Comments Add Comment

लुम्बिनी प्रदेशमा जसपा संसदीय दलको बैठक बस्दै

५ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक आइतबार दिउँसो बस्ने भएको छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त बैठक बस्नुअघि जसपाको बैठक तय भएको हो ।

६ जना सांसद रहेको जसपा संसदीय दल एक ढिक्का नहुँदा सरकारविरुद्ध ल्याउन खोजिएको अविश्वास प्रस्ताव टरेको थियो । लामो समय अनिर्णयको बन्दी बनेको जसपा संसदीय दलको बैठकले गर्ने निर्णयले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार जोगिने वा ढल्ने छिनोफानो हुनेछ ।

जसपाका ६ जना सांसदमध्ये पूर्वराजपाकी सांसद कल्पना पाण्डे लम्साल अविश्वास प्रस्तावको विपक्षमा छन् भने पूर्वसंघीय समाजवादी फोरमका विजयवबहादुर यादव र सन्तोष पाण्डे पनि पार्टी केन्द्रको लिखित निर्देशन आउनुपर्ने भन्दै अविश्वासको प्रस्तावको पक्षमा उभिन आलटाल गर्दै आएका छन् ।

यद्यपि, यादव र पाण्डेले आफूहरु पार्टी निर्णयभन्दा बाहिर नजाने बताउँदै आएका छन् । संसदीय दलका नेता यादवसहित समानुपातिक सांसद पुरमति ढेंगा र सुमन रायमाझी भने अविश्वास प्रस्तावको पक्षमा छन् । ‘मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा निर्णय गर्नुपर्ने भएकाले संसदीय दलको वैठक बस्न लागेका हौं,’ जसपा संसदीय दलका नेता सहषराम यादवले भने, ‘पार्टीमा मतभेद हुनु स्वभाविक हो, केन्द्रको असर पनि होला, तर प्रदेशको हकमा जे हुन्छ हामी बैठक बसेर नै निर्णय गर्छौं मेनk\\।’

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली समूह संसद विघटन गरेर प्रतिगमन र निरंकुश बाटोमा हिँड्नुका साथै विगतमा मधेश, आदिवासी जनजाति, समावेशिता, संघीयताका विषयमा अनुदार रहेकाले उनीहरुलाई समर्थन गर्न नसकिने नेता यादवले बताए ।

दुई हप्ताअघि जसपा सांसदहरु विभाजित हुँदा सरकारविरुद्धको अविश्वास प्रस्ताव तुहिएको थियो । लगत्तै सरकारले हतारमा संसद अधिवेशन समेत अन्त्य गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले जसपाको बैठकपछि तीन दलको बैठक बस्ने तय भएको बताए । ‘जसपा एकढिक्का भएर अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय भए १५ दिनमा लुम्बिनी प्रदेश सरकार ढल्छ,’ खानले भने, ‘कांग्रेस र माओवादी केन्द्र तयार छन् तर जसपाले हलो अड्काएर बसेको छ ।’

माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले शंकर पोखरेल नेतृत्वको सरकारको विकल्पमा बाँकी चार दल एक ठाउँमा उभिन तयार भएको बताए । जसपा एकढिक्का नभए पनि बहुमत पुर्‍याउने गरी आफूहरु अघि बढेको घर्तीको दाबी छ ।

८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका दुईजना सांसद पार्टीको कारबाहीपछि पदमुक्त भएकाले ८५ सदस्यीय भएको छ । जसमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १७ जना, जसपाका ६ जना र राष्ट्रिय जनमोर्चाका एकजना सांसद छन् ।

गण्डकी प्रदेशमा जस्तै राष्ट्रिय जनमोर्चाले यहां पनि अविश्वास प्रस्तावको पक्षमा सहयोग गर्ने विपक्षी गठबन्धनको दाबी छ । जसपा एकढिक्का हुँदा सरकारको विपक्षमा ४४ मत हुन्छ । जुन बहुमत हो ।

पूर्वराजपाकी एकजनाले समर्थन नगरे पनि कणर्ालीमा जस्तै एमाले सांसदले नै फ्लोर क्रस गरेको खण्डमा पनि सरकार ढल्ने निश्चित हुन्छ ।

प्रदेश सभामा एमालेका ४१ जना सांसदमध्ये २ जना माधव नेपाल समूहमा खुलेका छन् भने अझै तीन चारजना नेपाल पक्षमै रहेको सो समूहको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment