Comments Add Comment

भारतबाट फर्किने नेपालीको गौरीफन्टा नाकामा बिचल्ली

यातायात व्यवसायीहरु मनपरी भाडा असुल्दै

१८ वैशाख, धनगढी । डोटीको बोगटान गाउँपालिका–७ का टेकबहादुर बोहरा शनिबार बिहान ६ बजे गौरीफन्टा नाकामा उत्रिए । भारतको गोवामा रोजगारी गर्दै आएका बोहरा दोस्रो लहरको कोरोना कहर तीव्र बनेसँगै रोग र भोकबाट बच्न स्वदेश फर्किएका हुन् ।

भारतमै पीसीआर परीक्षण गरेर फर्किएका बोहरा बिहान १० बजेसम्म गौरीफन्टा नाकामा गाडीको खोजी गरिरहेका थिए । नाकामा सयौं गाडीहरु खडा गरिएका भएपनि सबैले आ–आफ्नै ढंगले भाडाको बार्गेनिङ गर्न थालेपछि उनी समस्यामा परेका देखिन्थे । पहिला ५३५ रुपैयाँ भाडा तिरेर धनगढीबाट डोटी जाने गरेका उनी यसपालि भने यातायात व्यवसायीले कोरोना कहर र निषेधाज्ञाको कारण देखाउँदै अचाक्ली भाडा असुल्न थालेपछि दोधारमा परे ।

‘भारतबाट बिहान ६ बजे यहाँ आइपुगेको हुँ,’ बोहराले अनलाइनखबरसँग भने, ‘अहिले घडीमा १० बज्न लाग्यो, तर अहिलेसम्म गाडी मिलेको छैन । लैजान्छु भन्नेहरुसँग भाडाको कुरा मिलिरहेको छैन ।’

उनका अनुसार सीमा नाकामा लामबद्ध राखिएका सवारी साधनपिच्छे. नै भाडादर फरक–फरक छ । सोही अनुसार व्यवसायीले यात्रुसँग बार्गेनिङ गरिरहेका थिए । ‘डोटीको भाडा ५३५ रुपैयाँ मात्र छ,’ उनले भने, ‘अहिले एक हजारदेखि तीन हजारसम्म मागिरहेका छन् । हामी मजदुरहरुको ढाड सेक्ने काम भएको छ ।’

भारतबाट नेपाली सीमा नाकासम्म पुगाउँदा समेत नेपाली टुर एण्ड ट्राभल व्यवसायीहरुले मनपरी रुपमा भाडा असुल्ने काम गरिरहेको गुनासो समेत यात्रुहरुले गरेका छन् ।

‘भारतबाट बिहान ६ बजे यहाँ आइपुगेको हुँ,’ बोहराले अनलाइनखबरसँग भने, ‘अहिले घडीमा १० बज्न लाग्यो, तर अहिलेसम्म गाडी मिलेको छैन । लैजान्छु भन्नेहरुसँग भाडाको कुरा मिलिरहेको छैन ।’

व्यवसायीहरुबीच यात्रु तानातान गर्ने होडबाजी

डडेल्धुराको जोगबुढाका सुरेन्द्र बोहरा पनि भारतको दिल्लीबाट शनिबार बिहान करिब साढे ६ बजेतिर गौरीफन्टा नाका पुगेका थिए ।  जोगबुढाकै २३ जनाको समूहमा फर्किएका बोहराले सबैजना मिलेर एउटै बसमा जान बुक गर्न खोजेका थिए । १० बजेसम्म उनले बुकिङमा जान तयार २ वटा गाडी भेटाएपनि गन्तव्यका लागि कुनै पनि गाडी हिंड्न सकेका थिएनन् । कारण थियो, यातायात व्यवसायीहरुको यात्रु तानातानको प्रवृत्ति र सिण्डीकेट ।

‘भारतबाट हामी २३ जना आएका थियौं,’ बोहराले भने, ‘सँगै जाने भनेर गाडी बुक गर्न खोजेका थियौं । तर यहाँ बस व्यवसायीहरुबीचको झगडा के हो ? बुझ्नै सकिएन । एकअर्काको गाडी जान नदिने, यात्रु तान्ने होडबाजीले बिहान ४ घण्टादेखि जानै नपाइरहेको स्थिति छ ।’

उनका अनुसार भाडाको कुराकानी मिलिसकेका दुईवटा गाडी व्यवसायीहरुकै लफडाका कारण रोकिएपछि उनीहरु नाकामै अलपत्र परेका थिए ।

यातायात व्यवसायी भन्छन्, यात्रुलाई दुःख दिनेलाई कारवाही गर्छौं

यातायात व्यवसायीहरुले भने कोरोना कहरकाबीच जोखिम मोलेर काम गरिरहेपनि यात्रुहरुलाई अनावश्यक दुःख दिने नियत कसैको नभएको दाबी गरेका छन् । नेपाल यातायात व्यवसायी महासंघका सह–कोषाध्यक्ष डम्बर पन्तले कैलालीसँग जोडिएको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिने यात्रुहरुलाई व्यक्तिगत तवरले गन्तव्यसम्म पुर्‍याइरहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा यात्रुलाई गन्तव्य पुगाउने काम भइरहेकाले बढी भाडा असुल्नेलाई कारवाहीको दायरामा ल्याइने बताए ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले स्थानीय प्रशासनले उपलब्ध गराएको पासका आधारमा भारतबाट फर्किने यात्रु बोक्न सवारी साधन सञ्चालन गरिएको बताए । उनले सीमा नाकामा यात्रु तानातान गर्ने, तोकिएको भन्दा बढी भाडा असुल्ने जस्ता गुनासाहरु सुनिन थालेकाले त्यसो गर्ने व्यवसायी र मजदुरहरुमाथि कारवाही गरिने जनाए । उनले कसैले निर्धारितभन्दा बढी भाडा लिएमा सीमामै खटिएका सुरक्षाकर्मीलाई तत्कालै खबर गर्न समेत अनुरोध गरेका छन् ।

भारतबाट फर्किनेको भाडा कति तोकिएको छ ?

कोरोना कहरका बेला भारतबाट फर्किने यात्रुको भाडा निर्धारित भाडादरमा ५० प्रतिशत थप भएको यातायात व्यवसायी महासंघले जनाएको छ । ‘कैलाली र कञ्चनपुरमा निषेधाज्ञा भएका कारण अहिले सञ्चालनमा रहेका सवारी साधनले एकतर्फी मात्र यात्रु पाइरहेको अवस्था छ,’ महासंघका सह–कोषाध्यक्ष पन्तले भने, ‘स्थानीय प्रशासनले नै कुल भाडादरको थप ५० प्रतिशतसम्म लिन पाउने व्यवस्था मिलाएको छ  । सोहीअनुसार भाडा लिइरहेको अवस्था छ ।’

अर्थात् यातायात व्यवसायीहरुले पाँच सय रुपैयाँ भाडा भएको ठाउँसम्म जाने यात्रुबाट त्यसको ठीक आधा दुई सय ५० रुपैयाँ थप भाडा मात्र लिन पाउनेछन् ।

नाकामा फर्किएका सुरक्षाकर्मी मुकदर्शक

गौरीफन्टा नाकामा कैलाली र कञ्चनपुर दुवै जिल्लाबाट सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरु २४ सै घण्टा सीमा नाकामा खटिएका भएपनि आँखै अगाडि यात्रुले खेप्नुपरेको सास्तीबारे भने मुकदर्शक बनेको आरोप लागेको छ । ‘उनीहरु न यात्रुहरुलाई सहजीकरण गरिदिन्छन् न त उनीहरुले भोग्नु परेको पीडा सुन्छन्,’ एक यात्रुले गुनासो गर्दै भने, ‘नेपालको प्रहरी प्रशासन नै निकम्मा भएपछि हामी मजदुरले दुःख नपाउने कुरै भएन ।’

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सुरक्षाकर्मीसँगै यात्रुहरुको सहजीकरणका लागि नाकामै प्रशासन कार्यालयबाट समेत प्रतिनिधि खटाइएको जानकारी दिए । उनले यातायात व्यवसायीहरुसँगकै सहमतिमा भाडादर कायम गरिएकाले तोकिएकोभन्दा बढी असुल्नेलाई कारवाहीको दायरामा ल्याइने बताए । महामारीको बेलासमेत कसैले त्यस्तो खालका गतिविधि गरिरहेको भए तत्कालै स्थानीय प्रशासनलाई जानकारी गराउनसमेत प्रजिअ रिजालले आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment