Comments Add Comment
२०७७ मा सेयर बजार :

कोरोना महामारीमा झन् रेकर्ड नै रेकर्ड

फाइल तस्वीर/ब्रोकर कार्यालयमा लगानीकर्ता ।

३१ चैत, काठमाडौं । सेयर बजारमा २०७७ सालको अन्तिम कारोबार भएको दिन मंगलबार बजार परिसूचक नेप्से २३ दशमलव २३ अंकले बढेर २७१४ दशमलव ७९ अंकमा पुगेको छ । यो, हालसम्मै उच्च विन्दु हो । अर्थात् नेपाली सेयर बजारले एउटा इतिहास रचेर २०७७ साललाई बिदा गरेको छ ।

नेप्से परिसूचकमात्रै होइन यो वर्ष दैनिक हुने सेयर कारोबार रकम, बजार पूँजीकरणलगायत धेरै कुरामा नयाँ रेकर्ड बनेको छ । मंगलबारसम्म सेयर लगानीकर्ताको पूँजी ३७ खर्ब ५८ अर्ब ९७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै बढी बजार पूँजीकरण हो ।

कोरोना महामारीले स्वास्थ्य, सामाजिक र अर्थतन्त्रका अरु धेरै क्षेत्रमा असर पारे पनि सेयर बजारका जानकारहरु यो वर्षलाई स्वर्णिम मान्छन् । १४ वर्षयता सेयर किनबेच गरिरहेकी दुर्गा तिवारी यो वर्ष सेयर बजारमा सोच्दै नसोचेको सफलता मिलेको बताउँछिन् । उनको अनुभवमा यो वर्ष नै लगानीकर्ताको लागि सबैभन्दा फलदायी वर्ष बन्न पुग्यो ।

‘यति ठूलो महामारी फैलिदैछ, अब बजार पूरै क्र्यास हुन्छ भन्ने सोचेको थिएँ’ उनी भन्छिन्, ‘डराउनुपर्ने कारणहरु पनि धेरै थिए, अर्कोतर्फ २०७७ को एक महिनासम्म बजार पनि खुलेन ।’ जब २०७७ वैशाख ३० गते बजार खुल्यो, त्यसले लगानीकर्तालाई उत्साहित बनायो । लकडाउन र कोरोना महामारीका कारण अरु क्षेत्रमा लगानी गर्न नसकेका र घरमा बसेका हजारौं लगानीकर्ता सेयर बजारमा आए ।

यसले पुराना लगानीकर्ताहरुलाई पनि उत्साहित बनाएको तिवारी बताउँछिन् । ‘अन्य क्षेत्रमा नराम्रो असर परे पनि सेयर बजारका लागि कोरोना बरदान नै बन्यो’ लगानीकर्ता तिवारी भन्छिन्, ‘सोच्दै नसोचेको धेरै राम्रो भयो, अब अपेक्षा छ २०७८ पनि लगानीकर्ताहरुका लागि सुखद बनोस् ।’

नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले २०७७ सेयर बजारका लागि स्वर्णिम वर्षको रुपमा रहेको बताउँछन् । सेयर बजारका अधिकांश सूचकहरुले ऐतिहासिक रेकर्ड राखेको भन्दै उनले २०७७ सेयर बजारका लागि यादगार वर्षको रुपमा रहने बताए ।

‘लकडाउनले अन्य क्षेत्रमा निकै ठूलो असर गर्‍यो, तर सेयर बजारमा भने सकारात्मक प्रभाव परेको छ’ उनले भने, ‘यो वर्ष सेयर बजारबारे धेरैले बझ्नुभयो, लगानीकर्ताको आकर्षण देखियो सबैलाई राम्रै भएको छ ।’

ह्वात्तै बढ्यो आकर्षण

अघिल्लो वर्षसम्म ७ लाख हाराहारी डिम्याट खाता रहेकामा यो वर्ष बढेर ३४ लाख पुगेको छ । दुई वर्षयता सेयर कारोबारका लागि डिम्याट खाता अनिवार्य छ ।

सेयर कारोबारको लेखाजोखा राख्ने कार्यालय सीडीएस एण्ड क्लियरिङका अनुसार ३१ चैतसम्म डिम्याट खाताको संख्या ३४ लाख २ हजार २०३ पुगेको छ । अघिल्लो वर्षसम्म ब्रोकरको कार्यालयमै पुगेर वा टेलिफोनका आधारमा सेयर किनबेच हुने गरेकामा यो वर्षदेखि अनलाइन कारोबार प्रणाली बढी प्रभावकारी रह्यो ।

