
१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिको सदुपयोग गर्दै सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउने अवसर आएको बताएका छन् ।
राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आइतबार आयोजना गरेको कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो धारणा राखेका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘सूचना प्रविधिको उच्चतम उपयोग र सदुपयोग गरी सरकारी सेवालाई पेपरलेस र फेसलेस बनाउँदै आम नागरिकलाई कम समय र कम खर्चमा विनाझन्झट, विना हैरानी, सहज, सरल र सुलभ रुपमा सेवा प्रदान गर्ने तथा जो जहाँ रहे पनि फेस टु फेस सम्पर्क, सरसल्लाह, छलफल, परामर्श जस्ता कुराहरु गर्ने अवसर आज हामीलाई प्राप्त भएको छ ।’
रुपान्तरणकारी आयोजनाको रुपमा सरकारले डिजिटल नेपाल फ्रेमवर्क २०७६ कार्यान्वयनमा ल्याएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यसअन्तर्गत शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, पर्यटन, शहरी पूर्वाधार, वित्त, डिजिटल फाउन्डेसन लगायत आठवटा क्षेत्र र ८० वटा डिजिटल पहलहरु समेटिएको बताए ।
प्रधानमन्त्री ओलीले पूर्वपश्चिम, उत्तरदक्षिण एवम् जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गको निर्माण एवम् विस्तार द्रुतरुपमा अगाडि बढाइएको जानकारी दिए ।
सबै स्थानीय तह, वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रसम्म सूचना प्रविधि पूर्वाधारको पहुँच सुनिश्चित गर्ने, उपरोक्त स्थानहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने र प्रत्येक स्थानीय तहमा सूचना प्रविधि केन्द्र स्थापना र सन्चालन गर्ने गरी काम पनि अगाडि बढाइएको उनले बताए ।
प्रतिक्रिया 4