+
+
Shares
जेनजी आन्दोलन :

लुम्बिनी प्रदेशमा १३१ सरकारी कार्यालय र ७३ निजी सम्पत्तिमा क्षति

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा ५० वटा सरकारी कार्यालय र १८ जनाको निजी घर ध्वस्त पारिएको छ । रोल्पा, रुकुमसहित पहाडी ५ जिल्लामा आन्दोलनको खासै असर देखिएको छैन ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ असोज ३ गते १५:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १३१ सरकारी कार्यालय र ७३ निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ।
  • आन्दोलनमा ५० सरकारी कार्यालय पूर्ण रूपमा नष्ट भएका छन् भने १८ जनाको निजी घर र व्यवसायमा पूर्ण क्षति पुगेको छ।
  • आन्दोलनका क्रममा ५ जना कैदी बन्दीको मृत्यु भएको र ८५ जना बालबन्दी फरार रहेको लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ।

३ असोज, बुटवल । जेनजी आन्दोलनको क्रममा लुम्बिनी प्रदेशमा १३१ सरकारी कार्यालय र ७३ निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको प्रारम्भिक विवरण प्रहरीले सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा जेनजी युवाले २३ र २४ भदौमा देशव्यापी आन्दोलन गरेका थिए ।

आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा आगजनी र तोडफोडबाट ५० वटा सरकारी कार्यालय पूर्ण रूपमा नष्ट भएका छन् भने बाँकीमा आंक्षिक क्षति भएको छ । यस्तै १८ जनाको निजी घर र व्यवसायमा पूर्ण क्षति भएको छ ।

पहाडी जिल्लाहरू पाल्पा, गुल्मी, रोल्पा, रुकुम पूर्व र प्युठानमा आन्दोलनको असर न्यून देखिएको छ ।

प्रदेश प्रहरी कार्यालय लुम्बिनीले २ असोजसम्म संकलन गरेको क्षतिको विवरणमा रोल्पा, रुकुमसहित ५ जिल्लामा राजनीतिक दलका कार्यालयमा बाहेक अन्यत्र कुनै क्षति नभएको उल्लेख छ ।

आगजनी हुने सरकारी कार्यालयहरूमा स्थानीय तहका प्रशासनिक भवन, वडा कार्यालय, अदालत, मालपोत, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजस्व कार्यालय, इलाका प्रशासन कार्यालय लगायत छन् ।

दलका नेता र जनप्रतिनिधिका सम्पत्ति निसानामा

आन्दोलनकारीका निसानामा निजीतर्फ राजनीतिक दलका नेता, जनप्रतिनिधि, नेतासँग निकट व्यवसायीका घर र व्यवसाय परेका छन् ।

लुम्बिनीमा कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण र उनका भाइ श्यामकृष्ण खाँणको रुपन्देही तिलोत्तमा-८ स्थित घर, कांग्रेस लुम्बिनी महामन्त्री विक्रम खनालको बर्दघाटस्थित घर, नवलपरासीकै संघीय सांसद सरिता खनालको घर, बर्दघाटका मेयर शम्भुलाल श्रेष्ठ, उपप्रमुख रुद्रप्रसाद उपाध्याय र निवर्तमान मेयर धीरज बस्यालको घर, विनोद चौधरीको सचिवालय, लुम्बिनीका प्रदेश सांसद बर्दघाटकै विश्वप्रेम पाठकको घर आगजनीबाट पूर्ण रूपमा नष्ट भएको छ ।

प्रदेशका वनमन्त्री देवकरणप्रसाद जैसवाल, पूर्वमन्त्री हृदयेश त्रिपाठीको घर, दाङका कांग्रेस नेता एवं पूर्वमन्त्री राजु खनाल, कोहलपुरका मेयर पूर्णप्रसाद आचार्य, घोराहीकी उपमेयर हुमा डीसी र पाल्हीनन्दनकी उपमेयर पातुमा खातुन अन्सारीको घर पनि आगजनीबाट पूर्ण रूपमा नष्ट नभएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलको दाङ तुल्सीपुर-१८ स्थित घर, कांग्रेस नेता एवं पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीको दाङ तुल्सीपुर-६ स्थित घर, कांग्रेस नेता दीपक गिरीको तुल्सीपुर- ५ स्थित घर, एमाले नेता लिला गिरीको तिलोत्तमा-१ स्थित घर, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको सन्धिखर्कस्थित घर, एमाले नेतृ कोमल वलीको तुल्सीपुर-१० स्थित घर-होटेल, एमाले नेता बासुदेव घिमिरेको तिलोत्तमास्थित होटेल टुलिप र निजी घर, तिलोत्तमाका मेयर रामकृष्ण खाँणको निजी घर, एमाले नेता एवं तिलोत्तमा-१ का वडाध्यक्ष फर्सुराम गिरीको तिलोत्तमा-१ स्थित घरमा तोडफोड र आगजनी भई आंशिक क्षति पुगेको छ ।

एमाले नेता एवं होटेल व्यवसयी गोपाल रानाको बुटवलको ड्रिम इन्टरनेसनल होटलमा आंशिक र रानाकै मणिग्रामस्थित ड्रिमल्याण्ड रिसोर्ट र क्यसिनोमा आगजनीबाट ठूलो क्षति भएको छ ।

प्रदेश सांसद भोजप्रसाद श्रेष्ठको बुटवलको घरमा तोडफोडबाट आंशिक क्षति र एउटा गाडीमा आगजनीबाट ध्वस्त भएको छ । सैनामैनाका पूर्वमेयर चित्रबहादुर कार्की, देवदहका मेयर ध्रुव खरेल, सिद्धार्थनगरका मेयर इस्तियाक अहमद खानको घरमा पनि आगजनी भएको छ ।

यस्तै सैनामैना नगरपालिकाका मेयर फणीन्द्र शर्मा र उपमेयर बिना रानाको घरमा तोडफोड गरिएको छ। लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, सिद्धार्थनगर नगरपालिकाका उपमेयर उमा अधिकारी, सिद्धार्थनगरका पूर्वमेयर एवं राप्रपाका नेता सागरप्रताप राणा र संघीय सांसद सर्वेन्द्रनाथ शुक्ला, प्रदेशका खेलकुदमन्त्री सन्तोष पाण्डेयको घरमा पनि आगजनी र तोडफोड भएको छ ।

४ जिल्लाका १४ वटा प्रहरी कार्यालय तोडफोड र आगजनी

जेनजी आन्दोलनमा लुम्बिनी प्रदेशका तराईका ४ जिल्लाका १४ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको छ । जसमा सबैभन्दा धेरै रुपन्देहीमा ७ वटा, दाङमा ३, बाँकेमा २, पश्चिम नवलपरासीमा २ वटा कार्यालयमा क्षति पुगेको छ ।

यस्तै प्रहरीका चारपांग्रे ३ वटा र दुई पांग्रे ९ वटा सवारी साधनमा आगजनी भएको छ । प्रहरी कार्यालय र सवारी साधनमा समेत गरी ४७ लाख ३० हजार क्षति भएको प्रारम्भिक विवरण प्रहरीले दिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक राजेन्द्र भट्टले २ असोजसम्म आएको प्रारम्भिक विवरण भएको बताए । ‘जिल्ला जिल्लामा क्षतिको विवरण संकलन भइरहेको छ । कतिपय व्यक्ति र संस्थाका प्रतिनिधि सम्पर्कमा आइनसकेकाले कति रकम बराबरको क्षति भयो भन्ने यकिन भएको छैन,’ भट्टले भने, ‘यसका लागि केही समय अझै लाग्छ ।’

आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा कुनै मानवीय क्षति नभएको जानकारी दिँदै उनले प्रहरीतर्फ ३७ जना र आन्दोलनकारीतर्फ २० जना घाइते भएको बताए ।

कहाँकहाँ भयो भयो ?

रुपन्देहीमा बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेशका प्रदेश प्रमुखको कार्यालय, उनको निवास, उच्च अदालत तुलसीपुर बुटवल इजलास, बुटवल मालपोत कार्यालय, यातायात कार्यालय, प्रदेश लोकसेवा आयोग, श्रम कार्यालय बुटवल, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय, मुख्यमन्त्रीको सम्पर्क कार्यालय लगायतमा आगजनी तथा तोडफोड भएको छ ।

बुटवल उपमहानगरपालिका-४ को कार्यालय, उच्च सरकारी वकिल कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय बुटवल, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, इलाका प्रशासन कार्यालय बुटवल, आन्तरिक राजस्व कार्यालय बुटवल, नेकपा एमाले प्रदेश कार्यालय, जीवराज आश्रित स्मृति प्रतिष्ठान, बीपी स्मृति प्रतिष्ठानमा आगजनी र तोडफोड भएको छ ।

भैरहवास्थित जिल्ला अदालत, सिद्धार्थनगर नगरपालिकाको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, भैरहवा भन्सार कार्यालय, जिल्ला वन डिभिजन कार्यालय, आन्तरिक राजस्व कार्यालय भैरहवा, लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यालय लगायतमा आगजनी र तोडफोड गरिएको छ । सैनामैना नगरपालिका र देवदह नगरपालिकामा पनि तोडफोड भएको छ ।

भैरहवास्थित बोधी रेडसेन होटेलमा आगजनी, तोडफोड भएको छ । यो होटल कांग्रेस नेता एवं पूर्वसांसद प्रमोद यादवको हो । बुटवलको भाटभटेनी सुपर मार्केटमा तोडफोड र लुटपाट भएको छ ।

नेकपा एमाले प्रदेश कार्यालय र तिलोत्तमामा रहेको नगर पार्टी कार्यालय तथा भैरहवामा रहेको जिल्ला पार्टी कार्यालयमा आगजनी भएको छ । नेपाली कांग्रेसको भैरहवास्थित जिल्ला पार्टी कार्यालय र बुटवल मैनाबगरस्थित नगर पार्टी कार्यालयमा आगजनी भएको छ । बुटवल माझगाउँमा रहेको माओवादी केन्द्रको पार्टी कार्यालयमा पनि आगजनी र तोडफोड गरिएको छ।

दाङमा तुल्सीपुर उपमहानगरका दुई प्रशासनिक भवनसहित दर्जनौं सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको छ । जसमा इलाका प्रशासन कार्यालय तुल्सीपुर, उच्च अदालत, आन्तरिक राजस्व, लोकसेवा आयोग, मालपोत, यातायात, आयल निगम, तुल्सीपुर नगर विकास कार्यालयमा तोडफोड र आगजनी, भएका छन् । घोराही उपमहानगरपालिका कार्यालय, जिसस कार्यालय, सरकारी वकिल, जिल्ला अदालतसहित घोराहीका डेढ दर्जन कार्यालयमा तोडफोड र आगजनी गरिएको छ।

दाङका विभिन्न स्थानहरूमा रहेका विभिन्न राजनीतिक दलहरूका ८ वटा पार्टी कार्यालयमा पनि तोडफोड र आगजनी भएको प्रहरीले जनाएको छ ।

घोराहीस्थित पूर्वमेयर नरुलाल चौधरी, पूर् सांसद हिराचन्द्र केसीको घरमा आगजनी र तोडफोड भएको छ । पूर्वमन्त्री गेहेन्द्र गिरीको घरमा आगजनी र तोडफोड भएको छ। घोराही उपमहानगरपालिकामा रहेको एमाले नेतृ कोमल वलीको होटेल माला इनमा पनि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।

यस्तै कपिलवस्तुको तौलिहवामा रहेका नापी कार्यालय, जिल्ला अदालतका न्यायाधीशको निवास, कर कार्यालय, जिल्ला कारागार र जिल्ला अदालतमा तोडफोड गरिएको छ । राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूका घर गरी १२ वटा भवनमा आगजनी र तोडफोड गरिएको छ ।

वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, उपप्रमुख रिताकुमारी चौधरी, निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, राष्ट्रिय सभा सदस्य विमला घिमिरे, पूर्वसांसद दीपकुमार उपाध्याय, भूमि आयोगका अध्यक्ष झविलाल पोख्रेल, एमाले नेता डम्मर शर्मा र पूर्वमन्त्री सुरेन्द्रराज आचार्यको घरमा आगजनी र तोडफोड भएको छ।

बाँकेमा झन्डै दुई दर्जन सरकारी र व्यक्तिका भवनमा आगजनी र तोडफोड गरिएको छ । प्रहरीका अनुसार बाँकेको कोहलपुरस्थित नापी कार्यालय, मालपोत कार्यालय, विद्युत् कार्यालय, कोहलपुर नगरपालिकाको कार्यालय, राजस्व कार्यालय, इलाका प्रशासन कार्यालयमा आगजनी र तोडफोड गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, जिल्ला अदालत, उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास, मालपोत कार्यालय नेपालगञ्ज, नेपालगञ्ज भन्सार कार्यालय, नरैनापुर गाउँपालिका कार्यालय इलाका प्रशासन कार्यालय नरैनापुर, इलाका प्रहरी कार्यालय जयसपुर र ट्राफिक पोस्ट नेपालगञ्जमा आगजनी र तोडफोड गरिएको छ ।

नवलपरासीमा सरकारी, संघसंस्था र निजी गरी झन्डै ४० भवनमा क्षति भएको छ । जसमा बर्दघाट नगरपालिकाको कार्यालय, राष्ट्रिय आवास कम्पनी आगजनी र तोडफोडबाट पूर्ण रूपमा ध्वस्त भएका छन्।

त्यस्तै पारिजात सामुदायिक वनको कार्यालय, जिल्ला सरकारी वकिल कार्यालय र त्यहाँ रहेका दुई वटा सरकारी गाडी र एउटा मोटरसाइकलमा आगजनी र तोडफोड भएको छ।

यस्तै रामग्राम नगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका, पाल्हिनन्दन गाउँपालिकामा तोडफोड र आगजनी भएको छ।

बर्दियामा नेपाली कांग्रेसका नेता एवं संघीय सांसद सञ्जयकुमार गौतमको गुलरियामा रहेको घर र गुलरिया नगरपालिकाको भवनमा तोडफोड र आगजनी भएको छ । त्यस्तै बगलामुखीस्थित नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयका भवनमा क्षति भएको छ ।

अर्घाखाँचीमा चार वटा सरकारी कार्यालय, पाँच वटा पार्टी कार्यालय र एउटा निजी भवनमा आगजनी र तोडफोड भएको छ ।

अर्घाखाँचीमा मुख्यमन्त्री चेतनारायण आचार्यको सन्धिखर्कमा रहेको घरमा आगजनी भएको छ । यस्तै जिल्ला समन्वय समितिको कार्यालय, सन्धिखर्क नगरपालिकाकार्यालयमा तोडफोड भएको छ।

नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपा, रास्वपा र राष्ट्रिय जनमोर्चाका कार्यालयहरूमा आगजनी र तोडफोड भएको छ ।

गुल्मीको तम्घासमा रहेका नेकपा एमाले, कांग्रेस र माओवादी केन्द्रका पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको छ ।

प्युठानमा पनि बाग्दुलामा रहेको कांग्रेस कार्यालय, बिजुवारमा रहेको नेकपा एमालेको कार्यालय, जुम्रीमा रहेको माओवादी केन्द्रको कार्यालय र खलङ्गामा रहेको राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड भएको छ ।

५ जना कैदी बन्दीको मृत्यु

जेनजी आन्दोलनको क्रममा कारागारबाट भाग्न लाग्दा प्रहरीसँगको झडपमा परी ५ जना कैदी बन्दीको मृत्यु भयो । लुम्बिनी प्रदेश प्रहरीका अनुसार बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा रहेका बालबन्दीहरू भाग्ने क्रममा प्रहरीसँग झडप भएको थियो ।

उक्त बाल सुधारगृहबाट ९० जना बाल बन्दी फरार भएका थिए । तीमध्ये ५ जनाको मृत्यु भए पनि ८५ जना अझै फरार छन् ।

त्यस्तै, कपिलवस्तु कारागारबाट ४३१ जना कैदी फरार रहेकोमा ५६ जना मात्रै पक्राउ परेका छन् । कैदी बन्दीहरूले भदौ २४ गते कारागार फोरेर भागेपछि जिल्ला अदालतमा आगो लगाएका थिए ।

दाङबाट पनि २१३ जना फरार भएका कैदीमध्ये ४० जना पक्राउ परेका छन् । दाङमा यसअघि ४६९ जना कैदी रहेकोमा हाल २५६ जना मात्रै कैदी छन् ।

बाँकेको नौबस्ता कारागारबाट पनि १५० जना कैदी बन्दी फरार भएका थिए । तीमध्ये कुनै पनि पक्राउ परेका छैनन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?