Comments Add Comment
वीरगञ्जमा खतराको घन्टी :

‘समुदायमा संक्रमण फैलिसक्यो, हेल्चेक्रयाइँ नगरौं’

३ वैशाख, वीरगञ्ज । होली पर्व मनाउन भारतको हैदरावादबाट घर फर्किएका जीतपुर सिमरा उपमहानगरपालिका-९ का ३७ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या आएपछि २६ चैतमा एड्भान्स अस्पताल भर्ना भए । खोकी लाग्नुका साथै ज्वरो आएकाले पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भयो । नारायणी अस्पताल रिफर भएका उनको दुवै फोक्सोमा कोभिड निमोनिया देखियो । उपचारका क्रममा उनलेको मंगलबार विहान मृत्यु भएको छ ।

नयाँ दिल्ली छोरालाई भेटेर फर्किएका वीरगञ्ज-३ प्रगतिनगरका ६२ वर्षीय बृद्धलाई पनि खोकी लाग्नुका साथै ज्वरो आयो । श्वासप्रश्वासमा समस्या देखियो । श्वास प्रश्वासमा समस्या देखिएपछि २९ चैतमा अस्पताल पुगेका उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भयो । उनको पनि मंगलबार मृत्यु भयो ।

पर्साको कालिकामाई गाउँपालिका-२ का ५५ वर्षीय पुरूषको पनि उपचारको क्रममा ३० चैत २०७७ चैत भरतपुर अस्पतालमा मृत्यु भयो । कडा निमोनिया देखिएपछि उनलाई वीरगञ्जबाट भरतपुर रिफर गरिएको थियो ।

कोरोना संक्रमणबाटै बिहीबार वीरगञ्ज-२ बस्ने ४२ वर्षीया महिलाको मृत्यु भएको छ । मोटोपनको समस्याबाट पीडित उनलाई ज्वरो आउनुका साथै पखाला लागेको थियो । २९ चैतमा नारायणी अस्पताल पुगेकी उनको पीसीआर टेष्ट गर्दा कोरोना संक्रमण पुष्टि भयो र होम आइसोलेसनमा बसिन् । सास फेर्न गाह्रो भएपछि ३१ चैतमा फेरि अस्पताल पुगेकी उनको उपचारका क्रममा मृत्यु भयो ।

लकडाउन गर्न चिकित्सकको सुझाव

पछिल्लो ४ दिनमा बारा र पर्साका ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालमै ज्यान गुमाएका तीन जनामा कडा खालको निमोनिया देखियो । चिकित्सकका अनुसार निमोनिया पहिलाको भन्दा जटिल खालको छ र संक्रमितलाई उच्च मात्रामा अक्सिजन दिँदा पनि गाह्रो भएको छ ।

नारायणी अस्पतालका डा. निरज सिंह १० सिलिण्डर अक्सिजन लगाउँदा समेत संक्रमितलाई बचाउन नसकिएको बताउँछन् । कुनै ट्राभल हिस्ट्री नदेखिएका, तर परिवार पुरै संक्रमित भएकाल समुदायमै संक्रमण फैलिएको उनको ठहर छ । ‘तीव्र गतिमा संक्रमण फैलिएको छ । संक्रमित ५/७ दिन बाहिरै अलमलिएर बस्ने गरेका छन् । अस्पताल आइपुग्दा पुरै फोक्सो बिग्रिसकेको हुन्छ । कोरोनाविरुद्ध पुनः एकपटक गम्भीर रुपमा लाग्नुपर्ने देखिन्छ’ डा. सिंहले भने ।

दैनिक भेटिएका नयाँ संक्रमितको संख्याले पनि त्यही संकेत गर्छ । ०७७ चैत २४ गते १३ जना, २५ गते १५ जना, २७ गते ९८ जना, २७ गते १५ जना, २९ गते २८ जना, ३० गते ४० जना र चैत ३१ गते २८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये अधिकांश वीरगञ्ज महानगरका छन् ।

यो पनि पढ्नुहोस वीरगञ्जमा संक्रमणले घेरिसक्यो, छैन कोरोना अस्पताल

चिकित्सकहरुका अनुसार ज्वरो आएर स्वास्थ्य संस्थामा आउने बिरामीहरुको संख्या बढ्दो छ । संक्रमितलाई ज्वरो र खोकीसँगै झाडापखालाको समस्या पनि देखिएको छ ।संक्रमण थप फैलिन नदिन तत्काल कदम चाल्नुपर्ने उनीहरुको सुझाव छ । डा. सिंहले भने, ‘कोभिड संक्रमण फैलन नदिन थोरै समयका लागि भएपनि सेमी लकडाउन गर्दा फाइदा हुन्छ । अहिले लकडाउन गर्दा छोटो समयले पुग्छ, कोभिडले नै लकडाउन माग्यो भने गाह्रो हुन्छ ।’

नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दास पनि संक्रमितहरु अस्पतालमा आउँदा नै गम्भीर अवस्थामा पुगिसकेको पाइएको बताउँछन् । ‘झाडापखाला लाग्नेे, ज्वरो नहुँदासमेत सास फेर्न गाह्रो हुने, ज्वरो १०० डिग्री मात्रै हुने लक्षण संक्रमितमा देखिएको छ’ उनले भने, ‘दीर्घ रोग नभएका तथा युवा अवस्थाकै मानिसहरुलाई समेत कोभिडले गलाएको छ ।’
एकसाता लकडाउन गरेर परीक्षणको दायरा बढाउनुपर्ने डा. दासको भनाइ छ ।

तीन चौथाई संक्रमित समाजमै घुलमिल छन्
डा. उदयनारायण सिंह

पछिल्लो एक साताको तथ्याङ्कले खतराको घन्टी बजाइदिएको छ । तर वास्तविकता त्यो तथ्याङ्क भन्दा निकै विकराल र डरलाग्दो छ । शून्य संक्रमित भएको पर्सा अझ खासगरी सदरमुकाम वीरगञ्जमा पछिल्लो सातामा औसत ४० प्रतिशत पोजेटिभ केस देखिएको छ । यो ठूलो चुनौती हो ।

संक्रमितहरु कडा लक्षण लिएर मात्र पीसीआर गराउन आइरहेका छन् । जुन समग्र केसको एक चौथाई मात्रै हिस्सा हो, अर्थात बाँकी तीन चौथाई संक्रमितहरु निर्धक्क भएर समाजमा घुमिरहेका र संक्रमण फैलाइरहेका हुन सक्छन् ।

दोस्रो लहरमा देखिएको कोरोना अघिल्लो वर्ष देखिएको भन्दा फरक छ । निमोनियाको क्लिनिकल प्रस्तुति फरक देखिएको छ । रगतका प्यारामिटरहरूमा लिम्फोपेनिया भएका अधिकांशमा थ्रोम्बोसाइटोपेनिया देखिएको छ । अर्थात् उनीहरुमा चोटपटक लागेको अवस्थामा रगतको बहाव रोक्ने प्लेटलेटको कमी छ ।

शरीरमा प्लेटलेटको कमी हुँदा अन्य रोगलाई समेत निम्त्याउन सक्छ । त्यसैगरी पहिला संक्रमितमा औसत ७ देखि १० दिनमा नोमोनियाको लक्षण देखिन्थ्यो भने अहिलेका संक्रमितमा ५ दिनभित्रै निमोनियाको लक्षण देखाइरहेको छ । संक्रमित अधिकांश ५० वर्ष मुनिका छन् । बालबालिकामा समेत लक्षण देखिएको छ । संक्रमितको सिटी भ्यालु २० भन्दा कम छ ।

पाँच दिनमा वीरगञ्जमा निमोनियाका लक्षण देखिएका ५ जनाको अस्पताल आएको २४ घण्टाभित्रै मृत्यु भएको छ । उनीहरुमा कोरोना संक्रमण छ छैन त जाँच भएन तर कोभिड संक्रमित नै हुन सक्ने आशंका हाम्रो छ । संक्रमणबाट ज्यान गुमाएका र संक्रमित सबैको ट्राभल हिष्ट्रि पोजेटिभ छैन । यसले पुनः संक्रमण सम्ुदाय स्तरमा फैलिसकेको संकेत गर्छ ।

अबको बाटो

हामीले कोभिड-१९ लाई सामान्य रोग मान्दै हेल्चेक्रयाइँ गर्नु ठूलो भूल हुनसक्छ । बजार निस्कदा होस् वा कुनै काम विशेषले सरकारी कार्यालय वा कुनै भिडभाडको हुने क्षेत्रमा पुग्नुपर्छ । त्यो समयमा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारको गाइडलाइनअनुसार मास्क लगाउने, साबुन पानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, दूरी कायम गर्ने जस्ता स्वास्थ्य सुरक्षा मापदण्डहरु अपनाउनुको विकल्प छैन । पहिला आफूले पालना गर्नुपर्छ र अरुलाई पनि पालना गर्न भन्नुपर्छ ।

वृद्ध उमेरका आमाबुवा र बालबालिकाहरुलाई घर बाहिर निस्किन दिनु खतरनाक सावित हुनसक्छ । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । कोरोना भाइरसले युवामा भन्दा उनीहरुमा छिटो असर गर्न सक्छ । त्यस्तै बजार जाँदा घरको एकजना सदस्यलाई मात्रै बाहिर पठाउने र घर फिर्ता आएपछि साबुनपानीले राम्ररी हात धुने अथवा सेनिटाइजर प्रयोग गर्नुपर्छ । संक्रमणको दर घट्दै गएपछि हाम्रो यस्तो बानी हट्दै गएको छ ।

घरको कुनै सदस्यलाई तीन दिन भन्दा बढी ज्वरो आएको खण्डमा सम्भव भए छुट्टै कोठामा राख्ने र छुट्टै खान दिने व्यवस्था मिलाउनुपर्छ । नजिकैको स्वास्थ्य संस्थामा चिकित्सकसँग परामर्श लिनुपर्छ । चिकित्सकको सल्लाहअनुसार आवश्यक परे पीसीआर परीक्षणसमेत गराउन आनाकानी गर्नु हुन्न ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदैमा मात्रै हामी सुरक्षित हुने छैनौं । रोग प्रतिरोधात्मक शक्ति बढाउन ध्यान पुर्‍याउन जरुरी छ । त्यसका लागि पोषिलो खाने कुरा खार्ने, नियमित व्यायाम गर्ने बानी गर्नुपर्छ । स्थानीय प्रशासन वा पालिकाहरुले स्थानीय भाषामा जनसमुदायमा कोभिड-१९ सम्बन्धी जनचेतना फेरि फैलाउन सुरु गर्ने समय आएको छ ।

सरोकारवालाहरुको जिम्मेवारी

सरोकारवाला निकायले पहिलाको अनुभवबाट पाठ सिक्दै छिटोभन्दा छिटो नयाँ कदमहरु चाल्न आवश्यक देखिन्छ । ३ सय शय्याको आइसोलेसन स्थापना गर्ने, नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटल आइसोलेसन पुनः सञ्चालन गर्ने, पोखरियामा ग्रामीण क्षेत्रका संक्रमितका लागि केन्द्रित गरेर आइसोलेसन स्थापना गर्ने र स्थानीय होटल तथा धर्मशालाहरुलाई आइसोलेसन बनाउनुपर्छ ।

नारायणी अस्पतालमा ६० शय्याको भेन्टिलेटर सपोर्ट आवश्यक नपर्ने संक्रमितका लागि एचडीयू (हाई डिपेन्डेन्सी युनिट) र भेन्टिलेटर सपोर्ट आवश्यक पर्ने संक्रमितका लागि कोभिड-१९ आईसीयू तयारी अवस्थामा राख्नुपर्दछ । २० थान सीपीएपी मेसिन र भेन्टिलेटर व्यवस्था गरेर राख्दा आपतकालीन समयमा ठूलो सहयोग पुग्न सक्छ ।

जनशक्तिको उचित व्यवस्थापनमा ध्यान दिन आवश्यक छ । पछिल्लो पटक गरिएका गल्तीबाट पाठ सिक्दै स्वास्थ्यकर्मी र अन्य जनशक्तिलाई जोखिमको मूल्यांकन गर्दै सहुलियतको व्यवस्था गर्नुपर्छ ।

कोभिड संक्रमितलाईर् ओसारपोसार गर्न कम्तीमा ४ वटा एम्बुलेन्स एकद्वार प्रणालीमार्फत सञ्चालन गर्ने गराउने गरी तयारी अवस्थामा राख्नुपर्छ । अघिल्लो वर्ष एम्बुलेन्स नपाएर उपचारको अभावमा संक्रमितको मृत्यु भएको उदाहरण हामीसँग प्रशस्त छ ।

सँगै परीक्षणको दायरा फराकिलो पार्न आवश्यक सामग्रीको व्यवस्थापन गर्नतर्फ तीनै तहको सरकार, स्थानीय प्रशासन, सरोकारवाला निकाय लाग्नुपर्ने देखिन्छ । आफ्नो र आफ्नो परिवारको सुरक्षा आफैं गरौं । आफू संक्रमित हुनबाट बचौं, परिवार र समाजमा संक्रमण फैलनबाट जोगाऔं ।

नर्सिङ क्याम्पसमै आइसोलेसन

नारायणी अस्पतालमा बाहेक अहिले वीरगजमा कतै आइसोेलेसन सेन्टर छैन । १ सय ४० सक्रिय संक्रमितमध्ये १ सय ३७ जना संक्रमित होम आइसोलेसनमा छन् । वीरगञ्ज-४ स्थित वीरगञ्ज नर्सिङ कलेज यतिबेला आइसोलेसन सेन्टरमा परिणत भएको छ ।

कलेजका विद्यार्थी र कर्मचारीमा कोरोना संक्रमण भएपछि कलेज मंगलबारदेखि १० दिनका लागि बन्द गरिएको छ । ९० जनामध्ये १९ जना विद्यार्थी, ४३ जना शिक्षक कर्मचारीमध्ये २ जना संक्रमित छन् । संक्रमित शिक्षक विद्यार्थीलाई कलेजमै आइसोलेसनमा राखिएको छ ।

संक्रमित कर्मचारीलाई हेरचाह गर्ने कोही नभएकाले होम आइसोलेनमा बस्ने गरी पठाइएको कलेजले जनाएको छ । संक्रमण नभएका तेस्रो वर्षका विद्यार्थीलाई घर पठाइएको छ । कलेजका प्रशासकीय अधिकृत सुरेन्द्र ओझाका अनुसार स्वास्थ्य मापदण्डअनुसार नै बसोबास, खानपान र औषधीको व्यवस्थापन मिलाइएको छ । विद्यार्थीहरुमा कुनैपनि जटिल खालको समस्या देखिएको छैन ।

संक्रमण तीव्र फैलिरहँदा वीरगञ्जमा शैक्षिक संस्थाहरु खुला नै छन् । शैक्षिकसत्र हुन लागेको छ, वार्षिक परीक्षा बाँकी छ । बालबालिका र युवामा समेत संक्रमण देखिएको र उनीहरुले खोप नलगाएको अवस्थामा जोखिम बढी देखिएको छ । तसर्थ अहिलेको अवस्थामा विद्यालय खोलिराख्नुको साटो बन्द गर्नु नै उचित हुने नारायणी अस्पतालका डा. सिंहले बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment