Comments Add Comment

अस्तव्यस्त नारायणी अस्पताल : कोभिड संक्रमितको बेहाल

संक्रमितका आफन्त रुँदै एकअर्कालाई भन्छन्– हिम्मत राख्नुपर्छ

Photo Credit : तस्वीर : प्रणय साह

१५ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका– ७ का पप्पु सर्राफ नारायणी अस्पतालको आइसोलेसन वार्डमा बाहिरभित्र गर्छन् । वार्डमा छटपटाईरहेका बुवाको अवस्थाले कता हो कता उनको छाती पोल्छ । आमाले नदेखुन भनेर अर्कोतिर फर्किन्छन्, रुन्छन् ।

नारायणी अस्पतालको आइसोलेसन बाहिर झोक्राएर बसेका सर्राफको आँसु थामिएको छैन । कोरोना संक्रमणका कारण उनका बुवा अस्पतालको वार्डमा छटपटाईरहेका छन् । उनी बेला बेला भित्र जान्छन्, बुवाको अवस्था हेर्छन्, अनि बाहिर निस्कन्छन्, फेरि रुन्छन् ।

अर्कोतिरबसेकी आमा पनि रोईरहेकी छन् । उनीहरू एक अर्कालाई सम्झाउँछन् पनि– ‘हिम्मत राख्नुपर्छ ।’

‘तीन दिन भयो, डाक्टरले ठिक हुन्छ भन्छन्, तर कम भइरहेको छैन’, उनले भने, ‘पखाला चलेको थियो, एक दिन घरमै राख्यौं, अस्पताल ल्याएको दिनदेखि बुवाको बेचैनी बढेको छ । सुधार भईरहेको छैन ।’ अक्सिजन मास्क फुस्कियो भने लगाईदिने मान्छे पनि नहुने उनीहरूको चिन्ता छ ।

आइसोलेसन वार्डबाट निस्केका एक जना बिरामीका आफन्त कराउँदै बाहिरिए । आफ्नो हात स्यानिटाइज गरे, जिउतिर पनि स्यानिटाईजर छर्किए, अनि तल झरे ।

आइसोलेसन कक्ष बाहिर संक्रमितका कुरुवा थुप्रै भेटिन्छन् । उनीहरू भित्रबाहिर गरिरहेका हुन्छन् । किनकि संक्रमितको अक्सिजन मास्क खुस्कियो भनेपनि लगाइदिने मान्छे हुँदैनन् ।

यो त्यहि नारायणी अस्पताल हो, जहाँ मंगलबार मात्रै ४ जना संक्रमितले ज्यान गुमाएका थिए । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएपछि यहाँ १२ जना संक्रमितको मृत्यु भइसकेको छ ।

श्रीभगवान प्रसादले दमको समस्या देखिएपछि ससुरालाई नारायणी अस्पतमा भर्ना गरे । बिरामीको स्याहार सुसार श्रीमतीमार्फत गराईरहेका छन् । तलमाथि यताउता सार्नुपर्दा पनि बिरामीका कुरुवा आफैं अघि सर्नुपर्छ । संक्रमितसँगै रहने कुरुवा बाहिर डुलिरहेका भेटिन्छन् ।

नारायणी अस्पतालले अक्सिजन चाहिने गम्भीर प्रकृतिका संक्रमित मात्रै भर्ना लिएको छ । इमर्जेन्सी भवनको दुवै तलालाई कोभिड संक्रमितको उपचारका लागि छुट्याइएको छ । माथिल्लो तलामा आईसीयू र एचडीयू छ । तल्लो तलामा अक्सिजन मात्रै चाहिने कम गम्भिर संक्रमितलाई राखिएको छ । त्यतिले पनि नपुगेपछि सर्जरी वार्डमा समेत संक्रमितलाई राख्न शुरु गरिएको छ ।

कलैया उपमहानगरपालिका २३ का श्रीभगवान प्रसादले दमको समस्या देखिएपछि ससुरालाई नारायणी अस्पतमा भर्ना गरे । तर बिरामीको स्याहार सुसार श्रीमतीमार्फत गराईरहेका छन् । तलमाथि यताउता सार्नुपर्दा पनि बिरामीका कुरुवा आफैं अघि सर्नुपर्छ । संक्रमितसँगै रहने कुरुवा बाहिर डुलिरहेका भेटिन्छन् ।

अस्पतालका एक कर्मचारी भने संक्रमण पुष्टी भईसकेकालाई अर्को वार्डमा सर्न आग्रह गर्दा पनि अटेर गरेको भन्दै उनी कराउँदै थिए । जथाभावी नथुक्नु भन्दा पनि टेर्दैनन्, हामीले मात्रै के गर्ने ?

कुरुवा नै संक्रमित हुने जोखिम

१२ दिनदेखि संक्रमितको कुरुवा बसेकी बिन्दुदेवी सोफामा सुतिरहेकी थिइन् । उनलाई नै सञ्चो नहोला जस्तो भइसकेको छ । त्यसैले उनलाई पालो दिन अर्की महिला आएकी छन् ।

परिचय खुलाउन नचाहाने ती महिलाले भनिन्, ‘बाहिर दुई मिटर दुरी कायम गर्नुपर्छ भन्छन्, भित्र संक्रमित बीचको दुरी एक मिटर पनि छैन ।’ उनी बिरामीको अवस्था बुझ्न पटक पटक भित्र बाहिर गरिरहेकी थिइन् ।

पर्साको मनवा बजार गाउँकी जानकी चौधरीका छोरा पनि आइसोलेसनमा छटपटाइरहेका छन् । डाक्टरले सुई लगाउन लेखिदिएका छन् । बिरामी कुर्न बसेकी उनी आफैं बिरामी भइने हो कि भन्ने चिन्तामा छिन् ।

‘संक्रमित भएको ठाउँमा धेरै बस्नु पनि भएन, डाक्टरले कहिले यो ल्याउनु त कहिले त्यो ल्याउनु भन्छन् । छोडेर जान पनि भएन’, उनले भनिन्, ‘अस्पताल यति फोहोर छ कि कतै गएर टुसुक्क बस्न मन लाग्दैन ।’ उनले गुनासो गरेजस्तै अस्पताल परिसरमा जथाभावी फोहोर फालेको देखिन्छ ।

अस्पतालमा ल्याएपछि बाँच्ने मान्छे पनि मर्छ भन्ने निष्कर्षमा बिरामीका आफन्त पुगेका छन् । सर्लाहीको रामनगर गाउँपालिका-५ का बाबुराम यादव कान्छो छोरालाई लिएर अस्पताल आइपुगेका हुन् ।

सितामढीमा  ४ दिन उपचार गराउँदा समेत ज्वरो र स्वासप्रस्वासको समस्या निको भएन । शनिबार नारायणी अस्पतालमा ल्याइयो । छोराको उपचारमा राम्रो ध्यान नपुगेको उनको ठम्याई छ । मन खुशी छैन । आइसोलेसनमा संक्रमितको उपचार उचित ढंगले नभएको उनले जिकिर गरे ।

‘जनता त्राहीमाम छन्, चिच्याइरहेका छन्, अस्पतालको बेडमा छटपटाइरहेका छन् । डाक्टर नर्स हैरान छन्’, उनले भने, ‘जनताको करले सेवा सुविधा लिने सिडियो, अनि जिल्लाका नेताहरु कहाँ छन ? अस्पतालमा स्टाफको कमी छ,अरु कुरा के पुगेको छ, के पुगेको छैन, हेर्नु पर्दैन ?’

जनशक्तिकै कमी : कोभिड संयोजक डा. दास

अस्पतालको इमर्जेन्सी वार्डमा २५ वटा बेड लगाएर कोभिड संक्रमितको उपचार शुरु गरिएपछि अर्कोतिरबाट इमर्जेन्सी सेवा दिन थालिएको छ ।

‘शंकास्पद बिरामीलाई समेत कोभिडतर्फ पठाउनु भनेकामा त्यसो गरिएको छैन । त्यो इमर्जेन्सीमा समेत कोभिड संक्रमितलाई राखेछन्’, मंगलबार साढे ६ बजेतिर इमर्जेनसीमा पुगेका अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले कर्मचारीलाई त्यसो नगर्न भने ।

‘शंकास्पद संक्रमित आउने वित्तिकै एन्टlजेन भएपनि परीक्षण गरिहाल्नुपर्छ । संक्रमण पुष्टी भयो र अक्सिजन लेभल ९० भन्दा कम छ भने मात्रै भर्ना लिनू । नत्र होम आइसोलेसनमा बस्नु भनेर पठाउन’, उनले भने ।

उनले इमर्जेन्सीमा त्यसो भन्दै गर्दा केहि मानिसले आएर उनलाई घेरे । उनीहरु नारायणी अस्पतालकै डाक्टरले नीजि क्लिनिकमा हेरेका बिरामीका आफन्त थिए । ‘अक्सिजन लेभल ९७ प्रतिशत छ, भर्ना गराउनुपर्छ भन्नुभएको छ’,एक बिरामीका आफन्तले भने । डाक्टर दासले अक्सिजन लेभल ९० प्रतिशत भन्दा कम भएका बिरामीलाई मात्रै भर्ना लिने दोहोर्‍याए ।

पछिल्ला दिनमा नारायणी अस्पतालमा डाक्टर दासको दौडधुप बढी छ । अस्पतालले कोभिड संयोजकको जिम्मेवारी दिएपछि उनी निकै व्यस्त छन् । ‘एकै छिनमा बिरामीलाई गाह्रो भयो भनेर फोन आउँछ । दौडेर जानै पर्‍यो’, उनले भने, ‘अन्य व्यवस्थापनको काम पनि आफैंले हेर्नुपर्छ ।’

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि नारायणी अस्पतालमा ९५ जना संक्रमितको उपचार भईसकेको छ । १२ जनाको मृत्यु भएको छ । मंगलबार साँझसम्म ५३ जना संक्रमित अस्पतालमा भर्ना छन् ।

बेड थपिँदै, स्वास्थ्यकर्मी अभाव

३ सय बेडको अस्पतालले ५० प्रतिशत कोभिड संक्रमितको उपचारका लागि छुट्याउने तयारी गरेको छ । आवश्यकता अनुसार बेड संख्या थप्दै लगिरहेको संयोजक डाक्टर दास बताउँछन् । तर कर्मचारी भने पुग्दो गरी थपिएका छैनन् ।

अस्पतालका कर्मचारी विजयनन्द चौरसियाले अक्सिजन सिलिण्डर तलमाथि गर्ने जिम्मेवारी पाएका छन् । उनी भन्छन्– रातभरीमा ५० वटा जति सिलिण्डर खाली भइसक्छन्, खाली तल ल्याउँछु, भरेको माथि पुर्‍याउँछु ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले प्रदेश सरकारसँग माग गर्दा डाक्टर नर्स दिने बचन दिएको थियो । तर अहिलेसम्म एक जना पनि आइनपुगेको अस्पतालले जनाएको छ ।

एक सिफ्टमा दुई जना चिकित्सक संक्रमितको उपचारका लागि खटिन्छन् । आईसीयू, एचडीयू र सर्जिकलमा गरेर २९ जना संक्रमित छन् । उनीहरूको उपचारमा सघाउन ३ जना नर्स र एक जना सीएमए मात्रै छन् ।

तलको वार्डमा २५ जना भर्ना भएका छन्, त्यहाँ सेवा गर्न एक जना स्वास्थ्यकर्मी र २ जना सहयोगी मात्रै छन् । एनेस्थेसियातर्फ दुई जना डाक्टर र २ जना असिस्टेन्ट छन् । २४ घन्टा ड्युटी दिनुपर्ने हुँदा यो पनि अपर्याप्त भएको अस्पतालको भनाइ छ ।

‘सबैलाई अक्सिजन दिइएको छ, सबैलाई रेखदेख गर्न स्टाफ पुगिरहेको छैन’,संयोजक डा. दासले भने । जनशक्ति कम भएपनि संक्रमितको उपचारमा भने लापरबाही नगरेको दावी उनको छ ।

नारायणी अस्पतालमा अक्सिजन प्लान्ट र सप्लाईको सुविधा नभएका कारण संक्रमितलाई सिलिण्डरबाट अक्सिजन उपलब्ध गराउनुपर्ने अवस्था छ । अस्पतालका कर्मचारी विजयनन्द चौरसियाले अक्सिजन सिलिण्डर तलमाथि गर्ने जिम्मेवारी पाएका छन् । ‘रातभरिमा ५० वटा जति अक्सिजनको सिलिण्डर खाली भइसक्छ, खाली तल ल्याउँछु, भरेको माथि पुर्‍याउँछु’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment