Comments Add Comment

खोप अभाव : मोदीलाई विपक्षीको दबाब, भारतलाई अन्तर्राष्ट्रिय ताकेता

३ वैशाख, काठमाडौं । भारतले कोरोना खोप निर्यातमा बन्देज लगाएको औपचारिक घोषणा गरेको छैन । तर, उसले आन्तरिक माग पूरा गर्नु आफ्नो प्राथमिकता भएको भन्दै निर्यात ठप्प पारेको छ ।

भारत सरकारको यही नीतिका कारण नेपाललगायत धेरै मुलुकले अगि्रम भुक्तानी गरिसके पनि खोप अझै प्राप्त गर्न सकेका छैनन् ।

खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट र भारतीय अधिकारीसँग नेपाल खोपको विषयमा निरन्तर संवादमा छ । भारतले अप्रिलको अन्तिम सातासम्म खोप पठाउन सकिने जानकारी गराएको छ ।

नेपालले सेरमसँग २० लाख खोप खरीद सम्झौता गरेको थियो, त्यसमध्ये १० लाख आइसकेको छ भने १० लाख आउन बाँकी छ । १० लाख खोप चाहिं भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो ।

विश्वकै ठूलो खोप उत्पादक कम्पनी सेरम यतिवेला दोहोरो दबाबमा छ । एकातिर सम्झौता गरेका मुलुकले सकेसम्म छिटो खोप उपलब्ध गराउन दबाब दिइरहेका छन् भने अर्काेतर्फ भारत सरकारले केही समय खोप निर्यात नगर्न भनेको छ।

सेरमसँग विश्वका ९० भन्दा बढी मुलुक खोपका लागि निर्भर छन् । संसारकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरमले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोरोना खोप ‘कोभिशिल्ड’ उत्पादन गरिरहेको छ ।

सेरमले उत्पादन गरेको खोप व्यापारमा भारतीय विदेश मन्त्रालयको बलियो नियन्त्रण छ । मन्त्रालयको स्वीकृति विना उसले आफैंले सम्झौता गरेको मुलुकलाई समेत खोप दिन सक्दैन ।

वैदेशिक व्यापार नीतिको प्रावधान अनुसार भारतले आन्तरिक माग पूरा गर्न कुनै पनि व्यापारजन्य उत्पादनको निर्यातमा रोक लगाउन सक्छ । तर, सो प्रतिबन्धबारे उसले औपचारिक घोषणा भने गरेको छैन ।

भारतीय विदेश मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार उसले अहिलेसम्म ९० मुलुकलाई अनुदान र व्यापारिक रूपमा खोप उपलब्ध गराइसकेको छ । भारतले ल्याटिन अमेरिका, क्यारेबियन, एशिया र अपि|mकी देशलाई खोप उपलब्ध गराएको छ । साथै बेलायत, क्यानडा, ब्राजिल र मेक्सिकोलाई पनि भारतले कोभिशिल्ड र कोभ्याक्स दुवै खोप उपलब्ध गराएको छ । भारतले अनुदानमा उपलब्ध गराउने काम जारी राखे पनि व्यापारिक निर्यातमा भने रोक लगाएको छ ।

सो बन्देज मार्च र अपि्रल महीनाका लागि मात्र लगाइएको र त्यसपछि नियमित हुने सरकारी अधिकारीले बताएका छन् । पछिल्लो साता भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै आन्तरिक माग बढेको भन्दै भारतले निर्यातलाई निरुत्साहित गरेको हो ।

उता भारत सरकार भने आन्तरिक दबाबमा छ । देशभित्रै खोपको व्यापक माग बढिरहेको समयमा अन्य देशलाई खोप दिएको भनी इन्डियन नेशनल कंग्रेससहित विभिन्न राजनीतिक दलले सरकारको विरोध गरिरहेका छन् ।

अप्रिलको पहिलो साता इन्डियन नेशनल कंंग्रेसका नेता राहुल गान्धीले आन्तरिक रूपमा खोपको माग निकै बढेको भन्दै निर्यात रोक्न आग्रह गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेखेका थिए ।

तर, सेरम सम्झौता भइसकेको खोप उपलब्ध गराउनुपर्ने र कोभ्याक्स सुविधा अनुसारको खोप समयमा नै उपलब्ध गराउनुपर्ने कानूनी बाध्यतामा छ । किनभने यो भारतको आफ्नो खोप होइन ।

कुल उत्पादनमध्ये ३५ प्रतिशतमा भारतले आफ्नो दाबी प्रस्तुत गर्न सक्छ तर उत्पादन भएकोमध्ये ५० प्रतिशतमा भारतको सेयर हुने गरी सम्झौता गरिएको छ । यसको यसअघि नै आलोचना भइसकेको छ ।

भारतले आफ्ना नागरिकलाई दैनिक ४० लाख डोज खोप लगाइरहेको छ । अर्थात् भारतले अहिले जति खोप उत्पादन गरिरहेको छ, त्यति नै खोप आन्तरिक रूपमा लगाइरहेको छ ।

पहिला भारतले सेरमसँग दुई करोड ५० लाख डोज खोप माग गरेकोमा अहिले त्यसलाई बढाएर १० करोड डोज पुर्‍याएको छ । त्यसैले अन्य देशलाई दिने काम पूर्णरूपमा रोकिएको छ । सम्झौता अनुसार अन्य मुलुकलाई खोप प्रदान गर्न अहिलेको उत्पादन क्षमता बढाउनुपर्ने सेरमको धारणा छ ।

खोप उत्पादन वृद्धि गर्न नै सेरमले भारत सरकारसँग ४० लाख अमेरिकी डलर मागेको छ । यो रकम प्राप्त भए एक महीनामा सात करोड डोज खोप उत्पादन भइरहेकोमा त्यसलाई बढाएर १० करोड डोज पुर्‍याउन सकिने कम्पनीको भनाइ छ । सम्झौता अनुसार सेरमले नोभाभ्याक्स लाई एक अर्ब डोज उपलब्ध गराउनुपर्ने हुन्छ भने गाभी र कोभ्याक्सलाई २० करोड डोज उपलब्ध गराउने घोषणा गरेको छ । अहिले उसले ६ करोड ५० लाखदेखि सात करोड डोज खोप उत्पादन गरिरहेको छ ।

भारतमा केही समययता भाइरसको संख्या बढेसँगै सेरमले उत्पादन गरेको खोप घरेलु प्रयोजनका लागि प्रयोग हुन थालेको छ । एस्ट्राजेनेकाले कोभ्याक्स सुविधा अनुसार जूनको अन्तिम सातासम्म २४ करोड डोज उपलब्ध गराउनुपर्छ । तर, अघिल्लो सातासम्म जम्मा तीन करोड ९० लाख डोज खोप मात्र उपलब्ध गराइएको छ । अघिल्लो हप्ता एस्ट्राजेनेकाले सेरमलाई कानूनी बाध्यताबारे सम्झाउँदै पत्र समेत पठाएको छ ।

यसले भारत निकै दबाबमा परेको छ । कोभ्याक्स विश्व स्वास्थ्य संगठनको पहल हो जसले गरीब मुलुकहरूलाई समानुपातिक ढंगले खोप वितरण गर्ने गर्दछ । सेरमको ढिलाइको कारणले नै धेरै मुलुकले कोभ्याक्सअन्तर्गत पाउनुपर्ने खोप अझै पाएका छैनन् ।

त्यसैले भारतले कोभ्याक्सलाई दिने खोपमा ढिलाइ गर्दा त्यसले साना र गरीब मुलुकलाई अप्ठेरो पर्छ । त्यसैले यतिवेला भारतको अन्तर्राष्ट्रिय दायित्वबारे पनि बहस भइरहेका छन् ।

कोभिडशिल्डको खोपले मात्र आन्तरिक माग नधान्ने भए पनि भारतले अन्य देशले बनाएका खोपसमेत भारतमा उत्पादन गर्ने सोच बनाएको छ । हालै मात्र भारत सरकारले रसियाले बनाएको स्पुतनिक-भी खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ ।

साथै, सो खोप भारतमा उत्पादन गर्ने सम्बन्धमा दुई देशको बीचमा सहमति भएको छ । शुरूका दिनमा सो खोपको सम्बन्धमा निकै प्रश्नहरू उठेका थिए । तर, रसियाले तेस्रो चरणको क्लिनिकल ट्रायलको विवरण पेश गरेपछि यसको विश्वसनीयता बढेको छ । यति मात्र होइन, विभिन्न अध्ययनले रसियन खोपको प्रभावकारिता समेत बढी देखाएका छन् ।

रसियन खोप कोरोना संक्रमण रोक्न ९० प्रतिशत प्रभावकारी रहेको विभिन्न अध्ययनले देखाएका छन् । वैज्ञानिकहरूले समेत पछिल्लो समयमा स्पुतनिक भी खोपको प्रभावकारिता बढेको उल्लेख गर्न थालेका छन् । रसियाको डाइरेक्ट इन्भेष्टमेन्ट फण्डले सो खोपको बजारीकरण गरिरहेको छ । सो कम्पनीले भारतमा ७५ करोड खोप उत्पादन गर्ने लक्ष्य लिएको छ ।

महामारीभन्दा पहिला भारतका तीन खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युट, भारत बायोटेक र बायोलोजिकल ई ले वाषिर्क दुई अर्ब ३० करोड डोज विभिन्न रोगका खोप उत्पादन गर्दै आएका थिए । तर, तीन कम्पनीको वास्तविक उत्पादन क्षमता त्योभन्दा बढी छ ।

माग बढेसँगै भारत बायोटेकले पनि आफ्नो उत्पादन बढाउने तयारी गरिरहेको छ । भारत बायोटेकको कोभ्याक्सिनले शुरूमा एक महीनामा एक करोड २५ लाख डोज र एक वर्षमा १५ करोड डोज खोप उत्पादन गर्ने लक्ष्य लिएको थियो ।

उसले एक वर्षमा ५० करोड डोज खोप उत्पादन गर्ने योजना बनाइरहेको छ । भारत बायोटेकको कोभ्याक्सिन भारतले आन्तरिक रूपमा उत्पादन गरेको खोप हो । सो संस्थाले खोप उत्पादन बढाउन सरकारसँग अनुदानको अपेक्षा गरेको छ ।

भारत आफैंमा एक ग्लोबल फार्मेसी हो । उसँग खोप उत्पादनको भीमकाय क्षमता भएकै कारण विश्वभरका मुलुकले ऊसँग खोपको अपेक्षा गरिरहेका छन् । यसअघि नै ९० मुलुकलाई खोप उपलब्ध गराएर उसले कोरोना खोपको विश्वव्यापी नेतृत्व नै लिएको छ ।

देशभित्र कोरोनाको संक्रमण बढेसँगै भारतलाई खोप निर्यात नगर्न ठूलो आन्तरिक दबाब छ । तर, यससँगै उसको विश्वव्यापी दायित्व पनि ठूलो छ । यी दुईको बीचमा सन्तुलन कायम राख्ने काम भने उसको लागि निकै चुनौतीपूर्ण देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment