Comments Add Comment

भारतबाट खोप आउन अझै दुई महिना लाग्‍न सक्ने

१७ वैशाख, काठमाडौँ । आगामी जुलाई महिना अगाडी भारतले नेपालसहित छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंका लगायतलाई खोप उपलब्ध गराउने सम्भावना कम रहेको भारतीय अधिकारीहरुले बताएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या केही साता यता ह्वात्तै बढेको छ भने मे १ देखि भारतले १८ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान शुरु गर्ने तयारी गदैछ ।

सेरम इन्स्टिच्यूटले उत्पादन गरेको खोप आन्तरिक रुपमा प्रयोग गर्ने नीति भारतले लिएपछि अहिले निर्यात रोकिएको छ । भारतको यो नीतिले पहिला नै भुक्तानी गरिसकेका नेपाल लगायतका अन्य छिमेकी मुलुकहरु प्रभावित भएका छन्। तर, भारतले तत्कालै निर्यात सुचारू नगर्ने जानकारी दिएको छ ।

भारतीय अंग्रेजी पत्रिका दि हिन्दुले भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीलाई उद्धृत गदै छिमेका खोप निर्यात सुचारु गर्न अझै २ महिना लाग्ने उल्लेख गरेको छ । ती अधिकारीले भारतले अब खोपको उत्पादन बढाउने आन्तरिक मागसँगै छिमेकमा पनि निर्यात गर्ने बताएका छन् ।

भारतीय विदेश सचिव हर्षवर्द्धन श्रीङगलाले पनि तत्कालै खोप अन्य मुलुकमा निर्यात नगर्ने संकेत गरेका छन् । बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गदै भारतिय विदेश श्रीङ्गलाले भ्याक्सीन सप्लाई गर्ने सम्बन्धमा केही पनि बताएनन्।

उनले अहिले भारतको आफनै आवश्यकता धेरै भएको र आफ्ना साझेदार मुलुकहरुले यो सन्दर्भलाई बुझ्नु पर्ने बताए । उनले खोपको उत्पादनलाई निकै बढाउनुपर्ने समेत बताए ।

भारत सरकारको यो नीतिले खासै छिमेकी मुलुकहरुसँगको सम्बन्धमा असर त गर्ने होइन भनी सोधिएको प्रश्नमा उनले भने, ‘हाम्रो आफ्नो माग एकदमै धेरै छ ।त्यसैले हामीले अहिले जति उत्पादन गर्छौ, त्यो हाम्रो आन्तरिक खोप कार्यक्रमको लागि आवश्यक छ ।’

अहिले विशेषत: नेपाल र बंगलादेशले पहिला नै भुक्तानी भइसकेको खोप उपलब्ध गराउन भारत सरकारसँग ताकेता गरिरहेका छन्।

भ्याक्सिन उप्पादन गरेपछि भारतले संसारका ९० भन्दा बढी मुलुकलाई अनुदान वा व्यापारिक हिसाबले खोप उपलब्ध गराएको छ । यतिवेला भने भारत आफैले अमेरिका लगायत अन्य मुलुकबाट खोप ल्याउने तयारी गरेको छ ।

भारतले रसियाबाट समेत खोप ल्याउने तयारी अगाडी बढाएको छ भने रसियाले निर्माण गरेको खोप भारतमा नै उत्पादन गर्ने सम्बन्धमा समेत दुई मुलुकबीचमा कुराकानी भइरहेको छ ।

यता, नेपालले भने कम्तीमा भुक्तानी भइसकेको १० लाख खोप उपलब्ध गराउन आग्रह गरेको छ । नयाँ दिल्लीस्थित नेपाली दूतावासले यस सम्बन्धमा भारतीय अधिकारीहरुसँग कुराकानी गरिरहेको छ ।

तर, भारतबाट तत्काल खोप आउने सम्भावना नभएपछि सरकारले चीन, रसिया र अमेरिका लगायतका मुलुकबाट खोप किन्ने तयारी अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment