
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारको दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई उल्टो बाटो हिँड्नु भनेका छन्।
- थापाले सामाजिक सञ्जाल बन्द गर्ने होइन, आवश्यक कानुन छिटो बनाउने र राष्ट्रिय सभामा विचाराधीन कानुनलाई छिटो कार्यान्वयन गर्न आग्रह गरेका छन्।
- सामाजिक सञ्जालले अभिव्यक्ति स्वतन्त्रता, सार्वजनिक बहस र डिजिटल अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै थापाले प्रतिबन्धले अधिकार संकुचित हुने बताएका छन्।
१९ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको टिप्पणी गरेका छन् ।
सरकारले बिहीबार गरेको निर्णय गलत भएको उल्लेख गर्दै महामन्त्री थापाले सरकारलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै थापाले भने, ‘सरकार उल्टो बाटो हिँडेको छ, यसलाई पुनर्विचार गरिनुपर्छ ।’
सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन प्रसारण हुने अनिच्छित सामग्रीको मूल्यांकन, अनुगमन, जिम्मेवार बनाउन, दुरुपयोगलाई निरुत्साहित समेत बनाउनलाई कानुनी प्रबन्ध गर्न भनेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
‘निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन बरु आवश्यक कानुन छिटो बनाउने हो । सामाजिक सञ्जाल सम्बन्धित कानुन राष्ट्रिय सभामा विचाराधीन छ । त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौं,’ थापाले भने ।
सामाजिक सञ्जाल नागरिकहरूलाई आफ्ना अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै, सार्वजनिक बहसहरूमा भाग लिने, र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण मञ्च प्रदान गर्ने माध्यम बनेको थापाले उल्लेख गरेका छन् ।
सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकीसँग जोडिएको हुनाले प्रतिबन्धले अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई संकुचित पार्ने महामन्त्री थापाले उल्लेख गरेका छन् ।
‘सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिमसँग समेत जोडिएको छ । हामीले यस विषयमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसैले सरकार सँग पुन: आग्रह छ– यो निर्णय पुनर्विचार गरियोस् । सामाजिक सञ्जाल सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नको लागि सम्बन्धित कानुनलाई छिटो निर्माणमा तदारुकता देखाओस् ।’
प्रतिक्रिया 4