Comments Add Comment

आफूलाई स्वतन्त्र सांसदको छुट्टै कुर्सी उपलब्ध गराउन मनाङेको माग

१३ वैशाख, पोखरा । मनाङबाट स्वतन्त्र निर्वाचन जितेका सांसद दीपक मनाङे भनेर चिनिने राजीव गुरुङले गण्डकी प्रदेशसभामा स्वतन्त्र सांसदका लागि छुट्टै कुर्सीको व्यवस्था गर्न माग गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव प्रदेशसभामा टेबल भएकै दिन गुरुङले स्वतन्त्र सांसदलाई छुट्टै बस्ने व्यवस्था मिलाउन संसद सचिवालयमा निवेदन दर्ता गराएका छन् ।

सोमबारको विशेष अधिवेशनको बैठकमा भने गुरुङ एमालेकै लहरमा बसेका थिए । आफूले स्वतन्त्र सांसदका रुपमा चुनाव जितेको र संसदमा पनि स्वतन्त्र सांसदकै हैसियत कायम रहेको भन्दै सचिवालयमा निवेदन दर्ता गराएको गुरुङले जानकारी दिए ।

२०७४ मंसिर १० गते मनाङ ‘ख’ बाट मनाङले तत्कालीन एमालेको समर्थनमा स्वतन्त्र चुनाव जितेका थिए । २०७६ असार १९ गते मुख्यमन्त्री पृथ्वीसुब्बामार्फत तत्कालीन नेकपा प्रवेश गरेका थिए ।

आफू नेकपा प्रवेश गरेको तर एमालेमा प्रवेश नगरेको भन्दै उनले गत माघ पहिलो साता आफू कुनै पनि पार्टीमा नलाग्ने बताएका थिए । ‘नेकपा विभाजन हुँदा पनि मैले भनेकै हो । अहिले पनि म स्वतन्त्र सांसद नै हुँ,’ मनाङेले अनलाइनखबरसँग भने, ‘आज निवेदन दिएको छु, भोलिबाट छुट्टै बस्ने व्यवस्था होला ।’

मनाङेले छुट्टै बस्ने ठाउँ माग गर्दै सचिवालयमा निवेदन दर्ता गराएको र मंगलबारबाटै छुट्टै व्यवस्था हुने प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिए ।

मनाङेको नेकपा प्रवेशसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारलाई ६० सदस्यीय संसदमा २ तिहाइ बहुमत पुगेको थियो ।

तर, अहिले सांसद मनाङेले नेकपा पार्टी प्रवेशको कुनै कागजी आधार नभएको र आफू स्वतन्त्र नै रहेको दाबी गरेका थिए । संसद सचिवालयमा उनी अहिले पनि स्वतन्त्र सांसदकै हैसियतमा छन् ।

अविश्वासको प्रस्ताव दर्ता भएपछि मनाङे पनि मुख्यमन्त्रीको पक्षमै उभिने एमालेले बताउँदै आएको छ । तर, मनाङेले भने आफू अहिले नै कसको पक्षमा मत दिने निर्णयमा नपुगेको बताए ।

‘म त जनमोर्चाले जता मत हाल्छ, त्यतै मतदान गर्नेछु । किनकि जनमोर्चाले पृथ्वीसुब्बालाई साथ दियो भने सरकार जोगिन्छ, दिएन भने गिर्छ,’ मनाङेले भने, ‘एमालेमा नजिकका मान्छे भए पनि कसैको ह्विप मलाई लाग्दैन । त्यसैले जनमोर्चा निर्णायक हुँदा म पनि त्यसै लाइनमा उभिन्छु ।’

मुख्यमन्त्री गुरुङ भएकै कारण उनको पक्षमा उभिनुपर्छ भन्ने नरहेको भन्दै मनाङेले आफू मन्त्री पनि हुन सक्ने बताए । ‘मलाई जता मत दिए पनि मन्त्री त बनाइहाल्छन् । यहाँ मन्त्री हुन खासै राम्रा मान्छे नि छैनन्,’ मनाङेले भने ।

गण्डकी प्रदेशसभामा एमालेका २७ सांसद छन् । जनमोर्चाका नेता कृष्ण थापा मुख्यमन्त्री गुरुङसँग लचिलो रहे पनि केन्द्रीय कमिटीले निर्णय नै गरेर अविश्वासको प्रस्तावको पक्षमा लाग्न निर्देशन जारी गरिसकेको छ ।

स्वतन्त्र सांसद मनाङेसहित जनमोर्चाको पनि समर्थन रहँदा माओवादीले साथ छोडे पनि मुख्यमन्त्री ढुक्क थिए । तर, अब जनमोर्चाले पनि साथ छाड्ने घोषणा गरिसकेको छ भने मनाङेले पनि स्वतन्त्र सांसदको ठाउँ खोजे पनि मुख्यमन्त्री गुरुङलाई अर्को झड्का लागेको विपक्षी दलको भनाइ छ ।

गण्डकी प्रदेशसभामा कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरी दर्ता गराएको अविश्वासको प्रस्ताव सोमबार सदनमा टेबुल भएको छ ।

जनमोर्चाले पनि अविश्वासको प्रस्तावमा मतदान गर्दा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार गिराउन पुग्ने संख्या ३१ पुग्छ । तर, १५ गते मात्रै विश्वासको प्रस्तावमाथि मतदान हुने भएकाले यसै भन्न सकिने अवस्था भने छैन ।

ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण मनाङेले शुरुमा सपथ लिन पाएनन् । ८ महिना जेलसमेत बसे । पछिल्लो मुलुकी ऐनको १९४ मा १० वर्षसम्म कैद सजाय पाएका व्यक्तिले जमानत बुझाएर थुनाबाहिरबाटै मुद्दा लड्न पाउने सुविधा दियो ।

त्यही सुविधा प्रयोग गर्दै मनाङे थुनामुक्त भएपछि गत मंसिर १२ गते बिहीबार प्रदेशसभा सचिवालयमा सपथको लागि निवेदन दिएका थिए । माघ १४ गते बल्ल सभामुख नेत्रनाथ अधिकारीले सपथ खुवाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment