Comments Add Comment

मनमोहन अधिकारीलाई मैले यसरी चिनें

पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीसँग ईश्वर पोखरेल ।

सर्वप्रथम २०२२/२३ सालतिर मैले मनमोहन अधिकारीको नाम ‘कम्युनिष्ट नेता’ भनेर त्यसबेलाका मानिसले चर्चा गरेको सुनेको हुँ । त्यसताका उहाँ जेलमा हुनुहुन्थ्यो, राजा महेन्द्रको प्रत्यक्ष शासन अन्तर्गत निरङ्कुश तथा निर्दलीय पञ्चायती शासनले देशलाई कज्याएको थियो ।

म त्यसबेला स्कूलको प्रारम्भिक कक्षामा पढ्दै गरेको फुच्चे विद्यार्थी मात्र थिएँ । २०२४ को शुरुमा म झापा चन्द्रगढीमा बस्ने मेरो माहिला दाइकोमा जाँदा मनमोहन अधिकारीका बारेमा अलिक ज्यादा कुरा थाहा पाएँ । त्यसबेला उहाँ ‘ठूलै मान्छे हुनुहुँदोरहेछ’ भन्ने मलाई पर्‍यो ।

त्यसबेला उहाँका सक्रिय कार्यकर्तामध्ये केहीका कुरा सुन्दा नजानिंदो किसिमले म केही प्रभावित पनि बनेछु । थोरै दिनको झापा बसाइमा सुनेका र सुनाइएका केही कुराबाट मैले आफूलाई कम्युनिष्ट नेता मनमोहन अधिकारी समर्थक कार्यकर्ता ठान्न थालिसकेको थिएँ । प्रगतिशील पत्रिकामा छापिएका केही रचना पढ्दै जाँदा मलाई राम्रो लाग्न थालिसकेको थियो ।

त्यसको केही दिनपछि पढ्दै गरेको ठाउँ, जनकपुर आएपछि ममा कम्युनिष्ट विचारबारे उत्सुकता झन् बढेर गएको थियो । त्यसबेला जनकपुरका चर्चित कम्युनिष्ट भनेर सबैले लेखनाथ शर्मालाई चिन्दथे । उहाँ त्यसबेला प्रगतिशील साप्ताहिक ‘नयाँ पाइलो’ निकाल्नुहुन्थ्यो । जनकपुर आएर म उहाँको सम्पर्कमा जान थालें ।

यसै क्रममा उहाँले मनमोहन अधिकारीबारे थप केही कुराहरू सुनाउनुभयो । पछि मैले थाहा पाएँ– मनमोहन अधिकारीले जेलबाट छुटेपछि गठन गर्नुभएको नेपाल कम्युनिष्ट पार्टी (पूर्व कोशी प्रान्तीय कमिटी) को एउटा जिम्मेवार कार्यकर्ता हुनुहुँदोरहेछ– लेखनाथ शर्मा । सुस्ता काण्डको विरोधमा जनकपुरमा निकालिएको जुलूसको स्थानीय पहलकर्ता र योजनाकार लेखनाथ शर्मा नै हुनुहुन्थ्यो ।

म आफ्ना केही दौंतरीहरूसित त्यो जुलूसको पछिपछि लागेको थिएँ । त्यसबेला मैले पहिलोपल्ट टियर ग्याँसको पिरो धुवाँ र पुलिसको एक दुई लाठी खाएको थिएँ । लेखनाथ शर्मालाई सरकारले त्यसबेला गिरफ्तार गरेर जेलमा हाल्यो ।

२०२७ मा मैले एसएलसी दिने बेलासम्म कम्युनिष्ट विचार सम्बन्धमा सामान्य जानकारी राख्न थालिसकेको थिएँ । तिनै कुराकै आधारमा बढिरहेको मेरो राजनीतिक सक्रियताका कारण तीनपटक गिरफ्तार भइसकेको थिएँ । त्यसबेला स्थानीय कांग्रेसीहरू हामीलाई ओल्चिएर ‘मनमोहनका चेलाहरू’ भनेर गाली समेत गर्थे ।

एसएलसी पास गर्नासाथ म विराटनगर पढ्न गएँ र त्यहाँ मैले कम्युनिष्टहरूको अत्यन्त प्रभाव रहेको पाएँ । पछि म जनकपुर क्याम्पसमा पढ्न आउँदा अनेरास्ववियुको जागरुक र सक्रिय स्थानीय विद्यार्थी नेता भइसकेको मलाई नै पत्तो थिएन ।

यही मेसोमा अगाडि बढ्दै जाँदा २०२८ मा जनकपुरको रारा बहुमुखी क्याम्पसमा सबैभन्दा ज्यादा मत प्राप्त गरी विजयी बन्ने अनेरास्ववियुको विद्यार्थी भइसकेको थिएँँ । यसबेलासम्म ममा मनमोहन अधिकारीप्रति अत्यन्त आदरभाव विकसित भइसकेको थियो ।

मुलुकको कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी ढङ्गले पुनर्गठन गर्ने अभिप्रायले शुरु भएको झापा सङ्घर्ष र मूलतः त्यसैको राजनीतिमा खडा भएको को–अर्डिनेसन केन्द्र (अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेसन कमिटीको छोटकरी नाम) सित सम्बन्धित भई मैले आफ्नो राजनीतिक जीवन शुरु गरेपछि मनमोहन अधिकारीप्रति मेरो आस्था र सम्मानभाव कमजोर हुँदै न्यून हुन पुग्यो ।

त्यसताका उग्रवामपन्थी दृष्टिकोणका कारण रहन गएको एकपक्षीय र अद्वन्द्ववादी विश्लेषण पद्धतिले कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट पार्टीका नेता तथा तिनको भूमिकालाई बुझ्ने मामलामा समेत गम्भीर नकारात्मक निष्कर्षहरू बोकेर युवा क्रान्तिकारीहरूको एउटा जमात प्रभावित बनेको थियो । संशोधनवादी, अवसरवादी, राजावादी, गद्दार आदि शब्दहरू सतही ढङ्गले प्रयोग भइरहेका थिए ।

‘अन्तर्राष्ट्रिय संशोधनवादको सफल षड्यन्त्रस्वरुप नेकपाको गठन भएको हो’ र ‘नेकपाका सबै नेताहरू गद्दार हुन्’ भन्ने त्यसबेलाको हाम्रो निष्कर्षले इतिहास, आदर्श र निरन्तरताप्रति अत्यन्त अविवेकी र अन्धो किसिमले नकारात्मक बनाएको थियो हामीलाई । राजनीतिक अविवेकको यस्तो भारी बोकेर हिंडिरहेको त्यसबेला, मनमोहन अधिकारीप्रतिको मेरो सम्मानभाव धरासायी हुन पुगेको थियो ।

स्थानीय वर्गसङ्घर्षमा संलग्न हुने निरन्तरको व्यवहारका क्रममा हाम्रो क्रान्तिकारी पङ्क्तिमा केही परिपक्वता आउन थालेको थियो । खासगरी २०३६ को राष्ट्रव्यापी जनसङ्घर्ष र त्यसबाट घोषणा गरिएको जनमत सङ्ग्रहका क्रममा हामीले सङ्कीर्णता केही मात्रामा त्याग्नैपर्ने स्थिति पैदा भएको थियो ।

निरङ्कुश र निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा बहुदललाई सघाउ पुर्‍याउनुपर्छ भन्ने मान्यता छिटोछिटो विकसित भइरहेको थियो हामीमा । २०३६ भदौ २४ गते जनकपुरको रंगभूमि मैदानमा त्यसबेलाका पाँच वाम समूहद्वारा आयोजना गरिएको (पाँच पूर्व शर्तका लागि आयोजना गरिएको) बृहत् जनसभामा प्रमुख अतिथि भएर मनमोहन अधिकारी पुग्नुभएको थियो ।

तत्कालीन नेकपा (माले)को भूमिगत कार्यकर्ता भएर मैले अत्यन्त अन्यमनस्कताका साथ त्यो बृहत् जनउपस्थितिलाई पचाएको थिएँ । हाम्रा कतिपय स्थानीय कार्यकर्ताहरू उग्रवामपन्थी विचारबाट प्रशिक्षित भएअनुसार नै ‘संशोधनवादी नेताको भाषणबाट जनता बिग्रिने हुन् कि’ भन्न समेत पनि पछि परेका थिएनन् । तर पनि मनमोहन अधिकारी नेपाली जनताको निरङ्कुशताविरोधी लडाइँको अग्रिम मोर्चामा डटिरहनुभएको थियो ।

मलाई सम्झना छ – पछिल्लो समयमा भूमिगत रूपमा क्रियाशील नेकपा (माले) का केही नेताहरूले मनमोहन अधिकारीसित भेट गर्नुभएको थियो । तत्कालीन राजनीतिक परिस्थितिको बारेमा छलफल गर्नुका साथै निर्दलीय व्यवस्थाका विरुद्धमा गर्नुपर्ने संयुक्त सङ्घर्षका सम्बन्धमा कुराहरू भएका थिए ।

मदन भण्डारी, माधव नेपाल, सीपी मैनाली, जीवराज आश्रित आदिले बेलाबेलामा वार्तामा भाग लिनुभएको थियो । उहाँहरूले भेटघाट र भित्री बैठकहरूमा मनमोहन अधिकारीका बारेमा धेरैपटक बताउनुभएको थियो । यसरी मैले मुलुकका प्रजातान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा स्थापित तथा कसैले चाहेर पनि ओझेल पार्न नसक्ने मनमोहन अधिकारीको भूमिकालाई नयाँ स्तरमा भित्रैदेखि बुझ्न थालेको थिएँ ।

अझ पछि गएर त हामी भूमिगत ‘माले’हरूको निर्दलीयता र निरङ्कुशताको विरोध तथा बहुदलको पक्षमा आयोजना गरिएका सभाहरूमा हाम्रा खुला कमरेडहरूको सहयोगमा मनमोहन अधिकारीलाई निम्त्याउने गरेका थियौं । यसरी त्यसबेलाको ‘क्रान्तिकारी माले’ हरूले मनमोहन अधिकारीको राजनीतिक हैसियत र भूमिकालाई स्वीकार गरिरहेका थिए ।

२०३६ को राष्ट्रव्यापी जनसङ्घर्ष र घोषणा गरिएको जनमत सङ्ग्रहदेखि २०४६ को ऐतिहासिक संयुक्त जनआन्दोलनसम्मको झण्डै १० वर्षको अवधि नेपाली कम्युनिष्ट आन्दोलन खासगरी हाम्रो क्रान्तिकारी पङ्क्तिमा वैचारिक सङ्क्रमणको एउटा महत्वपूर्ण काल रह्यो । हाम्रै पङ्क्तिभित्र निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्धमा सङ्घर्षलाई केन्द्रित गर्ने सम्बन्धमा गम्भीर विवाद समेत भएका थिए ।

पार्टीको क्रान्तिकारी राजनीतिक कार्यदिशामा दृढताका साथ उभिंदै निरङ्कुशता तथा निर्दलीयताविरोधी राजनीतिक आन्दोलनलाई अगाडि बढाउने भन्ने सम्बन्धमा भएको विवादले तत्कालीन मालेको साङ्गठनिक जीवनमा समेत असर पारेको थियो ।

जे भए पनि २०४६ को भदौ महीनामा भूमिगत रूपमा आयोजना गरिएको नेकपा मालेको चौथो राष्ट्रिय महाधिवेशनले मात्र यस सम्बन्धमा देखापरेका राजनीतिक उल्झनहरूलाई मूलतः समाप्त पारेको थियो । यसले एकैपटक पञ्चायती निर्दलीयताका विरुद्धमा संयुक्त राजनीतिक आन्दोलनका लागि सबै सम्भव शक्तिसित कार्यगत एकता र मुलुकमा विद्यमान सबै वामपन्थी समूहबीच संयुक्त वाममोर्चा निर्माणका लागि स्पष्ट दिशानिर्देश गरेको थियो ।

महाधिवेशनको यही म्यान्डेट लिएर तत्कालीन मालेका नेताहरूले मनमोहन अधिकारीसित कुराकानी गर्नुभएको थियो । मालेको यस्तो निर्णयप्रति मनमोहन अधिकारीले अत्यन्त सकारात्मक प्रतिक्रिया व्यक्त गर्नुभएको थियो ।

२०४६ को जनआन्दोलन अगाडिको एउटा घटनाले ममा मनमोहन अधिकारीप्रतिको अत्यन्त सम्मान र आदरभाव जागृत भएको थियो । त्यसबेला उहाँ जनआन्दोलनको पक्षमा जनसमर्थन जुटाउन देशव्यापी दौडाहा गरिरहनुभएको थियो ।

सरकारको थुनछेक आतङ्कलाई चिर्दै उहाँ यस काममा जुटिरहनुभएको बेला प्रशासनले गिरफ्तार गरी मध्यरातमा बर्दिया शाही निकुञ्जभित्रको हिंस्रक जनावरहरू भएको घनघोर जङ्गलमा एक्लै छोडिदिएछ । उहाँ रातभरि जङ्गलको बाटो एक्लै हिंडिरहनुभएछ । त्यसबेला यो समाचारले अत्यन्त सनसनी फैलाएको थियो ।

यसले तत्कालीन पञ्चायती सरकारप्रति आक्रोश र मनमोहन अधिकारीप्रति सहानुभूति र सम्मानको लहर नै चलेको थियो । तत्कालीन मालेका महासचिव बनिसक्नुभएका कमरेड मदन भण्डारीले पनि यही भावसहित हामीबीच चर्चा गर्नुभएको कुरालाई म अहिले पनि सम्झिरहेछु । प्रतिक्रियावादीहरूले झुकाउन खोज्दा पनि नझुक्ने, दबाउन खोज्दा पनि नदब्ने मनमोहन अधिकारीले झण्डै ७० वर्ष पुगिसक्दा यस्तो सजाय सहनु परेको थियो ।

२०४७ साल पुसमा माले–माक्र्सवादी बीचमा सम्पन्न एकीकरणको बेलादेखि मैले मनमोहन अधिकारीलाई नजिकैबाट चिन्दै आएको थिएँ । मैले पाएँ– मनमोहन अधिकारी सरल, सोझो र उदार पनि हुनुहुन्छ, धेरै मामलामा फराकिलो दृष्टिकोण पनि राख्नुहुन्छ ।

मनको एउटा कुनामा मलाई त्यसबेला लाग्यो– स्पष्ट दृष्टिकोण र दृढ अडानका पक्षमा उहाँ कहीं कमजोर त हुनुहुन्न ? जे भए पनि, हामीले त्यसबेला आफूलाई इतिहासकै निरन्तरताको बोध गरेका थियौं । एमाले बन्ने ऐतिहासिक घटनालाई मैले नेपालको कम्युनिष्ट आन्दोलनमा इतिहास र ऊर्जाको अत्यन्त महत्वपूर्ण संयोग मानेको छु ।

यसरी, मनमोहन अधिकारी हाम्रो पार्टी परिवारको आदरणीय अभिभावक बन्न पुग्नुभएको थियो । यसले स्वयम् मनमोहन अधिकारीकै राजनीतिक जीवनमा पनि परिवर्तन आएको हामीले पायौं । उहाँ एउटा सशक्त राष्ट्रव्यापी जनआधारित कम्युनिष्ट पार्टीको अध्यक्ष बन्नुभएको थियो ।

नेकपा (एमाले) को अध्यक्ष बन्नुभएपछि मनमोहन अधिकारीको एउटा पृथक् स्थिति बन्दै गएको हामीले देख्यौं । तत्कालीन मालेको व्यापक र सशक्त जनाधारलाई उहाँले क्रमशः राम्ररी अनुभूत गर्दै जानुभएको थियो ।

एउटा पृथक् राजनीतिक पृष्ठभूमि र कार्यशैलीलाई प्रतिनिधित्व गर्दै आउनुभएको मनमोहन अधिकारी एमालेको अध्यक्ष बन्नुभएपछि पार्टी जीवनमा केही असहजता बोकेरै भए पनि अगाडि बढिरहनुभएको कुरा हामी बुझ्दछौं ।

कम्युनिष्ट आन्दोलनभित्रै अलग–अलग धारहरूको सम्मेलनमा हुने स्वाभाविक कठिनाइलाई उहाँले आफ्नो पाको उमेरमा झेल्न कत्ति पनि हिच्किचाउनु भएन । परिस्थितिको परिवर्तनलाई राम्ररी ग्रहण गर्ने क्षमता विकसित नभइसकेको पार्टी पङ्क्तिभित्र ‘क्रान्तिकारी धङधङी’ लाई उहाँले राम्ररी महसूस गर्नुभएको थियो । समयचक्रमा पार्टीको यो समस्या समाधान हुन्छ भन्ने कुरामा उहाँको पूर्ण विश्वास देखिन्थ्यो ।

माले–मार्क्सवादीको एकीकरणपछि निर्मित एमालेको अध्यक्ष भइसकेपछि उहाँले आफ्नो सङ्गठित शक्ति र आन्दोलनमा त्यसले दिने परिणामको राम्रो भेउ पाउन सक्नुभएन भनेर त्यसताका एमालेकै धेरै कार्यकर्ताले टिप्पणी गरेका थिए ।

पछिल्ला दिनहरूमा उहाँप्रति यस्तो टिप्पणी सुनिएन । भूमिगत किसिमले व्यापक जनतामा आधारित भएर सङ्गठित भएको क्रान्तिकारी शक्तिको वास्तविक शक्तिसित परिचित हुन उहाँलाई त्यति धेरै समय लागेन ।

पछिल्ला दिनहरूमा उहाँमा देखिएको बेजोडको क्रियाशीलता, अदम्य साहस र दृढ आत्मविश्वासलाई एमाले पङ्क्तिले मात्र नभएर सिङ्गो मुलुकले सम्मान र मुक्तकण्ठले तारीफ गरेको कुरा कसैले पनि बिर्सन सक्दैन । उहाँ, जनता र कार्यकर्ताको बीचमा पुग्दा आफूमा ऊर्जा थपिने गरेको कुरा राख्नुहुन्थ्यो ।

नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा मनमोहन अधिकारीको भूमिकालाई लिएर एमालेका धेरै कार्यकर्ता अलमलमा परेको अनुभव गर्छन् । महाधिवेशनमा चलेको सैद्धान्तिक–राजनीतिक बहसमा उहाँले कतै पनि मतदान गर्नुभएन । ‘जनताको बहुदलीय जनवाद’ को कार्यक्रमिक प्रस्तावले अत्यन्त शानदार रूपमा विजय हासिल गर्‍यो ।

मनमोहन अधिकारीले त्यसबेला आफूलाई किन तटस्थ राख्नुभयो ? कम्युनिष्ट पार्टीको महाधिवेशनमा त्यस किसिमले अगाडि बढाइएको बहस र परिणामलाई उहाँ शायद उचित ठान्नुहुन्थ्यो । पार्टीभित्रको विभाजन संस्थागत त हुने होइन भन्ने कुराले उहाँ डराइरहनुभएको त थिएन ?

कम्युनिष्ट पार्टीभित्रको बहस–विवादलाई कसरी सञ्चालन गर्ने, कुन सीमासम्म सार्वजनिक गर्ने, कसरी निष्कर्षमा पुर्‍याउने आदि विषयमा मनमोहन अधिकारी एमालेले शुरुआत गरेको तरीकाभन्दा पृथक् किसिमले त सोचिरहनुभएको त थिएन ? आखिर मनमोहन अधिकारी महाधिवेशनमा किन तटस्थ रहनुभयो ? किन त्यसरी रहन उचित ठान्नुभयो ? यद्यपि महाधिवेशनको फैसलापछि त्यसलाई दृढताका साथ लिएर अगाडि बढ्ने कुरामा मनमोहन अधिकारी कहीं कतै चुक्नुभएन । उहाँले आफूलाई उदाहरणीय रूपमा प्रस्तुत गरिरहनुभयो ।

मनमोहन अधिकारी दुई–दुई पटक जनताको मतबाट शानदार किसिमले विजयी बनेर सांसद बन्नुभयो । २०५१ को निर्वाचनमा त एकै पटक राजधानीका दुई निर्वाचन क्षेत्रबाट ठूलो अन्तरले विजयी बन्नुभयो । उहाँ सांसद बन्नुभयो, प्रतिपक्षी दलको नेता बन्नुभयो, तर उहाँकै जीवनस्थितिमा खास कुनै परिवर्तन देखिएन ।

सादापन तथा जनता र कार्यकर्तासितको सम्पर्क–सम्बन्धमा कहीं कसैले कुनै टिप्पणीसमेत गरेको पाइएन । अझ यस अवधिमा त जनताको घरदैलोमा पुग्ने, सरकारी दमन र प्राकृतिक आपत्विपत् परेका जनताकोमा पुग्ने कुरामा मनमोहन अधिकारी हामी पार्टीभित्रका युवा पङ्क्तिमा पर्नेहरूका लागि समेत अत्यन्त उदाहरणीय बन्नुभयो ।

सांसद बनेपछि उहाँ कि त जनता, कार्यकर्ताका बीच पुग्नुभएको हुन्थ्यो कि संसदीय बैठकमा नियमित रूपमै पुगेकै हुनुहुन्थ्यो । सांसद भएपछि संसदमा उठ्ने प्रत्येक विषयमा उसले जानकारी राखेकै हुनुपर्छ, यो त्यसको कर्तव्य हो – मनमोहन अधिकारी यो मान्यतामा हुनुहुन्थ्यो ।

२०५१ को निर्वाचनपछि कुनै पनि दलले स्पष्ट बहुमत नल्याएको र एमाले चाहिं सबैभन्दा ठूलो दल भएका कारण सरकार बनाउने स्थितिमा पुग्यो । मनमोहन अधिकारी प्रधानमन्त्री बन्नुभयो । यो उहाँको जीवनमा मात्र नभएर नेपालकै कम्युनिष्ट आन्दोलनका लागि युगीन महत्वको घटना थियो । प्रतिकूलताहरू सर्वत्र थिए, तर उहाँ पहिले भन्दा पनि झन् दृढ तथा गम्भीर बन्दै जानुभयो ।

प्रधानमन्त्रीको पदमा रहुन्जेल सरकार र पार्टी दुवैतर्फ विकृति र विसङ्गतिहरू बढ्लान् भनेर अत्यन्त चिन्तित रहनुभयो । यी दृढता बोकेर उहाँले पार्टी तथा प्रधानमन्त्रीको आदेशलाई समेत लत्याउन पछि नपर्ने आफ्नो मन्त्रिमण्डलका वरिष्ठ मन्त्री सीपी मैनालीलाई मन्त्री पदबाट हटाउनसमेत पछि पर्नुभएन । त्यसबेला मलाई सम्झना छ, अन्य मन्त्रीहरू र पार्टीकै कतिपय नेताहरूका बारेमा समेत हुने गरेका सार्वजनिक टिप्पणीलाई उहाँले गम्भीरताका साथ लिनुभएको थियो ।

प्रधानमन्त्रीको रूपमा मनमोहन अधिकारीले मुलुकको कम्युनिष्ट आन्दोलन, नेकपा (एमाले) र स्वयम् आफ्नै लामो राजनीतिक जीवनलाई के दिनुभयो ? उहाँले सत्ताका लागि भनेर मूल्य, मान्यता विपरीत गएर राजनीति गर्न कहिल्यै रुचाउनुभएन । पार्टीभित्र समेत उहाँ यस कुरामा बेलाबेलामा पृथक् पहिचान देखाउन समेत पछि पर्नुभएन ।

राजनीतिमा विकृति–विसङ्गतिले ठाउँ पाउला भन्ने कुराबाट हमेशा सतर्क रहनुभयो, त्यसप्रति हमेशा आफ्नो आदर्श बनाउनुभयो । प्रधानमन्त्री हुँदा र नहुँदाको दुवै अवस्थामा उहाँमा यी कुरा समान रहे । जनतासितको निरन्तर र गाढा सम्पर्कमा बाँच्न चाहने र त्यसैलाई आफ्नो ऊर्जाको स्रोत ठान्नुहुन्थ्यो, मनमोहन अधिकारी । धेरै पटक धेरै कार्यकर्तासित उहाँले यसलाई आफ्नो जीवनका लागि ‘टनिक’ भन्ने गर्नुभएको थियो ।

जस्तोसुकै प्रतिकूल स्थितिमा पनि जनता बीच जाने, पुग्ने कुरालाई उहाँले हमेशा प्राथमिकता दिनुभएको थियो । उहाँले कहिल्यै आराम लिन चाहनुभएन । बेहोश भएर मृत्युको मुखमा पुग्ने बेलासम्म पनि उहाँको यो स्थिति कायम रह्यो । उहाँ समस्याको गहिराइमा पुग्नुहुन्थ्यो, तर उदारतापूर्वक हेर्ने, बुझ्ने कुरामा उहाँ कहिल्यै पछि पर्नु भएन । ठाडो, रूखो तथा जङ्गली व्यवहारलाई उहाँले कहिल्यै रुचाउनु भएन ।

यिनै कारणले पार्टीभित्रैका कतिपय नेताहरूलाई उहाँले समेत सम्मानको दृष्टिले हेर्न सक्नुभएन । उहाँ बेलाबेलामा सशक्त रूपमा पेश र प्रस्तुत हुन नसक्दा हामीहरूले उहाँसित असन्तुष्टि जाहेर गर्ने गथ्र्यौं । तर उहाँ आफू जस्तो राजनीतिक पृष्ठभूमिबाट आएको र जस्तो स्वभाव लिएर आएको हो – त्यसलाई आलोचना गरे पनि परिवर्तन गर्न नसक्ने कुरालाई नम्रतापूर्वक राख्नुहुन्थ्यो ।

धेरैपटक उहाँले म स्वयंले गरेका यस विषयका आलोचनाप्रति नम्रतापूर्वक दिनुभएको जवाफले मैले भित्रभित्रै शर्माउनुभएको थियो । उहाँका लागि म छोरा जस्तो मान्छे युवा पुस्ताको नेतृत्वमा रहेको कार्यकर्ता – तर उहाँको मप्रतिको व्यवहार कहिल्यै त्यस्तो रहेन ।

सम्मानपूर्वक ढङ्गले हेर्ने, सद्व्यवहार गर्ने र समस्यामा केन्द्रित भएर छलफल गर्ने तथा निष्कर्षमा पुग्ने र यसका लागि कहीं कतै असहज नमान्ने उहाँको स्वभावबाट म अत्यन्त प्रभावित बनेको छु । मलाई उहाँले प्रमुख राजनीतिक सल्लाहकार बनाए पनि मैले उहाँबाट हमेशा समानस्तरको साथी र कमरेडको व्यवहार पाएको थिएँ ।

हरेश नखाने र निराश नहुने नेताका रूपमा मैले मनमोहन अधिकारीलाई पाएँ । साढे पाँच हजार फिटको उँचाइबाट हेलिकोप्टर दुर्घटनामा परी मृत्युको मुखमा पुग्दा पनि उहाँ डराउनुभएन । त्यसपछि उहाँले टेकेको बैसाखीतर्फ सङ्केत गर्दै जनतासमक्ष गएर रोचक ढङ्गले भन्नुभएको थियो – ‘पहिला म दुई खुट्टा टेकेर तपाईंहरूसमक्ष आउने गरेको थिएँ, अहिले तीनओटा खुट्टा टेकेर आएको छु, झन् बलियो भएर आएको छु ।’

उहाँले पार्टी विभाजनलाई अपराधपूर्ण काम भन्नुभयो र त्यसका विरुद्ध देशव्यापी रूपमा अभियान चलाएर ६ महीनामा पार्टीलाई पहिलेकै ठाउँमा पुर्‍याउने सङ्कल्प लिनुभयो । उहाँ ७८ वर्षको उमेरमा पनि आँधीहुरी बनेर देशव्यापी दौडाहामा लाग्नुभयो । पार्टीलाई पहिलेकै ठाउँमा पुर्‍याउने उहाँको सङ्कल्प पूरा भएरै छाड्यो ।

‘पार्टी फुटाउनु अपराध हो, म त्यसका विरुद्धमा जेहाद छेड्छु र ठेगान नलगाई म आराम गर्ने छैन’ मनमोहन अधिकारीको दृढताको यो शंखघोषले सिङ्गो पार्टी पंक्तिलाई ऊर्जा प्रदान गरेको थियो । ‘आराम हराम’ भनेर पार्टी अभियानमा लाग्नुभएका मनमोहन अधिकारीलाई पार्टी पंक्तिले एक ढिक्का भएर पछ्याई नै रह्यो । उहाँको सक्रियता र क्रियाशीलताले एमालेले पछिल्लो कालमा नयाँ जीवन र गति पाएको कुरा सर्वस्वीकार्य छ ।

उहाँ अत्यन्त दृढ र आदर्शप्रति समर्पित हुनुहुन्थ्यो । उहाँको यो दृढताकै बीचमा पनि भावनाहरू छचल्किएको मैले देखेको छु । गणेशमान सिंहलाई श्रद्धाञ्जलि चढाउँदा उहाँका आँखाबाट आँसु झरेका थिए । मदन भण्डारीको दुःखद निधनमा तीनपटक उहाँलाई रोएको देखेको छु ।

दासढुङ्गा दुर्घटना भइसकेपछि मदन भण्डारीको लास नभेटिएको अवस्थामा उहाँ हेलिकोप्टरबाट त्यहाँ पुग्नुभयो । त्रिशूलीको तीरमा जङ्गल र बुट्यानमा मदनलाई खोज्दै गर्दा उहाँ डाँको छोडेर रुनुभएको थियो । ‘म बूढो नमरेर एउटा उज्ज्वल तारा अस्ताएको छ’ भनी डाँको छोडी रुनुभएको मनमोहन अधिकारीलाई सम्झँदा अहिले पनि भावातिरेक हुन पुगिन्छ ।

एमालेको पाँचौं महाधिवेशनपछिका दिनहरूमा उहाँ मदन भण्डारीको बहुमुखी व्यक्तित्वसित परिचित बन्दै जानुभएको थियो । मदन भण्डारीमा रहेको कम्युनिष्ट आन्दोलनलाई गतिवान् बनाउन सक्ने क्षमतालाई उहाँले देख्न थाल्नुभएको थियो ।

अहिले मनमोहन अधिकारी हामीबीच हुनुहुन्न । तर उहाँको ७८ वर्षको सिङ्गो जीवनमा लगभग ६० वर्ष कम्युनिष्ट पार्टीको झण्डा बोकेर राष्ट्र र जनताको हितमा समर्पित भइरहनुभयो ।

राजनीतिमा, कम्युनिष्ट पार्टीको राजनीतिमा निरन्तरता मनमोहन अधिकारीको अर्को नाम हो । सादा जीवन र निष्कलङ्क उहाँका पर्याय बनिरहे । जनतासितको घनिष्ठ सम्पर्क, सम्बन्धमा उहाँ बाँच्न चाहनुहुन्थ्यो । जनतासितको सम्बन्धमा ऊर्जावान् भइरहने नेता हुनुहुन्थ्यो, मनमोहन अधिकारी ।

मनमोहन अधिकारीको एउटा सपना थियो— राजनीतिलाई विकृति/विसङ्गतिबाट मुक्त बनाउन कम्युनिष्टले बहुमतको सरकार बनाउनै पर्छ । प्रबल सम्भावना भएर पनि तत्काल देखापरेका कतिपय कारणले उहाँको त्यो सपना पूरा हुन सकेन । तर उहाँको त्यो सपना केवल सपना थिएन, सुझबुझपूर्ण राजनीतिक निष्कर्ष थियो ।

यसका लागि लागिपर्नु एमालेको मात्र नभएर सबै प्रगतिशील तथा देशभक्त शक्ति तथा देशवासीहरूको कर्तव्य हो । यही कर्तव्यको पालनाले मात्र मनमोहन अधिकारीले देख्नुभएको सुन्दर सपनालाई साकार पार्न सकिन्छ । उहाँका आदर्श र विचारलाई बोकेर हिंडिरहेको एमालेले तथा उहाँका सपनाहरूलाई आफ्ना आँखामा राखेर हिंडिरहेका अनुयायीहरूको पंक्तिले उहाँको सुझबुझपूर्ण राजनीतिक निष्कर्षलाई व्यवहारमा उतार्ने इमानदारीपूर्ण प्रयत्नलाई जारी राख्नैपर्छ ।

उहाँको सपना, कम्युनिष्ट पार्टीको क्रान्तिकारी झण्डा बोकेर अघि बढिरहेका नेपालका सम्पूर्ण कम्युनिष्टहरूको सपना हो । स्वप्नद्रष्टा आदरणीय मनमोहन अधिकारी नेपाली कम्युनिष्टहरूको हृदयमा सधैं सधैं बाँचिरहनुहुनेछ ।

(उपप्रधानमन्त्री एवं नेकपा एमालेका महासचिव पोखरेल २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकारको प्रमुख राजनीतिक सल्लाहकार थिए ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment