Comments Add Comment

विदेशी शक्तिको आडमा संविधान र मूल्य मान्यता मिच्ने काम भयो : प्रचण्ड

९ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी शक्तिहरुको आडमा नेपालमा संविधान, कानून र मूल्य मान्यता मिच्ने काम भएको आरोप लगाएका छन् ।

१५० औं लेनिन जयन्ती तथा ७१ औं नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय पेरिडाँडामा बिहीबार आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट पार्टीमा आफूहरुले ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेको भए पनि एक तिहाइ लिएर बसेकाहरुले विदेशी शक्तिहरुको आडमा संविधान, कानून र सबै मूल्यमान्यता मिचेको आरोप लगाए ।

‘हामीले पार्टी एकता गर्दा पनि कम्युनिस्ट पार्टीको झण्डै ७० प्रतिशतलाई एक ठाउँमा कमाण्ड गरेकै थियौं । गलत प्रवृत्तिको नायकलाई हामीले गलहत्याएकै थियौं । निकालेकै थियौं पार्टीबाट वैधानिक ढङ्गले । आधिकारिक रुपमा कानुन सम्मत तरिकाले नै गलत प्रवृतिका खलनायकहरुलाई निकालेकै हो ।’ प्रचण्डले अगाडि थपे, ‘त्यहाँ हामी पराजित भएको होइन । पराजित उनीहरु भए, जल्ले प्रतिक्रान्तीको बाटो हिडे । जसको साथमा पार्टीको बहुमत थिएन । बहमुत मात्र होइन एक तिहाइ लिएर बसेकाहरु विदेशी शक्तिहरुको आडमा मात्रै उनीहरुले कानून मिच्ने, संविधान मिच्ने, सबै मूल्यमान्यता मिच्ने काम भएको छ ।’

उनले संसदीय दलको नेताबाट पनि अध्‍यक्ष केपी शर्मा ओलीलाई हटाएको स्मरण गरे । ‘हामीले आजको सिस्टमअन्तर्गत प्रतिनिधिसभामा बहुमत सदस्यहरुले हस्ताक्षर गरेर दलबाट पनि फालेकै हो । विलकुल वैधानिक र आधिकारिक रुपमा, कानुनी रुपमा’ प्रचण्डले थपे, ‘सबैले यो ध्यान दिन जरुरी छ । यो के भयो नेपालमा ? कल्ले गर्‍यो यो, बिचित्रको नौटङ्की कताबाट आयो ?’

शक्ति सन्तुलन आफूहरुको पक्षमा नभएले नेकपा विभाजन रोक्न नसकिएको अध्यक्ष प्रचण्डको पनि भनाइ छ ।

‘अहिले शक्ति सन्तुलन त्यति हाम्रो पक्षमा नभएको हुनाले विभाजन रोक्नै त सकिएन । तर, हामी पराजित भएको चाहिँ होइन ’ उनले भने ।

उनले नेकपा एकता गरेर गल्ती भएको थियो कि भन्ने नसोच्न आग्रह गरे । ‘गल्ती भएको थियो कि एकता गर्ने भनेर सोचियो भने त्यो चाहिँ गल्ती हुन्छ । हामीले एकता गरेर गल्ती गरेको होइन । विलकुल सही गरिएको थियो । अहिले शक्ति सन्तुल त्यति हाम्रो पक्षमा नभएको हुनाले विभाजन रोक्नै त सकिएन । तर, हामी पराजित भएको चाहिँ होइन,’ उनले भने ।

‘माओवादी कमजोर भएको छैन’

नेकपा माओवादी केन्द्र कमजोर नभएको पनि उनको जिकिर छ । ‘हामी कमजोर भएका चाहिँ छैनौं । माओवादी आन्दोलन, नेकपा माओवादी कमजोर भएको छैन् । मैले यो बीचमा सामान्य जनताको घर गाउँमा या कार्यकर्ताहरुको मनोभावना पनि बुझ्ने कोसिस गरिरहेका छौं । उहाँहरुको चाहना माओवादी पहिला जसरी नै आइदियोस् । प्रचण्ड पनि पहिलाकै जसरी आइदियोस् भन्ने भन्ने चाहना छ ।’

उनले अहिलेको परिस्थितिलाई अवसरका रुपमा लिनुपर्ने बताए । उनले भने, ‘अहिले हामी अलिकति स्ल्याकनेस आए जस्तो, अब के हुन्छ र खै भन्या जस्तो । फ्रान्सको पेरिस कम्युनपछि भनौं वा सोभियत संघको विघटनपछि भनौं यस्ता थुप्रै उपक्रम भए जस्तै अवस्था छ अहिले। तर, हामी फेरि के देख्छौं भने यो हाम्रो लागि एउटा ठूलो अवसर पनि हो । प्रतिक्रान्तिका विरुद्ध, प्रतिगमनकाविरुद्ध, अवसरवादका विरुद्ध लडेर राष्ट्र र जनताको कम्युनिस्ट आन्दोलनको रक्षा गर्ने यो राम्रो अवसर पनि हामीलाई प्राप्त छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment