Comments Add Comment

यू-१९ क्रिकेट टिमलाई पाँच वर्षको लागि वाइवाइको प्रायोजन

३० चैत, काठमाडौं ।नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टिमलाई वाइवाइले प्रायोजन गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) र चौधरी ग्रुपबीच सोमबार मुख्य प्रायोजनका लागि सम्झौता भएको हो ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौता पाँच वर्षको रहनेछ ।

सम्झौतापछि अब वाइवाइ नेपाल यू-१९ क्रिकेट टिम भनिनेछ । सम्झौताबापत चौधरी ग्रुपले क्यानलाई ७० लाख रकम प्रदान गर्नेछ । हरेक दुई वर्षमा १० प्रतिशत वृद्धि गरिनेछ ।

चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले फेरि क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेकाे बताए । ‘फेरि अवसर दिनुभएकोमा धन्यवाद । युवालाई कसरी विकास गर्न सकिन्छ भनेर सोचिरहेका छौं ।’

‘पहिला हामीले सहकार्य गर्दा नेपालमा क्रिकेट त्यति चर्चित थिएन । हामीले महिला, पुरुष, उमेर समूह सबैसँग सहकार्य गर्‍यौं’ चौधरीले थपे, ‘अहिले धेरै विकास भइरहेको छ । कहीं न कहीं वाइवाइले त्यसमा केही सहयाेग गरे जस्तो लाग्छ ।’

यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले वाइवाइको सहयोगले नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन मद्दत मिलेको बताए । ‘नेपाली क्रिकेटमा वाइवाइले चासो राखिरहेको छ । डेढ वर्षदेखि निरन्तर छलफलमै थियौं । यसले नेपाली क्रिकेट विकासमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरेका छौं’, उनले भने ।

चन्दले सफलतापूर्वक नेपाली क्रिकेटलाई उँचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।

क्यान क्रिकेट म्यानेजर विनोद दासले सम्झौताबापतको रकम यू-१९ क्रिकेटको जिल्ला छनोटदेखि राष्ट्रिय प्रतियोगितासम्म खर्च गरिने बताए ।

दासले यू-१९ महिला क्रिकेट टिमको लागि पनि सम्झौताबारे छलफल भइरहेको बताए ।

यस्तै चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले आफूहरूको चाहना महिलालाई पनि सहयोग गर्ने रहेको र अहिलेको आवश्यकता अनुसार सहकार्य गरेको बताए ।

७० लाखबाहेक अन्य सपोर्ट पनि गर्दै जाने निर्वाण चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment