Comments Add Comment

गण्डकीमा सत्ताको खेल : कोरोना महामारीमाथि नै मजाक !

मतदान गर्ने बेला सांसद गायब, आईसीयूमा भेटिएका शाहीको दुई थरी रिपोर्ट

१५ वैशाख, पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार रहने कि नयाँ सरकार बन्ने छिनोफानो हुने भनिएको दिन बुधबार गण्डकी प्रदेशसभामा एकपछि अर्को नाटकीय घटना देखियो ।

मुख्यमन्त्रीविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमाथि छलफल सकेर बुधबार मतदान गर्ने भनिएको थियो । शुरुमा सत्तापक्ष मतदानलाई पर धकेल्न खोजेको देखिन्थ्यो । तर मतदान गर्ने समयमा आइपुग्दा अविश्वासको प्रस्ताव ल्याउनेहरु मतदानमा जान तयार भएनन् ।

तीन दलको मागअनुसार बोलाइएको विशेष अधिवेशनको दोस्रो बैठक अवरुद्ध गरेको सत्तारुढ नेकपा एमालेकाे मागपछि मंगलबार नै प्रदेशसभा सदस्यहरुको स्वाब संकलन गरिएको थियो ।

बुधबार बिहानै तीन जनामा संक्रमण देखिएको पुष्टि भयो । तर संक्रमित भए पनि मतदान गर्न पाउने भनिएका कारण अविश्वासको प्रस्ताव दर्ता गर्ने दलहरु ढुक्क देखिन्थे । दिउँसो १ बजेपछि प्रदेशसभा बैठक सुरु भयो, अविश्वासको प्रस्तावमाथि छलफल भयो ।

सत्तारुढ एमालेका सांसदहरु बोलिरहेका थिए । मतदानलाई केही समय टार्न सबै सांसदलाई बोल्ने समय दिने जुक्ति लगाएको एमालेले बुधबार भने बोल्ने सूचीबाट नाम हटायो । इन्द्रधारा विष्ट र महेन्द्र थकालीले बोल्ने सूचीबाट नाम हटाउन चाहेको सभामुखले उल्लेख गरे ।

१८ जना सांसदले बोल्ने कार्यसूची हुँदा जतिसक्दो चाँडो मतदानमा जाने सत्तारुढ दल एमालेको चाहनाले विपक्षीलाई शंका उत्पन्न गरायो । बैठकमा आउन ढिला हुने जानकारी गराएका जनमोर्चाका सांसद शाहीको खोजी भयो । उनको त फोन नै अफ भइसकेछ ।

माओवादीका सांसद दीपक कोइराला बैठक चलिरहेकै बेला बाहिर निस्किए । उनको खोजीमा फोन घुमाए, तर पत्ता लागेन । यसको सूचना प्रदेश सभा सचिव हरिराज पोखरेल हुँदै सभामुख अधिकारीसम्म पुग्यो । माओवादी केन्द्रबाट सभामुख बनेका अधिकारीले छलफल चलिरहेकै बेला २० मिनेट संसद बैठक स्थगित गरिदिए ।

लगतै केही सांसद शाहीको कोठासम्म पुगे । कांग्रेस संसदीय दलका उपनेता मेषलाल श्रेष्ठ, जनमोर्चाकी पियारी थापा र जनता समाजवादी पार्टीकी सांसद धनमाया पोखरेल लामा, शाहीलाई खोज्न उनको डेरामा पुगेका थिए । पोखरा जिरो किलोमिटर नजिकै रहेको डेरा पुग्दा घरबेटीले शाही मंगलबारबाटै कोठामा नआएको जानकारी गराए ।

शाही कोरोना संक्रमण भएर आईसीयूमा भर्ना भएको सूचना र अर्को सूचना नभएसम्सका लागि प्रदेशसभा बैठक स्थगित गरेको सूचना झण्डै एउटै समयमा आयो ।

नेगेटिभ, आईसीयू, पोजेटिभ

संसदमा अश्विासको प्रस्ताव दर्ता भएकै दिन एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले स्वाब परीक्षण गर्न ध्यानाकर्षण गराएका थिए । मंगलबार त्यही माग राखेर एमालेले संसद अवरुद्ध नै गर्‍यो ।

सत्ता जोगाउने खेल खेल्ने समय ध्याउन्नमा आफ्नै दायित्वभित्र पर्ने सत्तारुढ पार्टीले नै संसद अवरोध गरेपछि मंगलबारै स्वाब परीक्षण गर्ने र बुधबार रिपोर्ट आएपछि बैठक चलाउने दलबीच सहमति भयो । र, मंगलबार दिउँसै सबै जनाको स्वाब लिएर क्षेत्रीय प्रयोगशाला पठाइयो ।

बुधबार बिहान सबै सांसदको रिपोर्ट आइसकेको थियो । राजीव पहारी, प्रभा कोइराला र मनकुमारी गुरुङलाई पोजेटिभ र अरुको नेगेटिभ भएको प्रदेशसभा सचिवालयमा पुगिसकेको थियो । तर सम्पर्कविहीन भएका जनमोर्चाका सांसद खिमबिक्रम शाही कोभिड देखिएर आईसीयूमा भर्ना भएको खबर धेरैका लागि सरप्राइज बन्यो ।

धेरैले सत्ताको खेलसँग जोडे । त्यसपछि अस्पतालले शाहीको तस्वीर र कोरोना पोजेटिभ भएको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट पोखरा न्युरोडको निजी ल्याब लाइफ केयर डाइग्नोस्टिकको छ ।

लाइफ केयरका डा. अमर नागिलाका अनुसार यो स्वाब मंगलबार फेवा सिटी अस्पतालबाट आएको थियो । भन्छन्, ‘स्वाब लिंदा कसरी लिइयो, कसको लिइयो भन्ने हामीलाई थाहा भएन तर स्वाब चाहिं पोजेटिभ आएको सबै प्रमाण हामीसँग छ ।’

तर प्रदेशसभामा स्वाब दिएर निस्किएका शाहीले तुरुन्त फेवामा गएर किन स्वाब दिए ? आफैं ल्याबमा किन गएनन् ? भन्ने धेरैलाई शंका लागेको छ । विपक्षी दलहरुले यसलाई सत्ताको खेल माान्छन् ।

‘कोरोना परीक्षण माग गर्नु, सरकारीमा स्वाब दिएर फेरि अर्को निजीमा स्वाब दिनु र नेगेटिभ आइसकेपछि पोजेटिभ देखियो भनेर आईसीयूमा राखिनुले सबै कुराले पनि प्रष्ट पार्छ’ माओवादी सांसद कोइरालाले भने, ‘संसद छल्न खोजिरहेको एमालेले बुधबार चाहिं किन बोल्ने सांसदको नाम काटेर मतदानमा जान चाहन्थ्यो ? उत्तर स्पष्ट छ नि ।’

जनमोर्चाकै नेता तथा सांसदले पनि यसलाई सेटिङ भनेका छन् । सांसद पियारीले सत्ता टिकाउन गरिएको प्रपञ्च हुन सक्ने बताउँछिन् । ‘उहाँलाई केही नभइदिओस् भन्ने हाम्रो कामना हो तर यो सत्ता टिकाउने खेल हो भन्ने लाग्छ’ उनले भनिन्, ‘बिरामी नै भए पनि सम्पर्कविहीन कोही हुँदैन । संसदमा आउँछु भनेर जानकारी गराएर गायब हुँदैन ।’

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पनि यसलाई शंकाको विषय मान्छन् । ‘पहिले नेगेटिभ रिपोर्ट आयो भन्ने अनि एक्कासी पोजेटिभ देखियो भनेर चरकको आईसीयूमा पुग्ने’ बरालले भने, ‘कहाँ के षडयन्त्र भयो भनेर खोज्दैछौं ।’

उनका अनुसार शाहीलाई भेट्न उनी अस्पताल पुगेका थिए, तर डाक्टरले गम्भीर अवस्था छ भनेर फर्कादिए ।

सत्तारुढ दललाई सभामुखको झड्का

अविश्वासको प्रस्तावमा मतदान गर्ने दिन पर धकेल्न चाहेको सत्तारुढ एमालेले बुधबार भने छिटो संसद सक्न चाहन्थ्यो ।

अविश्वासको प्रस्तावको पक्षमा मत हाल्ने एक जना सदस्य मात्र अनुपस्थित भए मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार बच्थ्यो । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी जनमोर्चा र जसपाको गरी टुपुक्क बहुमत ३१ मत छ । शाहीको अनुपस्थितिले अविश्वासको प्रस्ताव फेल हुन्थ्यो । त्यसैले बुधबार नै मतदान गराउन चाहेको थियो ।

तर सभामुख नेत्रनाथ अधिकारीले तगारो लगाइदिए । २० मिनेट बैठक स्थगित गरेका सभामुखले जनमोर्चाकी सांसद पियारीको निवेदनका आधारमा अनिश्चितकालका लागि संसद स्थगित गरिदिए । संसद स्थगित गरे लगत्तै कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने भनिएको थियो । सत्तारुढ दलले केही मिनेट ढिला गरेपछि कार्यव्यवस्था बैठक बोलाएका सभामुख अधिकारी गायब भइदिए । बैठक नबस्ने भन्दै सभामुख प्रदेशसभाबाट बाहिरिएपछि सबभन्दा ठूलो दल एमाले रुट बनेको छ ।

एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले सभामुख अधिकारीले सभामुखको कदमलाई संसदीय मर्यादा विपरीत भएको बताए । ‘जनमोर्चाका सांसदको अपहरण भएको हो भने खोजी गर्नुपर्‍यो, कारबाही गर्नुपर्‍यो । त्यो राज्यको काम हो’ अधिकारीले भने, ‘राजनीतिक आग्रहले संसद स्थगित गर्ने गर्नु संसदीय मर्यादा विपरीत छ ।’

खिमबिक्रमलाई भेट्न मुख्यमन्त्री अस्पतालमा

मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्तावमा मतदान हुने बेला सम्पर्कविहीन भएका जनमोर्चाका सांसद खिमविक्रमलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चरक अस्पताल पुगेका छन् । मुख्यमन्त्री गुरुङसँगै आर्थिक मामिलामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, एमाले सांसद इन्द्रधारा विष्ट अस्पताल पुगेका थिए ।

शाही भेट्न नपाए पनि डाक्टरबाट स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment