News Summary
Generated by OK AI. Editorially reviewed.- चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा ट्रम्पसँगको शिखर वार्तामा व्यापार युद्धमा कोही विजेता नहुने बताएका छन्।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताएका छन्।
- ट्रम्प र जिनपिङबीच बेइजिङको ग्रेट हल अफ द पिपुलमा करिब २ घण्टासम्म द्विपक्षीय बैठक चलेको छ।
३१ वैशाख, काठमाडौं । बेइजिङमा ट्रम्पसँगको शिखर वार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङले व्यापार युद्धमा कोही पनि विजेता नहुने बताएका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, अमेरिका र चीनका व्यापारिक टोलीहरूबीच हालै भएको वार्तामा सन्तुलित र सकारात्मक नतिजा प्राप्त भएको जिनपिङले बताए ।
जिनपिङले चीन-अमेरिका आर्थिक तथा व्यापारिक सम्बन्धको आधार ‘पारस्परिक लाभ र दुवै पक्षको जित हुने सहयोग’ रहेको बताए । उनले दुवै देशलाई हालको सकारात्मक माहोल कायम राख्न सँगै मिलेर काम गर्न अपिल पनि गरे ।
बुधबार अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसन्ट र चीनका उपप्रधानमन्त्री हे लिफेङबीच दक्षिण कोरियामा बैठक भएको थियो । यो बैठक ट्रम्प-जिनपिङ शिखर वार्ताअघि भएको हो ।
जिनपिङले ट्रम्पलाई अमेरिका र चीनले मिलेर राम्रो भविष्य निर्माण गर्नुपर्ने बताए । बेइजिङमा शिखर वार्ताको सुरुवातमा उनले पूरै विश्वले यस बैठकलाई नियालिरहेको बताए ।
ग्रेट हल अफ द पिपुलमा सुरुवाती सम्बोधनका क्रममा जिनपिङले विश्व द्रुत रूपमा परिवर्तन भइरहेको र विश्वव्यापी स्थिति अस्थिर रहेको बताए ।
उनले विश्व एउटा नयाँ मोडमा उभिएको र अब अमेरिका र चीनले टकरावबाट बचेर सम्बन्धको नयाँ मोडल बनाउन सक्छन् कि सक्दैनन् भन्ने प्रश्न रहेको बताए । जिनपिङले दुवै देशले मिलेर विश्वव्यापी चुनौतीहरूको सामना गर्नुपर्ने र विश्वलाई बढी स्थिरता दिनुपर्ने बताए ।
उनले भने, ‘के हामी विश्व, हाम्रा जनता र मानवताको भविष्यका लागि हाम्रो द्विपक्षीय सम्बन्धको राम्रो भविष्य बनाउन सक्छौँ ?’
जिनपिङले यी प्रश्नहरू इतिहास, विश्व र जनताका लागि अत्यन्त महत्त्वपूर्ण रहेको र दुवै नेताले मिलेर यसको जवाफ दिनुपर्ने बताए ।
उनले अमेरिका र चीनको सम्बन्ध दुई देशका लागि मात्र नभई सिंगो विश्वका लागि महत्त्वपूर्ण रहेको बताए ।
विगत केही वर्षयता अमेरिका र चीनबीच भन्सार शुल्क, प्रविधि र व्यापारलाई लिएर तनाव कायमै छ । बेइजिङमा जारी बैठकमा व्यापार, दुर्लभ खनिज, एआई, ताइवान र इरान युद्ध जस्ता विषयमा छलफल भइरहेको छ ।
ट्रम्पले के भने ?
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनको सम्बन्ध पहिलेभन्दा अझ राम्रो हुने बताएका छन् ।
उनले आफू जिनपिङसँगको कुराकानीलाई लिएर उत्साहित रहेको र अमेरिकामा सबैले यस शिखर बैठकको चर्चा गरिरहेको बताए । ट्रम्पले भने, ‘तपाईंसँग हुनु सम्मानको कुरा हो। तपाईंको साथी हुनु सम्मानको कुरा हो र अमेरिका र चीनको सम्बन्ध पहिलेभन्दा राम्रो हुनेछ ।’
बेइजिङमा शिखर वार्ताको सुरुवातमा ट्रम्पले आफू विश्वका ठूला व्यापारिक नेताहरूलाई साथमा लिएर चीन आएको बताए । उनले भने, ‘आज यहाँ उत्कृष्ट व्यक्तिहरू मात्र उपस्थित छन्, जो तपाईंलाई सम्मान गर्न आएका हुन् ।’
उनले जिनपिङसँगको आफ्नो सम्बन्धलाई उत्कृष्ट बताउँदै दुवै देशको भविष्य राम्रो हुने बताए ।
ट्रम्पसँगै इलोन मस्क, एप्पलका सीईओ टिम कुक र बोइङका सीईओलगायत धेरै प्रतिष्ठित अमेरिकी व्यापारीहरू पनि चीन पुगेका छन्।
२ घण्टा चल्यो अमेरिका-चीन बैठक
ट्रम्प र जिनपिङबीच भएको द्विपक्षीय बैठक सकिएको छ। बेइजिङको ग्रेट हल अफ द पिपुलमा दुई नेताबीच करिब २ घण्टासम्म कुराकानी चलेको हो । उनीहरूबीच एक घण्टा वार्ता हुने बताइएको थियो ।
बीबीसीका अनुसार बैठक निर्धारित समयभन्दा एक घण्टा बढी लम्बिएको हो ।
प्रतिक्रिया 4