नेप्सेले अनलाइन कारोबार प्रणाली शुरु गरेपछि यही वर्षदेखि ब्रोकर कार्यालय जानैपर्ने बाध्यता हटेको छ ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुली यो वर्ष अनलाइन कारोबार प्रणालीमा व्यापक सुधार भएको बताउँछन् । उनका अनुसार गत वर्ष ३७ हजार रहेको अनलाइन प्रणालीको प्रयोगकर्ताको संख्या अहिले ५ लाख ७६ हजार पुगेको छ ।

पूँजी करिब २२ खर्बले बढ्यो

२०७७ सालको पहिलो महिना वैशाखमा जम्मा दुई दिनमात्रै सेयर कारोबार भयो । कोरोना महामारीका कारण बन्द भएको बजार लगानीकर्ताहरुको माग पछि वैशाख ३० र ३१ गते मात्रै खुलेको थियो ।

एक महिना कारोबार हुन नपाए पनि लगानीकर्ताहरुको पूँजी यो साल करिब २२ खर्बले वृद्धि भएको छ । यो वर्षको वैशाखमा सेयर बजारको पुँजीकरण १५ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ मात्रै थियो । चैत मसान्तसम्म आइपुग्दा बजार पुँजीकरण २१ खर्ब ९१ करोड ४७ लाख रुपैयाँले बढेर ३७ खर्ब ५८ अर्ब ९७ करोड ५७ लाख रुपैयाँमा पुगेको छ ।

परिसूचकले रच्यो इतिहास

२०७६ वैशाख मसान्तमा १३१५.५ विन्दुमा रहेको नेप्से परिसूचक २०७७ वैशाखमा १२०१.६ विन्दुमा थियो । २०७७ चैत मसान्तमा २७१४ दशमलव ७९ अंकमा पुगेको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या २१२ थियो, यो संख्या पनि बढेर अहिले २१९ पुगेको छ । सूचीकृत कम्पनीमध्ये १४८ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३३ जलविद्युत कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४ वटा होटल र ४ वटा व्यापारिक संस्था र ११ अन्य समूहका कम्पनी छन् ।

वित्तीय क्षेत्रको वर्चश्व

सेयर बजारमा बैंक तथा वित्तीय संस्थाले यो वर्ष पनि वर्चश्व कायम राख्यो । यद्यपि, अन्य क्षेत्रका कम्पनीहरु थपिंदा पहिलेको हिस्सामा केही ह्रास भने आएको छ ।

नेप्सेमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको बजार पूँजीकरणको हिस्सा ६९.६ प्रतिशत रहेको छ । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ६.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटलको हिस्सा ०.८ प्रतिशत रहेको छ ।

वर्ष २०७७ को वैशाख महिनामा सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पूँजीकरणको हिस्सा ८०.१ प्रतिशत रहेको थियो । त्यसैगरी जलविद्युत कम्पनीको हिस्सा ५.९ प्रतिशत, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३.८ प्रतिशत, होटलको हिस्सा १.३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.३ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ८.६ प्रतिशत रहेको थियो ।

चुक्ता मूल्यमा आकर्षक वृद्धि

नेप्सेमा सूचीकृत कम्पनीहरुको चुक्ता मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ । केही कम्पनीहरु थपिएको र कतिपय कम्पनीहरुले बोनस तथा हकप्रद सेयर समेत दिएका कारण यसको राम्रो वृद्धि देखिएको हो ।

नेप्सेले दिएको जानकारी अनुसार अहिले ५ अर्ब ६१ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ५१ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको शुरुवातमा ४ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ४ खर्ब ६० अर्ब ६१ करोड रुपैयाँ रहेको थियो ।

यस वर्ष १ खर्ब ५० अर्ब बढीको विकास ऋणपत्र, ३५ अर्ब ३७ करोड बढीको साधारण सेयर, २८ अर्ब ७६ करोड बराबरको बोनस सेयर, १० अर्ब ५ करोड बराबरको डिबेन्चर, ३ अर्ब २८ करोड बराबरको हकप्रद सेयर र १ अर्ब ८५ करोड बराबरको म्युचल फण्ड गरी कुल २ खर्ब २९ अर्ब ३१ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment