Comments Add Comment

मध्य शहरमा गुमनाम ऐतिहासिक ‘रत्न पुस्तकालय’

४ वैशाख, काठमाडौं । बानेश्वर वरपर घरसँगै जोडिएका घर, व्यापारिक कम्प्लेक्स र पसल मात्र देखिन्छन् । तर बानेश्वर चोकबाट देवकोटा सडक हुँदै ८०० मिटर उत्तर लाग्दा देब्रेपट्टि महादेवको मन्दिर र रत्नराज्य स्कूल भेटिन्छ । यही मन्दिर अगाडिको तीनतले घरमा छ रत्न पुस्तकालय । यो ऐतिहासिक पुस्तकालय ६ दशकदेखि सञ्चालनमा छ ।

मध्यबानेश्वर आउने–जाने मूलबाटोकै छेउमा भए पनि यो पुस्तकालयबारे जनसाधारणलाई त्यति थाहा छैन । १२ हजारभन्दा बढी पुस्तक र साहित्यको गौरवमय इतिहास बोकेको रत्न पुस्तकालय चर्चाबाहिर छ ।

वि.सं. २०१९ मा स्थापना भएको रत्न पुस्तकालयले नेपाली साहित्य, समाज र राजनीतिको सात दशकीय इतिहास बोकेको छ । यही पुस्तकालय प्राङ्गणमा कुनैबेला महाकवि लक्ष्मीप्रसाद देवकोटाको सालिक अनावरण गर्न २०३७ मा तत्कालीन प्रतिबन्धित नेता बीपी कोइराला पुगेका थिए ।

पञ्चायतको जगजगीमा सरकार प्रमुख जसरी सालिक उद्घाटन गर्दै हिंड्दा बीपी कोइराला पञ्चायती आँखामा तारो समेत बने । तर, बीपी मात्र नभएर स्थापनाकालदेखि नै रत्न पुस्तकालयमा देशका सबै शीर्ष नेता र साहित्यकारहरूले पाइला टेकेको इतिहास छ ।

बीपी पनि एक विशिष्ट साहित्यकारको हैसियतमा सालिक अनावरण गर्न त्यहाँ पुगेका थिए ।

आज काठमाडौं महानगरपालिकाको वडा नम्बर १० मा पर्ने बानेश्वर कुनै बेला ‘महादेवस्थान आदर्श गाउँ पञ्चायत’मा पर्दथ्यो । उपत्यकावासी पनि बानेश्वर क्षेत्रलाई गाउँकै रूपमा हेर्थे ।

यही गाउँमा विद्यालयको आवश्यकता महसूस गरी ‘बाणेश्वर महादेव मन्दिर’अगाडि २०१९ मा रत्नराज्य पाठशाला खोलियो । त्यसबेला स्थानीयलाई लक्षित गरी विद्यालयसँगै पुस्तकालय खोलिएको भए पनि यो छिट्टै देशका शीर्षस्थ साहित्यकार, समाजसेवीहरूको संगमस्थल बन्न पुगेको बताउँछन् पुस्तकालयका वर्तमान अध्यक्ष शशि विक्रम राणा ।

२०२४ सालदेखि पुस्तकालयसँग जोडिएका राणा सात वर्षदेखि पुस्तकालयको अध्यक्ष छन् । राणाले नै रत्न पुस्तकालयको ऐतिहासिकता बयान गरे ।

‘धरणीधर कोइरालाको शोकसभामा एउटै मञ्चमा बीपी कोइराला, मातृकाप्रसाद कोइराला, मनमोहन अधिकारी, ऋषिकेश शाह, कृष्णप्रसाद भट्टराई उपस्थित भएको तस्वीर अझै छ’ राणाले भने, ‘यसले  नेपाली समाजको एकता र सहिष्णुता प्रतिबिम्बित गर्छ ।’

अहिले पुस्तकालयमा बीपी र राजा महेन्द्रको तस्वीर सँगै झुण्ड्याइएको छ । अध्यक्ष राणा यी दुवै साहित्यिक व्यक्तित्वको तस्वीर संयोगले सँगै पर्न गएको बताउँछन् ।

बुधबार नयाँ वर्षको अवसरमा पुस्तकालयले शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रमुख अतिथि बनाएर पुस्तक लोकार्पण गर्‍यो । त्यस अवसरमा  ‘पुस्तकालयले गर्ने नै साहित्य र संस्कृतिमा योगदान हो’ भन्दै १०१ वर्षीय जोशीले पुस्तकालयको कामको प्रशंसा गरे ।

‘रत्न पुस्तकालयले साहित्यको काम गर्दागर्दै देशको पनि सेवा गरिहेको छ’, मन्तव्यका क्रममा संस्कृतिविद् जोशीले भने ।

जोशी मात्र नभई रत्न पुस्तकालयमा राजधानीमा रहेका सबै साहित्यकार, संस्कृतिविद्हरू अनुकूलता अनुसार आउने गरेको अध्यक्ष राणा बताउँछन् । यसबाहेक मूर्धन्य साहित्यकारहरूको निधनमा शोकसभा कार्यक्रम पनि पुस्तकालयले गर्दै आएको छ ।

‘हेभिवेटहरू’को जमघट हुने थलो

अहिले रत्न पुस्तकालयको आँगनमा देवकोटाको मात्र होइन नेपाली साहित्यका धरोहर मानिने पारिजात, भूपि शेरचन, पहलमानसिंह स्वाँर, धरणीधर कोइराला र चित्तधर हृदयको अर्धकदको सालिक छ ।

यी स्रष्टाको सालिक उद्घाटनका लागि नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव रत्न पुस्तकालय प्राङ्गणमा आएका थिए ।

यसो त रत्न पुस्तकालयसँगै रत्नराज्य विद्यालय भएको हुँदा यस क्षेत्रमा सामाजिक गतिविधि भइरहन्थ्यो । तर पुस्तकालयमा भने लेख्ने–पढ्नेको जमघट हुन्थ्यो । त्यही कारणले रत्न पुस्तकालय मूर्धन्य व्यक्तिहरूको जमघट हुने थलो बन्न पुग्यो ।

विद्यालय प्रांगणमा साना–ठूला राजनीतिक कार्यक्रम हुन्थे भने पुस्तकालय अगाडि सांस्कृतिक कार्यक्रमहरू हुन्थे । यसबाहेक भानुजयन्ती, देवकोटा जयन्तीका अवसरमा देशका प्रसिद्ध साहित्यकारको उपस्थितिमा साहित्यिक कार्यक्रम हुने गरेको बताउँछन् शशि विक्रम राणा ।

हास्यव्यंग्यका उस्ताद गोपालराज मैनालीको प्रस्तुतिदेखि अम्बर गुरुङसम्मले यही स्थानमा गीत गाएको उनी सुनाउँछन् ।

‘रत्न पुस्तकालय राजनीतिक र सामाजिक चेतनाको शुरूआती थलो थियो’ राणा स्मरण गर्छन्, ‘यही मञ्चबाट सयौं स्रष्टाले आफ्नो सृजना जनतासमक्ष पस्किएका छन् ।’

मध्यबानेश्वरमा जन्मिएका लेखक शेखर खरेल पनि बाल्यकालदेखि नै पुस्तकालयमा साहित्यिक र सांस्कृतिक कार्यक्रम हुने गरेको सम्झन्छन् । खरेल भन्छन्, ‘रत्न पुस्तकालयमा हुने लक्ष्मी जयन्ती कार्यक्रममा नबोलाए पनि सयौं जनाको उपस्थिति हुने गर्छ । यसको मूल कारण पुस्तकालयको गौरवमय इतिहास हो ।’

मध्यबानेश्वरका बासिन्दा समेत रहेका पत्रकार अरुणदेव जोशी पनि पुस्तकालयको विशिष्ट इतिहास रहेको बताउँछन् । जोशीका अनुसार सानो भए पनि रत्न पुस्तकालयले नेपाली समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।

चुस्त व्यवस्थापनको नमूना

कतिपय सार्वजनिक पुस्तकालयहरूको खस्कँदो अवस्था र व्यवस्थाकीय लापरबाहीका समाचार धेरै सुनिन्छन् । तर रत्न पुस्तकालयले व्यवस्थापनको सवालमा आफूलाई एक नम्बर राख्दै आएको छ । सीमित स्रोतको उपयुक्त प्रयोगबाट पुस्तकालय सञ्चालन भएको छ ।

दुई दशकभन्दा बढी त्रिभुवन विश्वविद्यालयमा लाइब्रेरियनको काम गरेकी शकुन्तला पोखरेल अहिले सह–सचिवको रूपमा यहाँ काम गरिरहेकी छिन् । उनले आफ्नो अनुभव स्वयंसेवीको रूपमा रत्न पुस्तकालयमा खर्चिरहेकी छिन् ।

‘हामीले पुस्तकालय सानो भए पनि समयानुकूल विकास गर्न खोजेका छौं’, पोखरेल सुनाउँछिन्, ‘कम्प्युटर प्रविधिबाट खोजेका किताब तत्कालै भेटिने बनाएका छौं । अब सबै पुस्तक डिजिटाइज गर्ने प्रयत्नमा छौं ।’

पुस्तकालय सञ्चालनमा अहिले एकजना पारिश्रमिक लिने कर्मचारीबाहेक सबै पदाधिकारीले स्वयंसेवकको रूपमा काम गरिरहेका छन् ।

पोखरेलका अनुसार मासिक खर्च चलाउनका लागि पुस्तकालय रहेको घरको पहिलो तल्लाका तीनवटा सटर भाडामा दिइएको छ । तिनै सटरबाट आउने भाडाले मासिक खर्च चलाउन सजिलो भएको उनी सुनाउँछिन् ।

उनी भन्छिन्, ‘दान–दातव्यबाट र भाडाको रकमले नै हामीले पुस्तकालयको मासिक खर्च चलाइरहेका छौं । यसबाहेक वडा कार्यालय र अन्य संस्थाको सहयोग छ ।’

तीन तलाको पुस्तकालयको तल्लो तलामा पत्र–पत्रिका पढ्ने सानो सभाहल बनाइएको छ । उक्त हल साँझ ४ बजेदेखि ७ बजेसम्म खुल्छ । साँझको समय स्थानीयहरू यहाँ आएर पत्र–पत्रिका पढिरहेका भेटिन्छन् ।

पुस्तकालयको माथिल्लो दुई तलामा साहित्य र संस्कृतिका पुस्तकहरू राखिएका छन् । यसबाहेक नेपालका मूर्धन्य साहित्यकारहरूका तस्वीर, प्रधानमन्त्री र राष्ट्रिय विभूतिका तस्वीरहरू राखिएका छन् ।

मुख्य गरी साहित्य र संस्कृतिका पुस्तक रहेको रत्न पुस्तकालयमा पुराना साहित्यिक पत्रिका, साहित्यका दस्तावेजहरू पनि संग्रह गरिएको छ । यी सबै कार्यका लागि शिक्षा मन्त्रालयले दिने उत्कृष्ट पुस्तकालयको सम्मान राष्ट्रिय पुस्तकालय दिवस २०७५ का अवसरमा रत्न पुस्तकालयले पाएको छ ।

खाँचो नयाँ पुस्ताको सहभागिता

रत्न पुस्तकालयले आफूलाई गतिशील बनाउनको लागि ३०० भन्दा बढी आजीवन सदस्य बनाएको छ । यद्यपि, सात दशकको इतिहास बोकेको पुस्तकालयमा पछिल्लो केही वर्षयता चहलपहल घटेको छ । पत्रपत्रिका पढ्ने पाठकको संख्यामा पनि कमी हुँदै गएको पुस्तकालयका सचिव प्रकाश आचार्य बताउँछन् ।

आचार्यका अनुसार नयाँ पुस्तासम्म पुस्तकालयबारे जानकारी नपुग्नाले पुस्तकालय आउने युवा पुस्ताको उपस्थिति कम छ । जसले गर्दा भएका स्रोतसाधनको सही उपयोग हुन नसकेको आचार्यको ठहर छ ।

‘नयाँ पुस्ताले डिजिटल कुराहरू मात्रै अध्ययन गर्ने हुँदा पुस्तकालय जाने चलन नै हराएको छ । तर सार्वजनिक पुस्तकालयमा इन्टरनेटमा खोज्दा नभेटिने ऐतिहासिक सामग्री समेत हुन सक्छन्’, आचार्यले भने ।

रत्नराज्य विद्यालयसँगै भए पनि पुस्तकालय र विद्यालय फरक–फरक व्यवस्थापन भएका संस्था हुन् । यद्यपि विद्यालयसँग सहकार्य गरेर पुस्तकालयले धेरै काम गरेको छ ।

युवाहरूकै लागि भनेर रत्न पुस्तकालयले वार्षिक रूपमा राष्ट्रियस्तरको कविता प्रतियोगिता गर्दै आएको छ । विशेष गरेर लक्ष्मी जयन्तीका दिन यो प्रतियोगिता हुने गर्छ । वार्षिक रूपमा ‘पूजा’ नामक पत्रिका प्रकाशन र पुस्तक प्रकाशन पनि गर्दै आएको छ ।

पुस्तकालयबारे उपयुक्त प्रचार भए बानेश्वर वरपरका युवाका लागि उपयोगी हुने सचिव आचार्य बताउँछन् । अध्यक्ष शशिविक्रम राणा पनि पुस्तकालयलाई युवालक्षित बनाएर पठन संस्कृतिको विकास गर्न लागिपर्ने योजना रहेको सुनाउँछन् ।

(तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment