Comments Add Comment

माडी हुँदै खाडीसम्म

नेपाल टेलिभिजनमा दिशानिर्देश कार्यक्रम चलिरहेको थियो । बाबाको हातमा रिमोट थियो । आफूलाई भने प्रिमियर गिलमा चेल्सी र आर्सनलको गेम हेर्नुथियो । कतिबेला निशानिर्देश सकिन्छ र हेर्न पाउँछु भनेर म पर्खिबसेको थिएँ । एक्कासी मेरो आँखा टीभीतिर पर्‍यो । अघि चैं कान मात्र टीभीतिर थियो ।

विजय कुमार भन्दै थिए– गोपाल योञ्जन भन्थेः बग्नु पर्छ है विजय भाइ बग्नुपर्छ– नदीबाट खोला अनि खोलाबाट समुद्र । खासै टीभीहरूमा बोलिने शब्दहरूले तान्न नसकेको मलाई किन किन त्यो शब्दले मनमस्तिष्कमा छोयो । जीवन एक अविरल यात्रा हो, बगिरहनुपर्छ भन्ने दिमागमा बस्यो । अर्को कुरा कसैले भनेका शब्दले जब छुन्छ नि अनि त्यही शब्दले कति फरक पार्छ, त्यो तपाईं महसूस गर्न सक्नुहुन्छ ।

मलाई भित्रभित्रै औडाहा हुँदैथियो । अनि मनमनै बाबालाई धन्यवाद पनि भन्न मन थियो तर सकिनँ । यस्तो अनुभूति केवल महसूस मात्र हुँदोरहेछ । खैर, जीवन एक यात्रा हो बग्नुपर्छ भन्ने सिद्धान्तलाई कहाँ छोडेको थिएँ र ! जीवनमा ठूलो मान्छे होइन असल मान्छे बन्छु भन्दै के के मात्र गरिनँ मैले ।

गाउँको स्कूलमा अध्यापन गराउन थालें । स्वयंसेवकको रूपमा, गाउँमा आमा समूहलाई प्रौढ शिक्षा पढाउन थालें । युवा क्लबको गठन गर्दै गाउँमा सरसफाइ कार्यक्रमदेखि रक्तदान कार्यक्रमसम्म, हाजिरीजवाफ लगायत के के मात्र गरिएन । सामाजिक तहमा हुने हरेक कार्यलाई होमा हो मिलाउँदै साथ दिएको थिएँ ।

उमेर बढ्दै थियो, साथसाथै चेतना पनि । अनि बुझ्दै थिएँ घर, समाज र देशको अवस्था । एसएलसी सकेपछि रामपुरमा पढ्ने भइयो । कलेज गएपछि जीवनको अर्को खुट्किलो चढेको अनुभव हुँदै थियो । अब बाबा–आमाका लागि केही गर्नुपर्छ भन्ने कुरा मनमा आउन थालेको थियो ।

किसानको छोरा भएर जन्मिएका कारण अथवा कमजोर आर्थिक अवस्था भएका कारण रामपुरको पढाइ सक्नु अगाडि नै मैले बाबुको थाप्लोको ऋणको बोझ लिनुपर्छ भन्ने अनुभूति गरेको थिएँ । मामुले भन्नुहुन्थ्यो ‘समाजसेवा गर्नु अगाडि आफू सम्पन्न हुनु, खाली पेटमा समाजसेवा धेरै गर्न सकिंदैन ।’

बाबाको ऋणको भारी कम गर्न मैले काम गर्नुपर्थ्यो । समाजसेवा गरेर त्यो सम्भव थिएन । यसका लागि पढाइ छोड्नुपर्ने, कि जागिर खानुपर्ने अवस्था थियो । मलाई पढाइ छोड्न मन थिएन । स्कूलदेखि कलेजसम्मको मेरो यात्रामा राम्रो नम्बर ल्याएर उत्तीर्ण हुँदै आएको थिएँ । जेनतेन पढाइ सक्नुपर्छ अनि पढाइ अनुसारको काम गर्छु भन्ने अठोटका साथ निरन्तर लागिरहें ।

रामपुरको पढाइ सिध्याएर मैले ट्युसन पढाएँ । घर नजिकैको मिलमा शनिबार काम गर्न थालें । मेलापातदेखि बाउसेसम्म काम गरें । बुवाको बोझ कम के मात्र गरिनँ र मैले ।

दिन दुई गुणा रात चौगुना गरेर रामपुरको पढाइ सकियो । अब काम खोज्ने काम शुरू भयो । जागिर खोज्ने सिलसिलामा कति जोर जुत्ता फटाएँ, धेरै बिन्ती बिसाएँ । कैयौं कम्पनीमा रोजगारीका लागि आवेदन दिएँ । हात लाग्यो शून्य !

म हारेको थिएँ । त्यसै बेला दुबईबाट हरि काकाको छोरा आएको थियो । गाउँमा उसको गुनगान राम्रै थियो । माडीमा नयाँ घर बनाएको थियो । ऊ बिहेको लागि आएको थियो ।

मनमनै सोचें राजादेखि नेताहरूले यो देशमा युवालाई रोजगारी, गरिखाने वातावरण सिर्जना गरेको भए आमाको तिलहरी धितो राखेर मजस्ता पढेलेखेका युवा पनि विदेश पलायन हुनुपर्दैनथ्यो होला ।

सँगै पढेका थियौं अनिल र म । ऊ आठ कक्षामा पढाइ छोडेर विदेश गएको थियो । गाउँमा पैसा कमाउनेलाई हेर्ने दृष्टि नै फरक छ । विदेशबाट आएको अनिलप्रति गाउँघरको व्यवहार हेर्दा लाग्थ्यो ऊ चुनाव जितेर आएको थियो ।

म सधैं विदेशी भूमिमा श्रम बगाउनुभन्दा देशमा सातु–मकै खाएर बस्नुपर्छ भन्ने आदर्शको पाठ अरूलाई पनि पढाउँथें । तर आमाको आँखाको नैराश्यता र बुवाले बूढो हड्डी यो उमेरमा पनि खियाएको देखेर विदेश जानुपर्छ भन्ने निर्णयमा पुग्न मलाई विवश बनायो ।

आमाको तिलहरी सुन पसलमा धितो राखें । रामपुरमा कमाएको स्नातक तहको प्रमाणपत्रलाई बाकसमा पोको पारें र राहदानी बनाउने यात्रामा निस्किएँ । देशको अवस्थाले मेरो मनमा उद्वेग जाग्यो । एकखालको हाँसो पनि । मनमनै सोचें राजादेखि नेताहरूले यो देशमा युवालाई रोजगारी, गरिखाने वातावरण सिर्जना गरेको भए आमाको तिलहरी धितो राखेर मजस्ता पढेलेखेका युवा पनि विदेश पलायन हुनु पर्दैनथ्यो होला ।

हे सरकार ! हे राजनेता ! म देशमै केही गर्न चाहन्छु । मेरो श्रम–पसिना यहीं बगाउन चाहन्छु । कृपया मलाई रोक । तर मेरो सरकार रोक्ने योजना होइन, कुन देशमा कति युवा पलायन बनाउन सकिन्छ भन्ने रोजगार सम्झौता गर्न उद्यत छ ।

म बाबा–आमाको काखमा बसेर देशको सेवा गर्न चाहन्छु । श्रम–पसिनाले आफ्नै माटो मलिलो बनाउन चाहन्छु । तर खै र त्यो अवसर ! कोही त रोक मलाई । मेरो विवशतालाई बुझ कोही । हे समाज– यही देशमा कर्म गर्नेलाई उही सम्मान देऊ न, जुन चुनाव जितेर आएको नेतालाई जस्तै सम्मान विदेश गएकालाई दिने गरेका छौ ।

एअरपोर्टमा विदेश जान लागेको म र मजस्ता हजारौं श्रमिकको कथा खोइ कोही त लेखिदेऊ । सम्बन्धित निकायसम्म पुर्‍याइदेऊ । म त माडीको मान्छे हिंडे खाडीतिर, अब अरू युवाले यस्तै नियति भोग्ने दिनको अन्त्यका बारेमा कोही त सोचिदेऊ ।

होबर्ट, अस्ट्रेलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment