Comments Add Comment

रोमाको पोष्टमा युनाइटेडको ६ गोल, आर्सनल भियारियालसँग पराजित

१७ वैशाख, काठमाडौं । युरोपा लिग अन्तर्गत सेमिफाइनल पहिलो लेगमा म्यानचेष्टर युनाइटेडले इटालियन क्लब रोमालाई ६-२ ले पराजित गरेको छ । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र एडिनसन कभानीले २-२ गोल गरे भने पउल पोग्वा र मासोन ग्रीनउडले १-१ गोल गरे ।

रोमाका लागि लरेन्जो पेलेग्रिनी र एडेन जेकोले समान एक गोल गरे ।

ब्रुनोले खेलको नवौं मिनेटमै गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर १५औं मिनेटमा पेलेग्रिनीले पेनाल्टीमा रोमाका लागि बराबरी गोल फर्काए। ३४औं मिनेटमा जेकोले गोल गरेपछि पहिलो हाफमा रोमाले २-१ ले अग्रता बनाएको थियो ।

तर दोस्रो हाफमा युनाइटेडले ५ गोल गर्‍यो । जसमा कभानीले ४८औं र ६४औं मिनेटमा गोल गरे । ब्रुनोले ७१औं मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गरे । ७५औं मिनेटमा पोग्वा र ८६औं मिनेटमा ग्रीनउडले गोल गरेपछि युनाइटेडले फराकिलो जित हात पारेको हो । पहिलो लेगमा फराकिलो जितपछि युनाइटेडको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ ।

आर्सनल पराजित

यस्तै अर्को खेलमा लण्डन क्लब आर्सनल स्पानिस क्लब भियारियलसँग २-१ ले पराजित भएको छ ।

भियारियालका लागि मानुएल ट्रिगेरोसले पाँचौ र राउल अल्विओले २९औँ मिनेटमा गोल गरे । आर्सनलका लागि निकोलस पेपेले ७३औं मिनेटमा पेनाल्टीमा एक गोल फर्काए ।

५७औं मिनेटमा आर्सनलका ड्यानिएल सेबालोस दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । यस्तै ६८औं मिनेटमा भियारियलका एटिने कापोउ पनि दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment