Comments Add Comment
निषेधाज्ञाको असर :

दुःखले फलाएको तरकारी बारीमै कुहिने डर

भरतपुर २५ चितवनमा लेखनाथ भुषालको ‘युवा आधुनिक सामूहिक खेती फर्म’

२० वैशाख, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका ६ बज्रबाराहीका किसान पूर्णसिंह मोक्तानको बारीमा मटरकोसा, काउली र बन्दा लटरम्म फलेको छ । केही अघिदेखिको निरन्तरको वर्षाले तरकारीको उत्पादन निकै राम्रो छ ।

तरकारी जति राम्रो फलाए पनि सामान्य अवस्थामा समेत किसानले मिहिनेत अनुसारको मूल्य कहिल्यै पाएनन् । यतिबेला त झन् कोरोनाको दोस्रो लहरले बजार व्यवसाय ठप्प छ । साँझ–बिहान खुल्ने बजारका पसलमा तरकारी खरीद–बिक्री भने कम भएको छैन ।

तर बजारमा पठाउन ठिक्क पारेको तरकारी व्यापारीले आइतबारदेखि खरीद नगर्ने बताएपछि भने पूर्णसिंहलाई चिन्ता थपिएको छ, ‘अब बारीमा फलेको तरकारी के गर्ने ?’

निषेधाज्ञाका कारण काठमाडौंका प्रमुख बजारमा तरकारीको माग एक्कासी ओरालो लागेको भन्दै व्यवसायीहरूले तरकारी नउठाउने बताएको फालुङबाट पूर्णसिंह मोक्तानले अनलाइनखबरलाई टेलिफोनमा बताए ।

‘निषेधाज्ञा शुरु भएपछि थोरै भए पनि बजारमा हिजोसम्म तरकारी गइरहेको थियो तर आज व्यापारीले पालुङको बज्रबाराही क्षेत्रबाट एक किलो पनि तरकारी उठाएनन्’, उनले भने ।

व्यापारी आउलान् भनेर खेतबारीमा तरकारी टिप्न बसेका किसान रित्तै भएको उनले सुनाए । ‘पालुङबाट तरकारी काठमाडौंसहितका कुनै पनि बजारमा गएको छैन, केही दिन अझै तरकारी उठेन भने हामीले काटेर गाईभैंसीलाई हाल्नुपर्छ नभए त्यहीं पुरेर अर्को खेती लाउनुपर्छ’, पूर्णसिंहले भने ।

बजारको खपत ह्वात्तै घटेपछि पालुङबाट पहिलोपटक कुनै पनि ठाउँका लागि तरकारी नगएको त्यहाँका स्थानीय व्यवसायी राजेन्द्र बिडारीले बताए । ‘दैनिक पालुङबाट ९०० टन तरकारी काठमाडौं जान्थ्यो आज शून्यमा झ¥यो । अब किसानको पसिना खेर जान्छ’, बिडारीले भने ।

भरतपुर २५ चितवनमा लेखनाथ भुषालको ‘युवा आधुनिक सामूहिक खेती फर्म’को व्यथा पनि पालुङको जस्तै छ । खेतमा फलेको काँक्रो, लौका, फर्सी र करेलाको भाउ एकै दिन किलोमा ३० रुपैयाँले घटाएर व्यापारीले मागेको भुषालले बताए । ‘पोखरा, बुटवल, नारायणगढसम्म तरकारी पठाइन्थ्यो तर मुख्य बजार काठमाडौं नै हो । काठमाडौंमा खपत नभएको कारण देखाएर सस्तोमा तरकारी मागिरहेका छन्’, उनले टेलिफोनमा भने ।

स्थानीय व्यवसायी राजेन्द्र बिडारी भन्छन्– दैनिक पालुङबाट ९०० टन तरकारी काठमाडौं जान्थ्यो आज शून्यमा झर्‍यो । अब किसानको पसिना खेर जान्छ ।

शनिबारसम्म ४० रुपैयाँ किलो होलसेलमा बिक्री भएको करेला, काँक्रो, लौका र फर्सी आइतबार प्रतिकिलो १० रुपैयाँमा मागिएको उनको दुखेसो छ । गोलभेंडाको भाउ किलोमा १० रुपैयाँ भन्दा कम गरिएपछि बारीबाट गोलभेंडै नटिप्ने निर्णयमा फर्म पुगेको उनले सुनाए ।

‘गोलभेंडा टिपेर बिक्री गर्ने मूल्यले खेतालाको ज्याला नै नउठ्ने भएपछि हामीले बारीमै झरेर जाओस् भनेका छौं’ उनले थपे, ‘सस्तोमा तरकारी बिक्री गर्नुभन्दा नटिप्ने भनेर आज त कुनै पनि तरकारी बारीबाट टिपेका छैनौं ।’

चितवनमै रहेको ढुंगाना एग्रिकल्चर प्रडक्ट प्रालिका सञ्चालक सामर्थ ढुंगानाले शनिबार बेलुकादेखि कालीमाटी बजारमा तरकारीको बिक्रीमा ठूलो ह्रास आएको बताए । निषेधाज्ञा लम्बिंदै गएपछि मानिसहरू हरियो तरकारी किन्न आउन छाडेको उनले बताए ।

‘मैले आफैंले फलाएको गोलभेंडाको भाउ १० रुपैयाँ भन्दा तल झरिसक्यो, तपाईं कालीमाटी आउनुस् कुनै पनि तरकारीलाई अहिले २० रुपैयाँ भन्दा बढी प्रतिकिलो तिर्नुपर्दैन’, उनले टेलिफोनमा भने । भएकै तरकारी नबिकेका कारण व्यापारीले किसानबाट नयाँ तरकारी खरीद गर्नै नसक्ने अवस्था सृजना भएको उनले बताए ।

एक्कासी प्रभावित भयो कालीमाटीको बिक्री

निषेधाज्ञा शुरु भएपछि तीन दिनसम्म निकै राम्रो रहेको कालीमाटी तरकारी बजारको बिक्री आइतबार बिहानदेखि एक्कासी प्रभावित भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास संस्थाले जनाएको छ । कोभिड संकट गहिरिंदै गएपछि बजारको बिक्री घट्नु र उत्पादनमा उच्च वृद्धि हुनु मुख्य समस्या भएको संस्थाका अध्यक्ष गीता आचार्यले बताए ।

‘बजारमा भारतीय तरकारी पनि आइरहेको छ, स्वदेशी तरकारीको उत्पादन पनि बढ्यो, यही बेला कोभिडले खपतमा ह्रास आयो’, अध्यक्ष आचार्यले भने । केही दिनदेखि बजारमा ९०० टनसम्म तरकारी भित्रिएको तर खपत भने ६०० टनले घटेको उनले बताए । बजारमा तरकारीको मूल्य निकै घटेको भन्दै उनले यसको असर अझै बढ्दै जाने बताए ।

कालीमाटीमा तरकारीको मौज्दात अत्यधिक भएको बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । कोरोनाले उत्पादनको बिक्री कम हुँदा स–साना बजारका तरकारी पनि कालीमाटीमै थुप्रिएको र कालीमाटीको स्वाभाविक खपत पनि एक्कासी प्रभावित भएको सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।

मूल्यमा भारी गिरावट

कालीमाटी तरकारी बजारमा तरकारीको मूल्यमा एक्कासी भारी गिरावट आएको किसानहरूले बताएका छन् । कालीमाटीमा दुई दिनअघि ८० रुपैयाँ किलोमा बिक्री भएको बोडीको भाउ २० रुपैयाँ किलोमा झरेको किसान तथा बिक्रेता सामर्थ ढुंगानाले बताए ।

यस्तै, ७० रुपैयाँ किलोको करेला २० मा, ८० रुपैयाँ किलोको भिण्डी २० मा, ६० रुपैयाँ किलोका घिरौंला ३० मा र ४० को काँक्रो १५/२० रुपैयाँ किलोमा झरेको उनले बताए । ७० रुपैयाँ किलो रहेको साग २० रुपैयाँमा झरेको छ । होलसेलमा सबै खाले तरकारीको भाउ २० रुपैयाँ हाराहारीमा झरेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment