Comments Add Comment

शान्त सहर ब्राइटनतिर बरालिँदा     

जनवरी १५, २०२० (कोभिड १९ को प्रारम्भिक काल)

स्थानीय समय अनुसार बिहानको ९ बजे । गए राति टर्कीको स्तानबुल एयरपोर्टमा १४ घन्टा लामो पट्यारलाग्दो पर्खाइले गर्दा आँखा राम्ररी खुलेको छैन । एकाबिहानै ओइरिरहेका संसारभरिका मान्छेको चापले ग्याटविक विमानस्थल व्यस्त छ । आँखा तन्काउदै परसम्म नियाल्छु । हालत नेपालकै हवाई अड्डाको जस्तो देख्छु । नागबेली लस्कर देखेर नतमस्तक बन्छु । के यो बेलायतकै एयरपोर्ट हो त ? मान्छेको भीड अनि कामको तालमेल नभएको पो हो कि ? निकै लामो लाइनमा उभिन्जेल गम खाइरहन्छु ।

बेलायतको नक्सा अनुसार दक्षिणपूर्वमा रहेको यो हवाई अड्डा मध्यलन्डनदेखि करिब ३० माइलको दूरीमा रहेको छ । धेरैले सपनाको गन्तव्य मान्ने मुलुकको जमिनमा मैले पहिलो पटक पाइला टेक्दै छु । मेरो मनमा पनि जुन उत्साह हुनुपर्ने हो तर त्यति भएन । सायद अनुमान गरे अनुसारको आकार नपाएर होला ।

प्रतिव्यक्ति आठ पाउन्डको टिकट बोकेर भाइ अजय र म रातभरिको चिसोले कठ्याङ्ग्रिएर भर्खर तंग्रिन खोज्दै गरेको सडकछेउको पेटीमा उभियौँ, ब्राइटन जाने बसका लागि ।

लगभग ३७ किलोमिटरको ब्राइटन बस चढाइ नै बेलायत यात्राको असली शुभारम्भ भो । बाहिरको मौसम मलिलो थियो । नाम मात्रको ब्राइट हो कि जस्तो पनि लाग्यो । त्यति उज्यालो देखिएन बाटोभरि बत्तिइरहँदा । ब्राइटन सामुद्रिक तटीय क्षेत्रमा रहेको बेलायतको दक्षिणी सुदूर सहर हो । करिब एक घन्टामै कलात्मक ब्राइटन सहर देखा प¥यो । ब्राइटन सँगसँगै हाम्रो मन पनि केही उज्यालियो ।

सुविधायुक्त बसबाट ओर्लनासाथ चिसो हावाको बेगले गहिरो गरी शरीरमा स्पर्श गर्न पुग्यो । बसघाट छेवै भएर जाने सडकमार्गले समुद्रको किनारा र सहरको सीमा छुट्ट्याएको देखियो । त्यही भएर पो मान्छे ठेल्ने हावा बत्तिएको रहेछ । आजको हाम्रो गन्तब्य ट्राभलज होटल नजिकै भएकाले १० मिनेटको पैदलमै पुगियो ।

सडकमा मान्छेहरु एकदमै पातलो देखिन्थे । सहर मध्यदिनमा पनि अझै ब्यँुझिनसकेजस्तो लाग्थ्यो । सायद फरक परिवेश र भिन्न मुलुकको अनुभव भएर होला मलाई त्यस्तो लागेको । मध्याह्नको ३ नबजी कोठामा छिर्न नपाउने अनि बिहान ११ बज्नु अगावै चेक आउट हुनुपर्ने बेकाइदाको नियम रहेछ । त्यसैले एकाध घन्टा लबीमै लपेटिनुपर्ने अवस्था रह्यो । यतिबेला अनिदो र थाकेको शरीरलाई त्यही पनि बिसाउने चौतारी बन्यो ।

अर्को नयाँ नियम के थाहा पाइयो भने पहिलो पटक आएको होटलको पाहुनालाई मात्र ३० मिनेटको वाइफाई सुविधा दिने रहेछ । त्यसपछि भने प्याकेजमा किन्नुपर्ने । मैले झलझली आफ्नो देश नेपाल सम्झिएँ । वाइफाईको मामलामा त नेपाल बेलायतभन्दा समेत धनी रहेछ ।

आधा घन्टाका लागि दिएको वाइफाईको सुविधा सकिइहाल्यो । ३ बज्न अझ धेरै मिनेट सुइले चक्र लाउन बाँकी नै छ । घुम्न आएको मान्छे घुरेर बस्ने कुरा पनि भएन । बरु बाहिर निस्केर चर्दा नै जाती ठान्यौँ । एउटा सिमकार्ड र केही खानेकुराको खोजीमा होटलबाट बाहिरियौँ । ब्राइटनलाई नियाल्दै बाटो नापिरहँदा के लाग्यो भने सहर बाहिर शान्त देखिए तापनि भित्रभित्रै चलायमान रहेछ । असली बजार त ढोका उघारेर भित्र छिरेपछि पो देखियो । गलिरहेको शरीरले त्यति डुल्ने मन गरेन । एउटा सबवेमा छिरेर लामो पाउरोटीभित्र खाँदेको अनेक जाति मगाएको पेट ठेलमठेल भयो । पाउन्ड त सस्तै लाग्ने तर नेपाली रुपियाँ हिसाब गर्न थाले रिँगटा चल्ने रहेछ । सरसर्ती नजिकका बजारलाई एक चक्कर लगाएर गन्तव्यको गुँडमै फर्कियौँ ।

साँघुरो कोठा बेलायतको विशेषता रहेछ । अलगअलग राखिएका दुइटा बेडले नै कोठा झन्डै भरिएको अवस्था देखियो । खानेपानी माग्दा बाथरुममा रहेको धारामा थापेर खान आदेश दिइन् लजका परिचारिकाले । एकछिन त दाजुभाइ अकमकियौँ । नेपाली मन मात्र यसै मुस्कुरायो तत्क्षण । वास्तवमा यहाँको धाराको पानी पिउन लायककै हुने रहेछ । केहीछिनको थकान मेटानपछि ब्राइटनको बिचतिर बरालिन मन भएर बाहिर निस्कियौँ । नाडीमा बाँधेको घडी हेर्दा नेपाली समय रातको ११ बजिसकेछ ।

समुद्रको छालसँगै मच्चिएर जताबाट तुफान फ्याँकिएको थियो, उतै घाम अस्ताएजस्तो देखिन्थ्यो । अचम्म के लाग्यो भने हामी बेलैमा ब्राइटन छिर्दै गर्दा पनि त्यो ढल्के घाम त्यतै थियो । तीन घन्टा भइसक्दा पनि घामको दिशा बदलिएको देखिएन । फरक भूगोलले पस्केको भिन्न परिणाम थियो सायद ।

सडकमार्गबाट फुत्त झर्नासाथ रेडस्टोनधारी बगरले भरिएको बिचमा तैरिन पुगिने । नीलो समुद्रको सेतो छाल उग्र रुपमा उम्लिरहेको थियो । केही मानिसहरु सो छालसँग जिस्किँदै थिए । चिसो सिरेटोको प्रवाह नगरी हामी पनि त्यसमा सामेल भयौँ । बगरको बीचमा कलात्मक पेन्टिङका पिलरहरु हेर्न लायक गरी ठड्याइएका थिए । ब्राइटनको बिच यसै पनि प्रसिद्ध रहेछ । हरेक सप्ताहन्तमा लन्डनलगायतका छिमेकी सहरबाट हुलका हुल पर्यटक ओइरिँदा रहेछन् ।

ब्राइटन आफैँमा लामो इतिहास बोकेको सहर भएकाले सडकहरु त्यति चौडा थिएनन् । जति थिए, उति निकै व्यवस्थित लाग्यो । लगभग २ लाख ३० हजार जनसंख्याको बसोबास रहेको यो शान्त सहर पर्यटनका लागि चर्चित छ । विविध समुदायको बसोबास भएकाले यहाँ कला, संस्कृति र संगीतको राम्रो संयोजन रहेको देखिन्छ । पुराना पर्खाल अनि भित्ताहरु थरीथरीका कलाले भरिएको थियो । टेलिफोनका बुथदेखि सडक छेउमा राखिएका फोहोर भण्डारण गर्ने भाँडाहरु सबै रंगीचंगी थिए । कुनै न कुनै रुपमा रंगीचंगी कलाले सिंगारिएको । जसले गर्दा सहर सफामात्र हैन, सुन्दर पनि देखिन्थ्यो । ब्राइटनले अर्को पगरी पनि गुथेको रहेछ, समग्र बेलायती समलिंगीको राजधानी ।

यहाँका ऐतिहासिक पुराना शाही मठ मण्डपहरु रमणीय छन् । सानो सहर भएकाले पैदलै पनि धेरै ठाउँको भ्रमण गर्न सकिन्छ । सुव्यवस्थित र भव्य कलाकृतिका संग्रहालय । बारसहितको अग्लो न अग्लो मुभिङ टावर । ब्राइटन घाट । सन् १८८८ मा बनेको सहरको मध्यभागमा रहेको कलात्मक मठको जुब्ली क्लक टावर । भालाजस्तो चुच्चो देखिने सन् १८२८ मा निर्माण गरिएको सेन्ट पिटर्स चर्च । यस्ता पुराना गहनाहरुले ब्राइटनलाई सौहार्द र सुन्दर बनाएको देखिन्छ । यी सबैलाई मैले आफ्नो क्यामरामा कैद गर्ने मौका चुकाइनँ ।

बेलायतको दक्षिणी पुछारको ब्राइटनदेखि अझ समुद्रको किनारै किनार पूर्वतिर अवस्थित अर्को विश्वविख्यात स्थान सेभेन सिस्टर क्लिफ रहेको छ । पहिलो पटक दुईतले बसको यात्रा मेरा लागि रोमाञ्चक रहयो । पाँच पाउन्डको टिकट लिएपछि फर्कंदा पनि त्यसैले काम गर्ने काइदाको तरिका लाग्यो । एकाध घन्टाको बाल्कोनी बस बसाइबाट दूरदराजका दृश्यहरु नियाल्नुको मजा मगजले गम्दै थियो ।

गाउँ हो कि सहर, छुट्ट्याउन गाह्रो पथ्र्याे । एकनासे घरहरु । सफा सडक । हरियो चउर र बगैँचा । यदाकदा देखिने अनुशासित भएर हिँडिरहेका मानिसहरु । यस्तो लाग्थ्यो, मानिस होइन स्वचालित यन्त्र चलिरहेको छ । हरेक छिमेक र टोल हुँदै रोक्दै जानुपर्ने नियमले समय केही बढी लागे पनि हाम्रा लागि थप जानकारी मिल्ने सुअवसर समेत बनेको थियो । बसको माथिल्लो तलामा बसेर साइड सिनको अवलोकन गर्दै जानु, त्यो पनि एउटा भिन्न भूगोलमा । यी सब मगजको मेमोरीमा हमेसा बास बस्नेमा शंकै थिएन ।

साउथ डाउन नेसनल पार्क विभिन्न खण्डमा गरी १ सय ४० किलोमिटर क्षेत्रमा फैलिएको छ ।  मैदानी भूभागको बीचबीचमा बिना सुसाहट नागबेली बगिरहेका खोलाहरु । खोलाको दायाँबायाँ किनाराभरि सेताम्मे छरिएका पानीहाँसहरु । अन्तरकुन्तरसम्म फैलिएका हरियाली घाँसे मैदान । त्यसमाथि बेफिक्री चरिरहेका भेँडाका बथानहरु । यी सबलाई एकैसाथ नयनले न्याय गर्न हम्मेहम्मे पर्छ । मुख्य सडकदेखि सहायकमार्गका केही हिलाम्य ग्राबेल हुँदै जमिनको पुछारमा पर्ने सेभेन सिस्टर भीरसम्म पुग्न करीब तीन किलोमिटरको पैदलयात्रा तय गर्नुपर्ने हुन्छ ।

यो एउटा अनौठो प्राकृतिक सेतो चकको भीर हो । सात वटा चुचुरा लहरै मिलेर बनेको यस भीरमा धेरै देशी विदेशी सिनेमाका दृश्यहरु छायांकन भएको पाइन्छ । यो भीरलाई एकोहोरो रुपमा सुदूर दक्षिणतर्फबाट सामुद्रिक छालले हिर्काइरहेको देख्न सकिन्छ । यस्तो देख्दा ताजुब लाग्छ, कतै यो मानव निर्मित कृत्रिम धरोहर त होइन ? तर विलकुलै होइन । यसको इतिहास शताब्दियौँ लामो रहेछ । ककमेरे नदीको दोभान र भीरको माथिल्लो भागमा दुई वटा कटेज रहेका छन् । सन् १९०० मा बनेका ती कटेजबाट त्यो समयमा लन्डनदेखि पेरिसका लागि टेलिग्राफ हुने गथ्र्याे । तर हाल भने बन्द रहेछ । संसारकै यो एउटा प्रतिष्ठित परिदृश्य जुन निरन्तर झरिरहन्छ । र पनि उस्तै छ । त्यसैले यस भीरको नजिक जानुहुँदैन ।

लगभग ३ सय ५० फिट अग्लो यस भीरलाई फ्रान्सको उत्तरी भूभागबाट पनि नियाल्न सकिँदो रहेछ । कुनै समय एक ओलम्पियन गोल्ड मेडलिस्ट महिलाले बेलायत र फ्रान्सबीचको यस समुद्रको ३४ किलोमिटरको दूरी पौडेर पार गरेकी थिइन् । अनकन्टार कुनामा रहेको यस स्थानमा मानिसहरु धेरै बेर बस्नुहुँदैन भन्ने पनि सुनियो । समय अनुकूल नरहेको र ढल्किँदो घामले गर्दा होला, एकाध पर्यटकमात्र देखिन्थे । हामीसँग निजी सवारी साधन नभएकाले जतिसक्दो चाँडो प्रमुख मार्गमा निस्केर ब्राइटन फर्कने बस पक्रनुपर्ने थियो ।

फर्कंदा सन्ध्यापख बाटामा ठडिएका ल्याम्पपोस्टहरुको झिलीमिली सिवाय परको दृश्य खासै देख्न सकिएन । खेतबारीमा काम गरेर फर्किएका हिलाम्मे ब्राइटनबासीहरु बसभित्र उक्लन्थे । बसका अधिकांश यात्रु त्यस्तै देखिए ।

बस आफ्नै अनुशासित रफ्तारमा कुदिरहेको थियो । उता ब्राइटनदेखि हामीलाई पर्खिबसेका इयान दम्पती घरीघरी मोबाइल सन्देशमार्फत् कति नजिक आइपुग्यौ भनी जानकारी लिइरहेका थिए । उनीहरुकै निर्देशन अनुसारको स्टेसनमा ओर्लियौँ । सडकको पारिपट्टि उभिएका इयानको पछि लाग्दै एउटा भव्य बारभित्र प्रवेश ग¥यौँ । झ्यालछेउको टेबलमा पर्खिबसेका इयानपत्नी लिन्डाले खुसीका साथ हाम्रो स्वागत गरिन् । यी दम्पतीले केही महिना अगाडिमात्र नेपाल भ्रमण गरेका थिए ।

समुुुद्रको किनारामाथिको यस ठाउँबाट कर्नेसका मनोरम दृश्य मनमोहक देखिन्थ्यो । झन्डै १० किलोमिटर पर पानीमाथि रहेको पावर हाउसको प्लान्ट कुनै अर्कै टापु हो कि जस्तो लाग्थ्यो । त्यो निकै पुरानो हाइड्रोपावर रहेछ । जहाँदेखि निस्किएको प्रकाशको किरणले हामी भएको ठाउँसम्म चुमेको थियो । जगमा भरिएका चिसो बियरको चुस्कीको साथमा अनवरत गफहरु चलिरह्यो । केही क्षणको भलाकुसारीपश्चात् नजिकै रहेको घरैमा गएर गफिने योजनाका साथ लाग्यौँ ।

मिसेस लिन्डा घर पुग्दै गर्दा इयानसँग मिलेर हामीले बाटैमा रहेको टेकवेबाट पिज्जासहित केही खानेकुरा लियौँ । करिब दुई सय वर्ष पुरानो शाही ठाँटको तीन तले घरभित्र हुल्दै गर्दा इयानले गर्वका साथ त्यसको वर्णन गरे । मात्र दुई जना बूढाबूढी बस्ने उक्त घर केही साँघुरो भए पनि सफासँग सजाइएका थिए । कुनै स्थानीयको घरभित्र पसेर प्रत्यक्ष अनुभव गरेको त्यो मेरा लागि बिलकुल नौलो थियो ।

इयान दम्पतीले जानेबुझेका जति ब्राइटन र आफ्नो छिमेकका बारेमा हामीलाई सरसर्ती जानकारी दिए । उनका घरभित्रको सजावट देख्दा एक प्रकारको संग्रहालयजस्तो देखिन्थ्यो । विभिन्न देशबाट ल्याइएका पुराना पुरातात्विक सामानहरु चारैतिर सजाएर राखेका थिए । दुवै जनाका अलग अलग पुस्तकालय र अध्ययन कक्ष देख्दा म नतमस्तक बन्न पुगेँ । मैले पनि आफ्नो पुस्तक अंग्रेजीमा अनुवाद हुँदै छ भन्ने जानकारी दिँदा उनीहरु खुसी देखिए । र, अंग्रेजीमा प्रकाशित हुनासाथ मलाई खबर गर्नू भनेर हौसला दिए ।

इयान चाल्र्स स्वयं लेखक समेत रहेछन् । हवाई विशेषज्ञ इयानले त्यसै सम्बन्धी आफ्नो पुस्तक ‘टेकन फ्लाइट’ मा हस्ताक्षर गरेर मलाई उपहार दिए । यो मेरा लागि एउटा सरप्राइज बन्न पुग्यो । घरभित्रको डाइनिङमा पिज्जासँग पेग लिँदै थियौँ । लिन्डालाई लन्डनबाट फोन आयो । उनी निकै खुसी देखिए । अस्पतालबाट छोराको फोन आएको रहेछ । बुहारीले भर्खरैमात्र छोरा जन्माइछन् । हामीले इयान दम्पतीलाई बधाई दियौँ । दुवै जनामा देखिएको खुसीको रौनक हेर्न लायकको थियो ।

एकाएक माहोल थप बदलियो । नाति पाएको उपलक्ष्यमा इयानले अर्को दुर्लभ सिंगल माल्टको ल्याफरोइज ह्विस्की निकाले र एकआपसमा टोस्ट ग¥यौँ । त्यो १५ वर्ष पुरानो रहेछ । उनीहरु हामीलाई भन्दैथिए, ‘हामी भाग्यमानी रहेछौँ । यस्तो खुसीको क्षण तिमीहरुसँग सेयर गर्न पायौँ ।’

समयको सीमाबीच भएको भेटमा हामीले निकै जानकारी र खुसी साटासाट ग¥यौँ । राति अबेरसम्म चलेको रोमाञ्चक पललाई हामीले जसरी पनि बिट मार्नैपर्ने थियो । फेरिफेरि भेट्ने वाचाका साथ अलग्गिदै गर्दा दुई–तीनपटक हृदयदेखिन् धन्यवाद भन्नु सिवाय हामीसँग अरु केही थिएन । मापसे गरेरै सही, इयान चाल्र्स हामीलाई आफ्नो छोटो आउडी कारमा १० मिनेटको दूरीमा रहेको ट्रेन स्टेसनसम्म पु¥याएर घर फर्किए । हामी उनीसँग वास्तवमै आभारी भयौँ । त्यो हाम्रा लागि सदैव सम्झिरहने क्षण बन्न पुग्यो ।

त्यसपछि हामी निकै पुरानो दरबारजस्तो देखिने स्टेसनभित्र छिर्दै गर्दा केही अलमलियौँ पनि । तर फटाक टिकट लिएर ट्रेनभित्र चढी लन्डनका लागि रवाना भयौँ । जहाँ लिड्सदेखि आएर मित्र ज्याक रायन हामीलाई पर्खिबसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment