछ भन्ने कुरामा हामी ध्यान दिँदैनौं । धेरै व्यक्तिहरू बोल्न उत्सुक हुन्छन् । तिनीहरू महसुस गर्छन् कि केवल बोलेमा मात्र उनीहरू अरूमाथि हावी हुनेछन् । त्यसैले सु्न्नेभन्दा धेरै बोल्नुलाई महत्त्व दिन्छन् मान्छेहरू तर सम्बन्धमा मिठास र शक्ति कायम राख्न, राम्रो श्रोता हुनु महत्त्वपूर्ण छ।

जीवनलाई फरक कोणले चलाउनको लागि सुन्नुपर्छ
जति धेरै तपाईं धैर्यताका साथ कसैको कुरा सुन्न सक्षम हुनुहुनेछ, त्यति नै तपाईं तिनीहरूको सामना गर्न सक्षम हुनुहुनेछ। तपाईं जति धेरै सुन्नुहुन्छ, जीवनप्रतिको तपाईंको दृष्टिकोण त्यति नै परिवर्तन हुनेछ । जीवनका धेरै अनुभवहरू सुनेर तपाईं ज्ञानी हुन सक्नुहुन्छ । धेरै बोल्ने मानिस भित्रबाट कमजोर हुन्छ । ऊ बोल्दै आफ्नो उपस्थिति सबै ठाउँमा महसुस गराउन चाहन्छ। यदि तपाईं बोल्नुहुन्छ तर सुन्नुहुन्न भने जीवनप्रतिको तपाईंको दृष्टिकोण अत्यन्त सीमित रहनेछ। जति तपाईं सुन्नुहुन्छ त्यति नै तपाईं जीवनको हरेक पक्षमा अगाडि बढ्नुहुनेछ।

धेरै सुन्ने व्यक्तिको व्यावसायिक उन्नति पनि अन्य व्यक्तिको तुलनामा उच्च हुने गर्छ । यो ग्राहक वा मित्रसँगको व्यवहारमा आफ्नो जीत हासिल गर्ने कला पनि हो । कम बोल्ने र धेरै सुन्ने मान्छे सबै काम सजिलै फत्ते गर्न सक्छ । तपाईंले जति सुन्नुहुन्छ उति नै सिक्नुहुनेछ । तपाईंको जीवनको जुनसुकै चरणमा तपाईंले सुन्न छाड्नुभयो भने बुझे हुन्छ तपाईंले सिक्न छाड्नुभयो । यदि तपाईं बोल्ने काम मात्रै जारी राख्नुहुन्छ भने तपाईं अरूबाट कसरी सिक्नुहुनेछ ? त्यहाँ निश्चित रूपले प्रत्येक व्यक्ति भित्र केही न केही गुण हुन्छ जुन तपाईले सिक्न सक्नुहुन्छ। त्यसैले ध्यान दिएर सुन्नु आवश्यक छ।

अत: पहिले आफ्नै लागि पनि सुन्नुहोस् । सुन्ने कला तपाईंको भित्र विकसित भयो भने तपाईंले बिस्तारै सुन्न थाल्नुहुनेछ जसले तपाईंलाई सफलता तर्फ डोहोर्याउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment