Comments Add Comment

मुस्ताङ र घुन्सामा हिमपात

फाइल तस्वीर

९ वैशाख, मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका–१ का ७८ वर्षीय जीतबहादुर रसायलीले बुधबार साँझ पहिलो पटक वैशाखमा हिउँपरेको देखे । मुस्ताङमा मङ्सिरदेखि फागुनसम्म मात्रै हिमपात हुँदै आएको थियो ।

यो वर्ष लामो समय नपरेको हिउँ वैशाखको दास्रो साता पर्न शुरु भएको हो । उमेरले ८० पुग्‍नै लागेका जीतबहादुरजस्ता यहाँका ज्येष्ठ नागरिकले कहिलै वैशाखमा हिउँ परेको देखेका थिएनन् ।

अचानक वैशाखमा हिउँ परेपछि यहाँका नागरिक दङ्ग परेका छन् । हिमाल पारीको जिल्ला मुस्ताङमा बुधबार साँझदेखि हिमपात भएको छ । मङ्गलबार दिउँसोदेखि मुस्ताङका सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । ‘मौसम परिवर्तनको असर भन्छन्, जीवनभर नदेखेको देख्नु पर्‍यो ‘, रसायलीले भने ।

बेसिजनमा भइरहेको हिमपातले खेतीपातीका लागि खासै फाइदा नगर्ने स्थानीय किसान बताउँछन् । मुस्ताङका गाउँ हिउँले ढाकेकाले यहाँको पर्यटनमा भने सहयोग गर्ने रसायलीले बताए । अधिकांश भू–भाग हिउँले ढाकेकाले चिसो बढेको छ ।

हिउँले जमीनको सबै भूभाग छोपेको छ । दैनिक रूपमा पोखरा जोमसोम उडान भर्ने हवाईजहाज पनि आउन सकेका छैनन । हिमपातका कारण आजका सबै उडान रद्द हुनसक्ने नागरिक उड्डयान कार्यालय मुस्ताङका प्रमुख दीपक विकले बताए ।

हिउँले ढाकेकाले सडक हिलाम्मे भएको छ भने जिल्ला बाहिरबाट आउने सवारीसाधन निकै कम आवतजावत भएका छन् । मुस्ताङ आउने पर्यटकलाई केही असहज भएको होटल व्यवसायी बताउँछन् ।

बेमौसमी हिउँका कारण दैनिक रूपमा गर्ने कार्यमा सामान्य समस्या आएको छ भने मुक्तिनाथ दर्शन गर्न र कोरला नाकासम्म जाने पर्यटक तथा तीर्थालुलाई सास्ती भएको पत्रकार आदित्य रसायलीले बताउनुभयो ।

यसैबीच फुङ्लिङ–ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा आज बिहानैदेखि हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थित घुन्सामा हिमपात भएको हो । हिमपात भएपछि विद्यालयमा विद्यार्थी प्रभावित बन्न पुगेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताए ।

हिमपता भएपछि अत्याधिक चिसो मौसम हुने भएकाले कक्षा कोठामा बसेर पढ्न समस्या भएको शिक्षक शेर्पाले बताए । उनले भने, ‘आज बिहानदेखि नै हिउँ परिरहेको छ । विद्यालय बिदा गरौँ भने परीक्षा आइसक्यो, पढाउँनै पर्‍यो । पढाउँदानी हिमतापका कारणले मौसम एक दम चिसो भएको छ ।’

हिमपातले चौंरी साथै पशुपालकलाई पनि चिसोका कारणले समस्या भएको स्थानीयवासी पेमा शेर्पाले बताए । ताप्लेजुङमा बिहानदेखि नै वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment