
News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तकालयलाई अध्ययन स्थल मात्र नभई नागरिक चेतना जगाउने केन्द्र र सामाजिक संवादको चौतारी बताए।
- उनले पुस्तकालयलाई अनुसन्धान, नवप्रवर्द्धन र सीप विकासको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे।
- मन्त्री गुरुङले कानुनी संरचना, लगानी र प्रविधिको कमीले पुस्तकालय अझै पूर्ण क्षमतामा पुग्न नसकेको बताए ।
१५ भदौ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले पुस्तकालय अध्ययन स्थलमात्र नभई नागरिक चेतना जगाउने केन्द्र, सामाजिक संवादको चौतारी र परिवर्तनको प्रेरणा श्रोत रहेको बताएका छन् ।
१८ औँ पुस्तकालय दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, ‘पुस्तकालयहरु केवल शान्त अध्ययन स्थलमात्र होइनन् । यी नागरिकको चेतना जगाउने केन्द्र, सामाजिक संवादका चौतारी र परिवर्तनको उत्प्रेरणा शक्ति पनि हुन् ।’
उनले पुस्तकालयलाई अनुसन्धान, नवप्रवर्द्धन र सीप विकासको प्रमुख केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको बताए ।
‘विशेषगरी ग्रामीण क्षेत्रका पुस्तकालयहरूको कम्प्युटर, इन्टरनेट, डिजिटल प्रणाली र मोबाइल पुस्तकालय जस्ता सुविधाबाट सूचना पहुँचको खाडल घटाइरहेका छन्,’ उनले भने ।
मन्त्री गुरुङले कानुनी संरचना, पर्याप्त लगानी र प्रविधिको कमीका कारण पुस्तकालय अझै पूर्ण क्षमतामा पुग्न नसकेको बताए ।
‘महिला, बालबालिका, किसान, श्रमिक, विद्यार्थी लगायत समाजका सबै तहका मानिसहरुका लागि पुस्तकालयले सूचना, सिप र आत्मबल प्रदान गर्दै आएका छन्’ उनले भने, ‘यद्यपि कानुनी संरचना, पर्याप्त लगानी र प्रविधिको कमीका कारण अझै पूर्ण क्षमतामा पुगेका छैनन् ।’
मन्त्री गुरुङले सरकार, स्थानीय तह र समुदाय मिलेर पुस्तकालयलाई बलियो कानुनी आधार, बजेट र प्रविधिसहित सक्षम बनाउन आवश्यक रहेकोमा जोड दिए ।
उनले पुस्तकालयहरूको सुधार गर्दै पठन संस्कृतिको विकासका लागि सरकार लागिपरेको जिकिर गरे ।
प्रतिक्रिया 4