Comments Add Comment

तोडियो ओली र नेपालको संवादहीनता, के-के भयो कुराकानी ?

८ वैशाख, काठमाडौं । २७ नेतालाई सांसद पदबाट किन ननिकाल्ने भनेर पत्र काटेको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।

दुई नेताबीच बुधबार साँझ झण्डै दुई घण्टा मेरियट होटलमा वान अन वान वार्ता भएको थियो । भेटपछि दुवै नेताले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका छैनन् ।

नेताहरुका अनुसार लामो संवादहीनता तोडिएको छ, तर सहमतिको कुनै प्रस्ताव आएको छैन ।

कसरी जुर्‍यो भेट ?

नेताहरुका अनुसार यो भेट पूर्वनिर्धारित भने थिएन । बुधबार आकस्मिक रुपमा तय भएको हो ।

बुधबार बिहान नेपाल समूहमा रहेका योगेश भट्टराई  बालुवाटार पुगेर प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीलाई भेटेका थिए । उनले पार्टी एकता जोगाउनुपर्ने भन्दै पार्टी अध्यक्ष भएको नाताले विगतका तीतामीठा बिर्सिएर अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए ।

उनले माधवकुमार नेपाल, झलनाथ खनालहरुसँग कुरा गर्न आग्रह गरे । संवादकै क्रममा अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई टेलिफोन गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीको फोन आउँदा नेता नेपाल आफ्नो समूहका स्थायी कमिटी सदस्यहरुसँग छलफलमा थिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले भेटौं न भन्दै बालुवाटार आउन प्रस्ताव गरेका थिए । तर नेता नेपालले बालुवाटार जान सहज मानेनन् । बरु तुलसीलाल प्रतिष्ठानमा भेट्न प्रस्ताव गरे । त्यसपछि ओलीले एभरेष्ट होटलमा भेट्न प्रस्ताव गरे । र, अन्तिममा मेरियटमा भेट्ने सहमति जुट्यो ।

भेटका लागि चाँजोपाजो मिलाउन अर्थमन्त्री विष्णु पौडेल र आर्थिक सल्लाहकार मोती दुगड पुगेका थिए । अध्यक्ष ओली र नेता नेपालपछि होटल परिसरबाट बाहिरिएका दुगडले आफू बाइ द वे आइपुगेको बताए । उनले अघि भने, ‘दुई जना निस्किंदा खुशी मुद्रामा निस्किएको तपाईंले पनि हेर्नुभयो । संकेत राम्रै देखेको छु ।’

ओलीले कुनै प्रस्ताव राखेनन्

२३ फागुनको सर्वोच्चको फैसलाअनुसार पुनर्स्थापित भएको एमालेको ओली र नेपाल समूहका नेताहरुबीच २ चैतमा पार्टी कार्यालय धुम्बाराहीमा वार्ता भएको थियो । त्यो छलफलमा नेपाल समूहले २८ फागुनमा आफ्नो पक्षका नेताहरुलाई मात्र राखेर गरेको निर्णय खारेज गर्न गरेको आग्रह ओलीले अस्वीकार गरे ।

त्यसयता दुई समूहबीच संवाद भएको छैन ।

नेपाल समूहले देशभर समानान्तर कमिटी बनाइरहेको छ भने ओली पक्षले वरिष्ठ नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गरेको छ ।

नेपाल समूहका चार प्रदेशसभा सदस्यले कर्णालीमा फ्लोर क्रस गरेपछि मंगलबार मात्र २७ सांसदलाई स्पष्टीकरण सोधिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नआए १० गते बस्ने महाधिवेशन आयोजक समितिको बैठकले कारबाही गर्ने ओली समूहका नेताहरुको दाबी छ ।

त्यही आशंकामा नेपाल समूहका नेताहरु सर्वोच्च अदालत गएकै दिन दुई नेताबीच भेटवार्ता भएको छ । स्रोतहरुका अनुसार भेटमा अध्यक्ष ओलीले पार्टीमा आएको उतारचढावबारे लामो कुराकानी गरे । तर फेरि भेटेर कुरा गरौं भन्ने बाहेक अरु प्रस्ताव राखेनन् ।

बुधबारको भेटपछि पनि माधव नेपाल समूहका नेताहरुले भने अध्यक्ष ओलीले साँच्चिकै पार्टी एकता चाहेका हुन् भन्नेमा संशय व्यक्त गरेका छन् ।

एकातिर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य गरिरहेको छ । त्यसलाई रोक्न प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)सँग गरिरहेको वार्ता टुंगोमा पुगेको छैन । तर छिट्टै शुरु हुने संसद अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ ।

जसपाले साथ दिएकै अवस्थामा पनि पार्टीकै सांसदहरुले मत नदिए सरकारको नीति तथा कार्यक्रम र बजेट फेल हुने अवस्था आउने खतरा देखेर अध्यक्ष ओलीले आफूहरुलाई अलमल्याउन मात्र खोजेको हो कि भन्ने नेताहरुको आशंका छ ।

यद्यपि नेपाल समूहका नेताहरुसँग अनौपचारिक संवादमा रहेका ओली समूहका केही नेताहरुले भने पार्टी एकतामा जोड दिंदै आएका छन् ।

यो पनि पढ्नुहोस अध्यक्ष ओली र नेता नेपालबीचको भेटवार्ता सकियो यो पनि पढ्नुहोस एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment