Comments Add Comment

कोभिड महामारी : वर्षदिनमै खुले २६ स्यानिटाइजर उद्योग

१२ वैशाख, काठमाडौं । आजभन्दा करिब १४ महिना अघि कोभिड १९ को पहिलो लहरले विश्वलाई आक्रान्त बनाउँदै थियो । कोराना संक्रमणको महामारीबाट जोगिन के गर्ने र कसो गर्ने भन्ने अन्यौल थियो । यसबाट बच्ने कयौं उपायबारे चर्चा र बहस सुरु भए ।

प्रारम्भिक रूपमा कोभिडबाट बच्न विश्व स्वास्थ्य संगठनले सुरक्षाको न्युनतम् मापदण्ड जारी गर्‍यो । ती उपायहरूमध्ये एक थियो ‘गुणस्तरीय ह्याण्ड स्यानिटाइजर’ को प्रयोग । चौतर्फी कोरोनाका बारेका चिन्ता प्रकट हुँदै गर्दा नेपालले पनि सतर्कताका उपायहरू अपनाउँदै थियो । बजारमा स्यानिटाइजरको कालोबजारी सुरु भयो ।

ठीक त्यही बेला सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले स्यानिटाइजरको व्यवसायिक उत्पादन सुरु गर्‍यो । यसअघि अनुभव नै नभएको कम्पनीले पहिलोपटक २०७७ चैत २ गते एक सय एमएलको बोत्तल र खुल्ला रुपमा जर्किनमा किन्न सकिने गरी स्यानिटाइजर बजारमा ल्यायो ।

उत्पादन प्रक्रिया धेरै कठिन नभएको र बजारको मागलाई पनि सम्बोधन हुने भएपछि कम्पनी अघि बढेको लिमिटेडका सूचना अधिकारी टिकाराम अर्याल बताउँछन् ।

स्यानिटाइजरको नयाँ बजार सृजनासँगै अनाधिकृत बिक्री र प्रयोग पनि बढेको औषधि व्यवस्था विभागको ठम्याइ छ । नेपालमा कुन कुन मुलुकबाट कति स्यानिटाइजर भित्रिन्छ भन्ने एकीकृत विवरण सरकारी निकायसँग छैन

‘एक दिनमा दुई ब्याचमा तीन हजार लिटर स्यानिटाइजर कम्पनीले उत्पादन गर्छ । एक वर्षमा तीन करोड भन्दा बढीको ह्याण्ड स्यानिटाइजर बिक्री गर्न कम्पनी सफल भयो’, सूचना अधिकारी अर्यालले भने ।कोभिड माहामारीको पहिलो लहरदेखि यो वैशाखसम्म आइपुग्दा कम्पनीले तीन करोड रुपैयाँभन्दा बढीको स्यानिटाइजर बिक्री गरेको अर्याल बताउँछन् ।

कम्पनीले बजारमा बिक्री हुने स्यानिटाइजरको कम्तीमा पाँचौं हिस्सा ओगट्ने पनि उनको दाबी छ । कम्पनीका अनुसार देशभरका सरकारी कार्यालयमा यसको खपत उच्च छ ।  सरकारी अस्पताल, स्वास्थ्य सेवा विभाग, प्रदेश सरकार र जिल्ला अस्पतालमा कुल उत्पादनको ७० प्रतिशत ह्याण्ड स्यानिटाइजर लिमिटेडकै जाने गरेको सूचनामा अधिकारी अर्यालले बताए ।

महामारीले सिर्जेको बजार 

पहिलो चरणको कोभिड महामारी अघि नेपालमा स्यानिटाइजरको व्यवसायिक बजार भएको कुनै अभिलेख नदेखिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

कोभिडको पहिलो माहामारीको बेला विभागको नेतृत्व गरेका तत्कालिन महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार केही स्वास्थ्यकर्मीले व्यक्तिगत रूपमा स्यानिटाइजर प्रयोग गरे पनि यसको बजार कोभिड अघि नेपालमा नभएको बताउँछन् ।

कोभिड सुरक्षाको प्राथमिक वस्तुको रूपमा स्यानिटाइजर देखिएपछि पहिलोपटक आफनो कार्यकालमा नेपालमा ह्याण्ड स्यानिटाइजर प्रयोग र उत्पादनको मापदण्ड तोकिएको ढकालले बताए ।

‘कोभिड अघि स्यानिटाइजरको बजार नै विकास भएको थिएन, किनभने हामीले यसलाई नियमन गरेको मेरो जानकारीमा छैन । आवश्यकताले नै नयाँ सृजना गर्ने हो । हामीले पहिलो पटक यसको मापदण्ड तोकेर उद्योग खुल्ने बाटो बनाइदियौं’, ढकालले भने ।

एक वर्षमा २६ उद्योग

गत वर्षको वैशाखदेखि हालसम्म देशभर स्यानिटाइजर उद्योग खोल्नका लागि २६ वटा स्वदेशी उद्योगीले अनुमति लिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

पूर्ण सरकारी स्वमित्वको नेपाल औषधि लिमिटेडसहितका २६ कम्पनीले स्यानिटाइर उत्पादनका लागि अनुमति लिएका छन् । तींमध्ये धेरै उद्योगले स्यानिटाइजर उत्पादन गरेर बजारमा पठाइरहेको विभागका सूचना अधिकारी सन्तोष केसीले अनलाइनखबरलाई बताए ।

विभागले स्यानिटाइजरको गुणस्तर मापदण्ड तोकेपछि नेपालमा उत्पादन पनि बढेको र आयात हुनेक्रम पनि उकासिएको केसीको भनाइ छ ।

यकिन विवरण नभए पनि झण्डै शून्यको अवस्थामा रहेको नेपालमा स्यानिटाइजर उत्पादन महामारीकै कारण जुर्मुराएको उनको भनाइ छ ।

‘हामीले स्वादेशीसहित विदेशी स्यानिटाइजरलाई पनि अहिले नियमन गरिरहेका छौं, अझै नयाँ उद्योगहरू पनि आउन चाहेका छन्’, सूचना अधिकारी केसीले भने ।

यस्तै न्युन गुणस्तरका स्यानिटाइजर उत्पादन गरेर बजारमा पठाएको आरोपमा स्वदेशी तथा विदेशी गरेर २६ कम्पनीको उत्पादन प्रयोगमा रोक लगाएको पनि विभागले जनाएको छ ।

कम्पनी सूचिकृत हुनुपर्ने

ह्याण्ड स्यानिटाइजरको नयाँ बजार सृजनासँगै अनाधिकृत बिक्री र प्रयोग पनि बढेको विभागको ठम्याइ छ । नेपालमा कुन–कुन मुलुकबाट कति स्यानिटाइजर भित्रिन्छ भन्ने एकीकृत विवरण सरकारी निकायसँग छैन ।

नेपालमा स्यानिटाइजर प्रशस्तै भित्रिए पनि भन्सारको विवरणमा भने उक्त वस्तुको आयात देखिन्न । तर बजारमा विभिन्न ब्राण्ड र कम्पनीका स्यानिटाइजर भेटिएपछि नियमन गर्न खोजेको औषधि व्यवस्था विभागले जनाएको छ ।

नेपालमा स्यानिटाइजर बिक्री गर्न चाहने विदेशी कम्पनी तथा आयातकर्ताले विभागमा सूचिकृत गरेर मात्रै उत्पादन नेपाल ल्याउन पाउने व्यवस्था गरिएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए ।

विभागमा सूचिकृत हुन गरेको आह्वानअनुसार हालसम्म पाँचवटा कम्पनीले मात्रै आवेदन दिएको र आवेदन दिने समय अझै रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment