+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

अन्नपूर्ण चढ्न अनुकुल मौसम कुर्दै आरोही, सगरमाथामा मे पहिलो साताको तयारी

अच्युत पुरी अच्युत पुरी
२०७८ वैशाख २ गते १७:३९
तस्वीर सौजन्य : पूर्णिमा श्रेष्ठ, आरोही श्रेष्ठ अन्नपूर्ण हिमालको आरोहणमा रहेकी छिन् ।

२ वैशाख, काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अनुमति लिएका आरोही तथा सहयोगीहरु हिमालतर्फ लाग्ने क्रम जारी छ । यसमध्ये अन्नपूर्ण (८०९१ मिटर)आरोहणमा गएको पहिलो टोली चुचुरो पुग्ने क्रममा रहेको छ ।

पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार अन्नपूर्णमा यो वर्ष सबैभन्दा पहिलो आरोहणको सम्भावना छ । ‘अन्नपूर्णमा पहिलो टोलीले अनुकुल मौसम कुरेर बसेको छ,’ उनले अनलाइनखबरसँग भनिन्, ‘सम्भवतः एक/दुई दिनमै सुखद् खबर आउनेछ ।’

अन्नपूर्ण आरोहणमा गएकी आरोही पूर्णिमा श्रेष्ठले ११ अप्रिलमा सामाजिक सञ्जालबार गरेको अपडेट अनुसार यो टोली ११ अप्रिलमा क्याम्प २, १२ अप्रिलमा क्याम्प ३, १३ अप्रिलमा क्याम्प ४ र १४ अप्रिलमा समिटको योजना थियो । आरोही श्रेष्ठका अनुसार क्याम्प ३ भन्दा माथिको आरोहण अन्नपूर्णमा कठिन मानिन्छ ।

पर्यटन विभागको तथ्यांक अनुसार मंगलबारसम्म ४ समूहका ४४ जना आरोहीले अनुमति लिएका छन् ।

सगरमाथामा मे पहिलो साता समिट गराउने तयारी

संसारको सर्वोच्च शिखर सगरमाथामा यो वर्ष अघिल्लो वर्षहरुको तुलनामा आरोहण केही छिटो गराउने तयारी छ । निर्देशक आचार्यका अनुसार मे पहिलो सातासम्म आरोहण सम्भव हुने गरी रुट तयारी पारिसक्ने लक्ष्य रहेको छ ।

अहिले सगरमाथामा रुट बनाउने काम जारी छ । यो टोली क्याम्प टू भन्दा माथि पुगिसकेको छ । मौसम अनुकुल भएमा वैशाख भित्रै आरोहीहरु समिटका लागि जाने छन् । अघिल्लो वर्षहरुमा जेठको दोस्रो सातामा सबैभन्दा बढी समिट हुने गरेका थिए । अनुकुल मौसम पर्खनु पर्ने भएकाले कुनै दिन अधिक भिड लागि चुचुरोमा मानव ट्राफिक जाम समेत हुने गरेको छ । पर्यटन विभागको आंकडा अनुसार मंगलबारसम्म सगरमाथामा आरोहणका लागि मात्र ३० टोलीका २९० आरोहीले अनुमति लिइसकेका छन् । कोरोना महामारीका बीच आएका यी आरोहीले पर्यटन बजारमा भने सकारात्मक भूमिका खेलेका छन् । विभागको तथ्यांक अनुसार अहिलेसम्म ५५ समूहका ४९२ आरोहीले अनुमति लिइसकेका छन् ।

लुक्ला उडान काठमाडौंबाटै

सन् २०१९ मा काठमाडौंबाट लुक्ला जान धेरैजसो आरोहीले रामेछापको मन्थलीस्थित विमानस्थल प्रयोग गर्नु परेको थियो । काठमाडौं विमानस्थलमा हवाई जहाजको उच्च चाप कम गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले लुक्ला उडान रामेछाप विमानस्थलमा सारेको थियो । तर, यो वर्ष भने लुक्लाका लागि हुने सबै उडान त्रिभुवन विमानस्थलबाटै भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । यसबाट रामेछाप गई लुक्ला उड्नु पर्ने बाध्यता समेत हटेको छ । सगरमाथा आरोहणमा जाने पर्यटकका लागि लुक्ला प्रवेशद्धार मानिन्छ ।

४९ सरकारी कर्मचारी आरोहण निगरानीमा खटिए

यो वर्ष सरकारले ४९ जना कर्मचारीलाई आरोहण गतिविधिको निगरानी गर्न खटाएको छ । उनीहरुलाई सम्पर्क अधिकृत रुपमा चिनिन्छ ।

यस वर्ष सगरमाथा क्षेत्रमा मात्र ३७ जना सम्पर्क अधिकृत खटिने छन् । सामान्यतया एक आरोहण समूहका लागि एक जना सम्पर्क अधिकृत खटाउने गरिन्छ । तर, संख्या थोरै भएको समुहमा भने मर्ज गरेर समेत सम्पर्क अधिकृतलाई जिम्मेवारी दिने गरिन्छ । सम्पर्क अधिकृतको सिफारिसपछि मात्र आरोहीले आरोहण गरे–नगरेको प्रमाणित हुने हुँदा उनीहरुको उपस्थिति महत्वपूर्ण मानिन्छ ।

आरोहण हुने क्षेत्रमा सरकारी प्रतिनिधिका रुपमा उनीहरुले आरोहणसँग सम्बन्धित गतिविधिको प्रत्यक्ष निगरानी गर्ने अधिकार पाएका हुन्छन् ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?