
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको सानेपास्थित पार्टी कार्यालयमा भएको आगजनीमा १५ हजार पुस्तक र दुई करोड रुपैयाँ बराबरको सामग्री जलेर नष्ट भएको छ।
- नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा भएको जेन-जी आन्दोलनमा २० हजार पुस्तक र लाखौं दस्तावेज जलेर खरानी भएका छन्।
- नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी हुँदा पुस्तकालयको कोठा जोगिएको छ तर ४० प्रतिशत पुस्तक चोरी भएको छ।
१ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयको पुस्तकालयमा यो साता नवराज लम्सालको पुस्तकबारे विमर्श गर्ने कार्यक्रम तय थियो ।
तर, २४ भदौको जेन-जी आन्दोलनका क्रममा पुस्तकालय नै खरानी बन्यो । प्रदर्शनकारीले पुस्तक राख्ने दराज र र्याकसमेत लुटेर लगे । जसका कारण पुस्तकबारेको विमर्श पनि रोकियो ।
सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा अराजक समूह छिरेर आगजनी र तोडफोड गर्दा पुस्तकालयमा रहेका १५ हजार पुस्तक जलेर खरानी भए । २ करोड रुपैयाँ बराबरको पुस्तक जलेको कांग्रेसले जनाएको छ ।
‘बीपीदेखि प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका व्यक्तिहरूका पुस्तक थिए । बजारमा किन्न नपाइने पुस्तक एकैपटक खरानी भए,’ पुस्तकालय तथा पार्टी अध्ययन-स्रोत केन्द्र विभागका प्रमुख अजयबाबु शिवाकोटीले भने ।
उनका अनुसार २ करोड बराबरका पुस्तक जलेर नष्ट भएका छन् । ‘पुस्तक राखेको दराज र र्याक लुटेर लगेका छन् । सुन्दा पनि नमज्जा लाग्ने । कुन नियतका मान्छे जलाउन आएका थिए भन्ने प्रष्ट देखिन्छ,’ शिवाकोटीले भने ।
गत वर्ष ६ साउनमा कांग्रेसले पुस्तकालय बनाएको थियो । २०० भन्दा बढीको प्रत्यक्ष सहयोगमा पुस्तकालय बनाइएको हो ।
‘कसैको पैसा, कसैको आइडिया, कसैको भावना मिसिएको थियो । गत वर्ष बीपी स्मृति दिवसको दिन पुस्तकालय सुरु गरिएको हो,’ शिवाकोटीले भने, ‘पठन संस्कृतिको विकास गर्न खोजेका थियौं ।’
पुस्तकालय बनाएको एक वर्षको अवधिमा पार्टीको नीति कस्तो बनाउने भनेर विमर्श गर्ने थलो पुस्तकालय बनेको थियो ।
‘नीतिगत बहस र छलफलको केन्द्र बनाएका थियौं । शिक्षा, स्वास्थ्य, पूर्वाधार, वातवरण साहित्य लगायतमा विमर्श गर्ने गरेका थियौं,’ शिवाकोटीले भने, ‘युवा नीति कस्तो बनाउने भनेर युवालाई उद्यमसँग जोड्न उद्यमशिलता बहस चलाउन थालेका थियौं ।’
महिनाको दुई-तीनवटा कार्यक्रम पुस्तकालयमा हुने गरेको थियो । ‘भवन जलाए पनि पुस्तक नजलाएको भए हुन्थ्यो । लगेर पढेको भए ज्ञान बढ्ने थियो । यसले ठूलो क्षति पुगेको छ,’ उनले भने ।
कांग्रेस पार्टीका महत्त्वपूर्ण दस्तावेजहरू पनि जलेर नष्ट भएको छ । अब कहिले पुरानै स्वरूपमा पुस्तकालय आउने हो यकिन छैन । तर पुस्तकालय बनाउन सहयोग गरेका व्यक्तिले फेरि बनाउन सहयोग गर्ने बताइरहेका छन् ।
एमालेको २० हजार पुस्तक र लाखौं दस्तावेज खरानी
नेकपा एमालेले २०५४ सालदेखि पार्टी कार्यालयमा पुस्तकालय बनाएको थियो । पार्टी मुख्यालय बल्खुबाट सुरु भएको पुस्तकालय च्यासल आइपुगेर सकिएको छ ।
‘बल्खुमा हुँदादेखि नै पुस्तक संकलन गरेर पुस्तकालय बनाएको हो । पार्टीका नेताले लेख्नुभएका र अरूले दिनुभएका पुस्तकहरू थिए,’ एमाले पुस्तकालयका कर्मचारी रामचन्द्र बोहराले भने ।
नेताहरू विदेश भ्रमणमा जाँदा पनि पुस्तक ल्याउने गरेका थिए । ती पुस्तक पार्टी कार्यालयकै पुस्तकालयमा राख्ने गरिएको थियो । तर जेन-जीको आन्दोलनमा जलेर एमालेका २० हजार पुस्तक खरानी भए ।
एमालेले भूकम्प र बाढीबाट जोगाएका पुस्तक जेन-जी आन्दोलनबाट जोगाउन सकेन । एमालेले १० हजारजति पुस्तकको डिजिटलाइजेन पनि गरेको थियो । पुस्तकको नम्बर दिएर इन्ट्री गरिएको थियो ।
कहाँ, कुन किताब छ हेर्न सकिने बनाइएको थियो । मार्क्स र लेनिनदेखि मदन भण्डारीसम्मका किताब पुस्तकालयमा थिए । नेपाली नेता र साहित्यकारहरूले लेखेका पुस्तक पनि पुस्तकालयमा थिए ।
‘बजारमा नपाइने किताब लाइब्रेरीमा थिए,’उनले भने, ‘एमालेका लाखौं दस्तावेजहरू पनि जलेका छन् । पुस्तकभन्दा धेरै पार्टीका प्रतिवेदन र दस्तावेज थिए । पाचौं महाधिवेशनदेखिका अडियो, भिडियो क्यासेट थिए । नेताहरूको २०४६ सालदेखिका भाषण थिए । मदन भण्डारीको भाषण पनि थियो । २०६२/०६३ को जनआन्दोलनको फोटो, भिडियो सबै थियो, जलेर नष्ट भयो,’ उनले भने ।
कति मूल्य बराबरका पुस्तक र दस्तावेज जलेर नष्ट भए, त्यसको हिसाब एमालेले निकालेको छैन । ‘पूरै भवन जलेको छ । कति क्षति भयो संकलन भइरहेको छ । अहिले नै क्षतिबारे भन्ने स्थिति छैन,’ बोहराले भने ।
माओवादीको भने जोगियो जेन-जी आन्दोलनमा नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पनि जल्यो तर पुस्तकालय रहेको कोठा भने जोगिएको छ ।
‘पुस्तकालयको कोठा जलेको छैन । सिसा फुटेको छ । किताब जोगिएको छ,’ पुस्तकालय प्रमुख सावित्रा शर्माले भनिन् । उनका अनुसार केही पुस्तक भने चोरी भएको छ ।
‘१० हजारमाथि पुस्तक थिए । ढोका फोरेपछि चोरी भएको छ । अहिले ६० प्रतिशत मात्र पुस्तक बाँकी छ,’ उनले भनिन् । नियम अनुसार मओवादीले ७-८ वटा शीर्षकमा पुस्तकालय तयार पारेको थियो । जहाँ कम्युनिष्ट विचारसँग सम्बन्धित पुस्तक धेरै थिए ।
प्रतिक्रिया 4