
१७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनका विषयमा जनता समाजवादी पार्टी (जसपा) सँग कुरा भइरहेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापन गरेर आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कांग्रेसको निर्णय छ । तर, जसपाले वर्तमान सरकारलाई साथ दिने कि नयाँ सरकार गठनको प्रयास गरिरहेको कांग्रेस, माओवादी केन्द्रलाई साथ दिने भन्ने औपचारिक निर्णय लिएको छैन ।
शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले जसपाले वर्तमान सरकार विस्थापनका विषयमा निर्णय नगरेको बताए । उनले नयाँ सरकार गठनका लागि आवश्यक संख्या पुग्न नसकेको पटक–पटक उल्लेख गरे ।
नयाँ सरकार गठनका सन्दर्भमा जसपालाई कुनै आग्रह छ ? भन्ने पत्रकारहरुको प्रश्नमा देउवाले भने, ‘मेरो कुरा भइरहेको छ ।’
कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओलीको विकल्प खोज्ने प्रयास जारी राखिएको पनि बताएका छन् ।
‘कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय भएकै छ । तर यहाँ संख्या पुग्नुपर्छ । संख्या नपुगी चाहेर मात्रै हुँदैन’, सभापति देउवालेे भने, ‘ओलीलाई हटाउन चाहन्छु तर सक्दिनँ मैले चाहेर मात्रै बहुमत पुग्दैन । प्रचण्ड र कांग्रेस मिल्दा पनि पुग्दैन । यो सत्य हो, माओवादीले समर्थन फिर्ता लिएको छैन । जसपाले अहिलेसम्म निर्णय गरेकै छैन ।’
एमसीसीबारे भ्रम फैलाइयो
पत्रकारहरुले सभापति देउवालाई अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा पनि प्रश्न गरे । जवाफमा सभापति देउवाले एमसीसीबारे भ्रम फैलाइएको बताए ।
‘एमसीसी बाबुराम भट्टराई, सुशील कोइरालादेखि अगाडि बढेको हो मेरो पालामा क्याबिनेट डिसिजन गरेर मन्त्रीलाई अमेरिएका पठाएको हो’ उनले भने, ‘(एमसीसी अनुदान) सित्तै दिएको हो नेपाललाई । अनेक किसिमको भ्रम फैलाएको छ । अमेरिकी सेना आउँछ ? आउन कसैले दिन्छ ? भ्रम फैलाउने कुरा यस्ता झुटा प्रचार गरिएको छ ।’
सभापति देउवालाई पत्रकारहरुले एमसीसीका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग कुनै सहमति भएको छ ? भनी प्रश्न गरे । जवाफमा सभापति देउवाले प्रचण्डसँग त्यस्तो कुनै सहमति नभएको बताए ।
‘कांग्रेस महाधिवेशन समयमै हुनपर्छ’
सभापति देउवालाई पत्रकारहरुले १४ औं महाधिवेशन र क्रियाशील सदस्यता वितरणका विषयमा समेत प्रश्न गरेका थिए ।
जवाफमा सभापति देउवाले पार्टीको महाधिवेशन तोकिएकै समयमै हुनुपर्ने बताए । ‘संविधान अनुसार महाधिवेशन हुनैपर्छ । महाधिवेशन नगरी अन्य विकल्प छैन । कसरी गर्ने छलफल भइरहेको छ’ उनले भने ।
सभापति देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशन धकेल्न खोजेको भनेर लगाएको आरोपको खण्डन गरे । तपाईंले महाधिवेशन धकेल्न खोज्नुभयो भन्ने आरोप छ नि ? भन्ने प्रश्नमा देउवाले भने, ‘आरोप लगाइरहनुहुन्छ, म पार्टी सभापति भएपछि यस्तै गर्दै आउनुभएको छ ।’
प्रतिक्रिया 4