+
+
Shares

कांग्रेस मुख्यालयमा मुद्दा केन्द्रित बहस : पुस्तकालयमा बढ्दै चहलपहल

कांग्रेस मुख्यालयको पुस्तकालयलाई ज्ञानकेन्द्रका रूपमा समेत विकास गरिएपछि विषय केन्द्रित बहसहरू निरन्तर भइरहेका छन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०८२ भदौ २० गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस पार्टी कार्यालयमा स्थापना गरिएको पुस्तकालय कक्षमा अध्ययनसँगै विज्ञसँग संवाद वा मन्थन श्रृङ्खला चलिरहेको छ ।
  • पार्टी कार्यालयलाई बैठक गर्ने थलोसँगै ज्ञान आर्जन गर्ने केन्द्रका रूपमा विकसित गरेपछि चहलपहल बढेको छ ।
  • १९ हजार पुस्तक अट्ने गरी बनाइएको पुस्तकालयमा हाल १२ हजार बढी पुस्तक उपलब्ध छन् ।

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पार्टी बैठकबाट माथि उठेर विषयगत मुद्दाहरूमा बहस गर्ने थलोको रूपमा विकसित हुँदै गएको छ । कांग्रेसको पार्टी मुख्यालयमा मुद्दा केन्द्रित बहससमेत हुन थालेको छ ।

पार्टी कार्यालयलाई बैठक र प्रशासनिक कामबाट अघि बढेर खोज र अनुसन्धान गर्ने थलोको रूपमा विकास गर्ने लक्ष्य कांग्रेसले राखेको छ ।

महामन्त्री गगन थापाले महासमिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा केन्द्रीय कार्यालयलाई ज्ञान केन्द्रको रूपमा विकास गर्ने उल्लेख गरेका थिए । पार्टीले लिएको नीतिअनुसार संरचनाहरूले गतिविधिहरू बढाउँदा कांग्रेस मुख्यालयमा चहलपहल बढ्न थालेको हो ।

केन्द्रीय मुकाममा पुस्तकालय निर्माणसँगै चहलपहलको क्रम बढ्न सुरु भएको थियो । पुस्तकालयलाई ज्ञानकेन्द्रका रूपमा समेत विकास गरिएपछि विषय केन्द्रित बहसहरू निरन्तर भइरहेका छन् ।

पार्टी नेताहरू, बौद्धिक वर्ग, विषय विज्ञहरूलाई कांग्रेस कार्यालय पुगेर विचार राख्ने माध्यम पार्टीका विभागहरूले बनाइदिएका छन् ।

कांग्रेसले ७० वटा विभाग बनाउने निर्णय गरे पनि ५५ विभाग मात्र गठन गरेको छ । गठन भएका विभागमध्येमा अधिकांशले केन्द्रीय कार्यालयमा विषयगत बहसहरू राखेका छन् ।

जेठ दोस्रो सातादेखि हालसम्म सभापति शेरबहादुर देउवा केन्द्रीय कार्यालय पुग्ने कार्यक्रमहरू विभागबाट आयोजित छन् । यसबीचमा २० बढी विभागले गरेका विषयगत बहसमा सभापति देउवा प्रमुख अतिथि बने ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, आर्थिक नीति तथा योजना विभाग प्रमुख प्रा.डा. गोविन्दराज पोखरेल, पेसागत तथा बुद्धिजीवी विभाग प्रमुख डा. डिला संग्रौला, शिक्षा विभाग प्रमुख नैनसिंह महर, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याणकुमार गुरुङ, पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग प्रमुख अजयबाबु शिवाकोटी, उर्मिला थपलियाको नेतृत्वमा रहेको उद्यमशिलता र साना तथा मझौला व्यवसायी विकास विभागले गरेका कार्यक्रमहरू उल्लेखनीय रहे ।

केन्द्रीय कार्यालयमा विगतमा हुने ‘आसन र भाषण’बाट पृथक हुनेगरी अहिले जनसरोकारका बारेमा मन्थन भएको कांग्रेसको निचोड छ ।

केन्द्रीय कार्यालय ‘अध्ययन स्रोत केन्द्र’

पार्टीको वैचारिक सुदृढीकरण, अध्ययन संस्कृति प्रवर्द्धन, ऐतिहासिक अभिलेख संरक्षण र अनुसन्धान परम्परा पुनर्जागरणका लागि व्यवस्थित पुस्तकालय सुरु गरिएको छ । ६ साउन २०८१ बाट प्रारम्भ गरिएको पुस्तकालयलाई पार्टी अध्ययन स्रोतका रूपमा विकास गरिएको छ ।

महामन्त्री गगन थापाको अवधारणाअनुसार सुरु गरिएको पुस्तकालय कक्षमा अध्ययनसँगै विज्ञसँग संवाद वा मन्थन श्रृङ्खला चलिरहेको छ ।

पार्टीभित्र संवाद गर्ने, कुनै विषयमा रहेर विचार मन्थन गर्ने पार्टीभित्रको परिपाटी हट्दै गएकाले त्यो शैलीलाई मर्न नदिन बहस श्रृङ्खला सुरु गरिएको कांग्रेसले जनाएको छ ।

१९ हजार पुस्तक अट्ने गरी बनाइएको पुस्तकालयमा हाल १२ हजार बढी पुस्तक उपलब्ध छन् । राजनीतिक, इतिहास, संविधान, कानुन, दर्शन, अर्थ राजनीति, संस्कृति, साहित्य, धार्मिक लगायतका पुस्तकहरू उपलब्ध छन् ।

पुस्तकालयमा औसतमा दैनिक ५० जना प्रवेश आउने गरेको पार्टी कार्यालयका सचिव कृष्ण दुलालले जानकारी गराए । कोही चाहिँ आफूले पढ्न चाहेको पुस्तक नै खोज्न आउँछन्,’ दुलाल भन्छन्, ‘हेर्न र पढ्न दुवै उद्देश्य राखेर आउनेहरू छन् ।’

पुस्तकालयमा अध्ययन गर्नुको  राष्ट्रिय मुद्दाहरूमा विषयगत बहसमा समेत सहभागी हुन सकिने गरी कार्यक्रमहरू भइरहेका छन् ।

महिनाको एकपटक कुनै एक विषय वा पुस्तकको सन्दर्भमा रहेर बहस हुँदै आएको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग प्रमुख अजयबाबु शिवाकोटीले जानकारी गराए । अध्ययन स्रोत केन्द्र अन्तर्गत रहेर जनसरोकारका मुद्दामा विषयविज्ञसँग बहस हुँदै आएको छ । पूर्वाधार मिमांशाअन्तर्गत ‘कहाँबाट आउँछन् योजना ?,’ सरोकावालासँग महामन्त्री थापाले संवाद गरेका थिए ।

दुई महामन्त्री थापा र विश्वप्रकाश शर्माको अगुवाइमा मिसन रोजगारी अभियान सुरु गरिएको छ । ‘हामी सक्छौं मिसन रोजगारी’ एकवर्षे अभियान सुरु भएको छ । जलस्रोत तथा ऊर्जा, सडकको दु:खान्त, पूर्वाधार निर्माण: अवरोध र समाधान, खानेपानी र सरसफाइ, वौद्धिक सम्पत्तिको अधिकार लगायतका विषयमा विज्ञहरू डाकेर बहस गरिएको छ ।

‘नवप्रवर्तन र साना उद्यमी’ प्रोत्साहन गर्न दुईदिने सम्मेलन

कांग्रेसले स्टार्ट अप र मझौला व्यवसायलाई टेवा पुग्ने गरी गत माघमा दुईदिने सम्मेलन केन्द्रीय कार्यालयमा गर्यो । ‘नवप्रवर्तन र साना तथा मझौला व्यवसायलाई अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्न सक्ने क्षेत्र भएको हुँदा नयाँ पुस्तामा आशा भर्ने उद्देश्यले कांग्रेसले सम्मेलन गर्यो ।

उर्मिला थपलियाको नेतृत्वमा रहेको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले ‘नवप्रवर्तन र साना उद्यमी’ प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन राख्यो । सम्मेलनमार्फत आर्थिक रुपान्तरणको लागि प्रवर्द्धन, लगानी प्रोत्साहन, नीति सुधारमा वकालत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन लगायतका उद्देश्य कांग्रेसले राखेको थियो । युवाहरूको नेटवर्क निर्माण, नीतिगत सुधार र प्रदर्शनीमार्फत स्थानीय उत्पादनहरूको प्रचार–प्रसारमा मद्दत पुगेको कांग्रेसको निर्क्योल छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपाको प्राङ्गणमा ८० भन्दा बढी स्टलहरू राखेर प्रवर्द्धन गरिएको थियो । त्यस क्रममा उत्पादकसँगै नीति निर्मातालाई एक ठाउँ ल्याएर बहस गरिएको थियो । सरोकार पक्षका समस्या सुन्ने मञ्च प्रधान गरेको कांग्रेसले नीतिगत सुधारका लागि सरकारलाई झक्झक्याउन आवश्यक रहेको निष्कर्ष बहसबाट आएका थिए ।

विभाग संयोजक थपलियाले डिजिटल अर्थतन्त्रलाई प्रबर्द्धन र साना उद्यमीलाई प्रोत्साहन गर्न सम्मेलनबाट उल्लेखनीय कार्य भएको दाबी गरिन् ।

एक महिनासम्म वातावरणमाथि बहस

वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले निरन्तर एक महिना जलवायु परिवर्तनका विषयमा बहस गर्यो । कल्याण गुरुङको नेतृत्वमा रहेको विभागले २ असार देखि ६ साउनसम्म कार्यकर्तालाई जलवायुसँग जोडिएका विषयमा प्रशिक्षण समेत दियो ।

विभाग प्रमुख गुरुङका अनुसार डेढ १०० बढी विषयगत जानकारले कांग्रेसका नेता–कार्यकर्तालाई प्रशिक्षित गरेका थिए । देशभरबाट छानिएका १०० जनामा ८० जनाले निरन्तर प्रशिक्षण लिएका थिए ।

यही विभागअन्तर्गत ६ साउनमा केन्द्रीय कार्यलयमा कार्यक्रम हुँदा सभापति देउवाले केन्द्रदेखि वडासम्मको प्लास्टिकरहित क्षेत्र घोषणा गरे । कांग्रेसका सबै तहका कार्यालयमा सुर्तीजन्य पदार्थ मुक्त क्षेत्र हुने घोषणा पनि गरिएको छ ।

लेखक
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?