Comments Add Comment

धरहरा फगत अहम् हो !

कवि जीवन आचार्यको एउटा असरदार कविता छ– ‘आँधी’ शीर्षकको । कविताले भन्छ— आँधी आउनैपर्छ । किनकि आँधी प्रकृतिको सबैभन्दा ठूलो जवाफ हो अग्ला–अग्ला धराहरालाई !

४० को दशकमा लेखिएको यो कविताले मेरो मुटुमा बेस्सरी परकम्पन पैदा गरिदियो, जब प्रधानमन्त्री ओली तामझामसाथ तेस्रो पटक नवीकरण गरिएको धरहरालाई ‘इफेल टावर’को संज्ञा दिंदै तामसिक उल्लास मनाइरहेका थिए ।

यो तमासा दक्ष प्रजापतिको यज्ञ झैं क्षणभंगुर छ भन्ने हेक्कै नराखी यो सुकिला झुन्ड सुन्धारामा यज्ञ गर्न मग्न थियो । विजयोत्सव मनाइरहेको थियो । कवि आचार्यको तर्क छ, धरहरा जति अग्लो भए पनि यसले जमीनलाई जित्न सक्दैन । यसर्थ कि एक दिन यसले पनि जमीन हुनु नै छ ।

निर्भीकजंग रायमाझी

आँधी आउँदा जमीनमा भएकाहरूलाई रत्तिभर डर हुँदैन । डर त आफ्नो जग बिर्सेर खडा भएका धरहराहरूलाई छ । फेरि प्रकृतिको सत्य यो छ कि यहाँ बारम्बार आँधी आइरहन्छ ।

भूकम्पको आँधी, पहिरोको आँधी, चट्याङ, वर्षा, उल्का र प्रलयको आँधी !

यो आँधीले जमीन नाशिएर जीवन सकिएको इतिहास छैन । सकिएका छन् त केवल अहम्ले चुलिएका धरहराहरू । धूलिसात् भएका छन्, मान्छेले बनाएका इमारतहरू !

कविताको भावुकताभन्दा अलि पर जाऊँ । इतिहासको सत्य हेर्ने हो भने पनि विश्वका ठूल्ठूला साम्राज्य सखाप भएका दृष्टान्त छन् । कुनै समयको मेसोपोटामिया र त्यहाँ आसपासको बेबेलोन शहरको इमारत अहिले कहाँ गयो ?

अग्ला–अग्ला पहाडी टाकुरामाथि बनेको माच्चुपिचु शहर पनि अहिले ढुंगो–माटो भएर बसिरहेको छ । ठूलो घरको आँगनजस्तो बर्लिन कुनै समय पर्खालले बधशालाको हाड–मासुजस्तो छुट्टिएर बसेको थियो ।

यसो त, पूर्वीय दर्शनले पनि जति अग्लिन्छ उति नै खस्ने सम्भावना रहने बताएको छ । ‘चरममा पुग्नेहरू एकदिन अवतरणमा जानै पर्छ’ भन्ने सत्य शास्त्रले कहेको छ । ‘तेस्रो आयाम’को सिद्धान्तले गहिराइलाई पनि उँचाइ मानेको छ । अर्थात् उँचाइले मात्र वस्तुको सम्पूर्णता मापन हुँदैन ।

तैपनि शासकहरू बिर्सिन्छन् यी सबै सत्य । बिर्सिन्छन्, नीतिका कुरा । बिर्सिन्छन्, संसारको अनित्यपन ।

अनि विस्मृतिको गर्तमा डुब्न लाग्दा पनि उनीहरू धरहरा बनाइरहन्छन् । काठमाडौं सुन्धाराको धरहरा त केवल एउटा प्रतीक हो । देशैभरि बनाइएका भ्यू–टावर, बागबजारमा बन्न लागेको टावर पनि धरहरा नै हो ।

सिमेन्ट र छडका यी धरहरा त हामीले खुलमखुल्ला देख्न सक्यौं । तीन करोड नेपालीले मुट्ठी हानेरै यो धरहरा भत्काउन सकौंला । तर कुनै एक सन्की शासकको अहम्को धरहरा हामी भत्काउन सक्दैनौं ।

काठमाडौं सुन्धाराको धरहरा त केवल एउटा प्रतीक हो । देशैभरि बनाइएका भ्यू–टावर, बागबजारमा बन्न लागेको टावर पनि धरहरा नै हो ।

ऊ आफ्नो छातीमा मात्र यस्ता धरहरा खडा गरेर बसेको छैन । आसेपासे र अमूक कार्यकर्ताको छातीमा हजारौं धरहरा बसाएर ऊ खडा छ । म र मेरो पुस्तालाई त्यो धरहराले फगत शासनयोग्य रैती सम्झन्छ । दास, गुलाम, चाकर सम्झिन्छ ।

उचाइमा बसेर ऊ बेपर्वाह थुक्छ । बार्दलीमा बस्छ, शंख फुक्छ । आदेश दिन्छ, तामेली तोक्छ ।

तर म सोच्छु, प्रकृतिको विशाल खण्डमा मेरो पनि त एउटा सुन्दर देश छ । जहाँ छन् पृथ्वीको शिरको ताज जस्ता हिउँचुलीहरू । गर्वले ठडिएका हरिया पहाड, पर्वतहरू । आमाको काखजस्ता जीवनदायी तराईका फाँटहरू ।

यही नै हो मेरो देश । यही माटो, पानी यहाँका मानिसहरू नै हो देश । मान्छे नै देश हो भन्ने कुरा मैले बुझेको छु ।

मेरो देशबाट संसार हेर्न मन लागे एउटा पर्वतमालामा पाइला चाले देखिन्छ । यही पर्वतमा पाखुरी बजाएर जीवन धानेका पुर्खाले सिंचेको उपत्यका र फाँटहरूमा धर्ती हराभरा भेटिन्छ ।

मेरो देश यही हो । यहाँका आदिवासीले भोगचलन गरेको भूमि मेरो आधार हो । जग हो ।

आज कंक्रिटको धरहराले नेपालका पर्वतमालाको धज्जी उडाएको छ । आकाश छुने हिउँचुलीहरूको इमानमाथि बुच्चे धरहराले प्रहार गरेको छ । समग्र नेपाली जीवनमाथि धरहराले धावा बोलेको छ ।

अँजुली थापेको हत्केलाजस्तो यो काठमाडौं उपत्यकामा कुनै बेला विशाल टुँडिखेल थियो । चौतारा, धारा, पाटी–पौवा बगैंचा थियो । त्यही विशाल जनताको भूमिमा भीमसेन थापाले सर्वप्रथम धरहरा खडा गरे । मारकाटको बलले आर्जेको धरहरा त भूकम्प नआउँदासम्म जोगियो तर थापा दाइ जोगिएनन् । जेलमा आफैं सेरिएर मर्नुपर्‍यो ।

अहम्को एकदिन हार हुन्छ भन्ने कुरा भीमसेन थापाबाट सत्य साबित भइदियो । यता पृथ्वीनारायण शाहले अखण्ड मुलुक बनाउने नाममा कब्जा गरेको सत्ता २५० वर्षमै धूलिसात् भयो । उनले पनि नौतले दरबार, नुवाकोटको टाकुरा दरबार खडा गरेर दुनियाँदार भन्दा माथि बस्न खोजेका थिए । उनको वंशवृक्षले त्यही शासन दोहोर्‍याउँदा हामीले संघर्ष गरेर जनताको शासन ल्याउन जीवन आहुति गर्‍यौं ।

जो उचाइसँग खेल्छ उसले जमीनसँग हार्दोरहेछ । जसले जमीनलाई जित्छु भनेर घमण्ड गर्छ त्यो फेरि माटोमै मिल्नुपर्दोरहेछ । इतिहास यही भन्छ ।

हो, आज धरहराको शिरमा तिमी छौं म भुइँमा छु । तिमी काठमाडौंको गगनचुम्बी भवनमा वार्ता गर्छौ, हामी खाडीमा खाल्डो खनेर जीवन निर्वाह गरिरहेका छौं । तिमी टुँडिखेलमा बुट बजारेर गणतन्त्र दिवस मनाउछौ, हामी दुई छाकका लागि मलेशियामा पाखुरा बजार्छौं ।

तर हेक्का रहोस्, चित्र कोर्नेले शिरबाट धरहरा बनाए पनि चढ्नेले फेदबाटै चुढ्नुपर्छ । हिउँ थुप्रिएर सगरमाथा जति चुलिए पनि चढ्नेले नाम्चे बजारदेखि नै उकालो चढ्नुपर्छ । फलामका साङ्ला जति नै बलिया बनाऔं एकदिन खियाले आफैं सकिन्छ । बज्रले बनेका इमारतहरू घनको एकै प्रहारमा धूलो हुन्छन् ।

यो कुरा म र मेरो पुस्ताले बुझेको छ । इतिहासको लामो कालक्रमको फेहरिस्त हिसाब गरेर बसेको छ । आफ्नो स्वतन्त्रता रक्षार्थ यो पुस्ता जस्तोसुकै संघर्ष गर्न तयार छ ।

यसर्थ मेरो पुस्ताले आज निर्धक्क भन्न सक्छ– धरहरा फगत अहम् हो ! अहम् नै रहिरहनेछ ।

र अहम्‌को नियति हामीले प्रष्ट बुझिसकेका छौं…।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment